चिनियाँ विदेशमन्त्री आज नेपाल आउँदै

Posted on: 08 Sep, 2019

भदौ २२, काठमाडौँ | चिनियाँ विदेशमन्त्री वाङ् यी आज नेपाल आउँदै छन् | दिउँसो साढे ४ बजे चार्टड विमानबाट काठमाण्डौं अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गर्न लागेका विदेशमन्त्री वाङ् मंगलबार दिउँसोसम्म नेपालमा रहने कार्यतालिका रहेको छ |

आइतबार नेपाल अवतरण गरेता पनि वाङको राजनीतिक भेटवार्ता सोमबारदेखिमात्रै सुरु हुने परराष्ट्रमन्त्रालय स्रोतले जनाएको छ | नेपालमा रहँदा विदेशमन्त्री वाङ्ले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, नेकपाका अध्यक्ष पुष्पमकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा लगायतसँग भेटघाट गर्नेछन् |

सोमबार नै नेपाल-चीन वार्ता हुने र सो वार्तामा केही महत्वपूर्ण सम्झौता र समझदारीपत्रमा हस्ताक्षरसमेत हुन सक्नेछ | परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले चिनियाँ विदेशमन्त्री वाङ्को नेपाल बसाईंका क्रममा नेपाल र बीचको आर्थिक एवम् विकास साझेदारीलाई कसरी अघि बढाउन सकिन्छ भन्ने विषयमा छलफल हुने जानकरी दिए |

वाङ नेपालमा रहेका बेला चिनियाँ राष्ट्रपति सि जिङपिनको नेपाल भ्रमणका बारेमा पनि कुराकानी हुने परराष्ट्रमन्त्री ज्ञवालीले बताए |

यस बिषयमा तपाइको प्रतिक्रिया...!