यस्तो छ सभामुख पदबाट हट्ने संवैधानिक व्यवस्था

Posted on: 01 Oct, 2019

असोज १४, काठमाडौँ | प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरामाथि बलात्कारको आरोप लागेसंगै नेपाली राजनीतिमा नयाँ तरंग छाएको छ । आजै सभामुखले राजिनामा दिन सक्ने सम्भावना हुँदै गर्दा संविधानमा सभामुखको पद जाने के कस्ता व्यवस्था छन् ? जान्नु आवश्यक छ ।

नेपालको संविधानको धारा ९१ मा प्रतिनिधि सभाको सभामुख र उपसभामुख सम्बन्धि व्यवस्था रहेको छ । सो धाराको उपधारा ६ मा सभामुख र उपसभामुखको पद रिक्त हुने प्रावधान उल्लेख छ । जस अनुसार प्रतिनिधि सभा विघटन भएको अवस्थामा, लिखित राजीनामा दिएको अवस्थामा र प्रतिनिधि सभाको सभामुखले पद अनुकूलको आचरण नगरेको अवस्थामा सभामुखको पद जान्छ । जसमा अगाडी उल्लेख छ कि सभामुखले पद अनुकूलको आचरण नगरेको अवस्थामा प्रस्ताव उपर छलफल हुनेछ र उक्त बैठकको अध्यक्षता प्रतिनिधि सभाको उपसभामुखले गर्नेछ र निजले पद अनुकूल आचरण नगरेको भन्ने प्रस्ताव प्रतिनिधि सभाको तत्काल कायम रहेको सम्पूर्ण सदस्य संख्याको दुई तिहाइले बहुमतले पारित गरेमा पद गुम्ने व्यवस्था रहेको छ ।

यस्तो छ संवैधानिक व्यवस्था जस्ताको तस्तै: 

९१) प्रतिनिधि सभाको सभामुख र उपसभामुख : (१) प्रतिनिधि सभाको पहिलो बैठक प्रारम्भ भएको मितिले पन्ध्र दिनभित्र प्रतिनिधि सभाका सदस्यहरूले आफूमध्येबाट प्रतिनिधि सभाको सभामुख र उपसभामुखको निर्वाचन गर्नेछन् ।

(२) उपधारा (१) बमोजिम निर्वाचन गर्दा प्रतिनिधि सभाको सभामुख र उपसभामुख मध्ये एक जना महिला हुने गरी गर्नु पर्नेछ र प्रतिनिधि सभाको सभामुख र उपसभामुख फरक फरक दलको प्रतिनिधि हुनु पर्नेछ ।

तर प्रतिनिधि सभामा एकभन्दा बढी दलको प्रतिनिधित्व नभएको वा प्रतिनिधित्व भएर पनि उम्मेदवारी नदिएको अवस्थामा एकै दलको सदस्य प्रतिनिधि सभाको सभामुख र उपसभामुख हुन बाधा पर्ने छैन ।

(३) प्रतिनिधि सभाको सभामुख वा उपसभामुखको पद रिक्त भएमा प्रतिनिधि सभाका सदस्यहरूले आफूमध्येबाट प्रतिनिधि सभाको सभामुख र उपसभामुखको निर्वाचन गरी रिक्त स्थानको पूर्ति गर्ने छन् ।

(४) प्रतिनिधि सभाको सभामुखको अनुपस्थितिमा उपसभामुखले प्रतिनिधि सभाको अध्यक्षता गर्नेछ ।

(५) प्रतिनिधि सभाको सभामुख र उपसभामुखको निर्वाचन नभएको वा दुवै पद रिक्त भएको अवस्थामा प्रतिनिधि सभाको बैठकको अध्यक्षता उपस्थित सदस्य मध्ये उमेरको हिसाबले ज्येष्ठ सदस्यले गर्नेछ ।

(६) देहायको कुनै अवस्थामा प्रतिनिधि सभाको सभामुख वा उपसभामुखको पद रिक्त हुनेछ ः– (क) निज प्रतिनिधि सभाको सदस्य नरहेमा, तर प्रतिनिधि सभा विघटन भएको अवस्थामा आफ्नो पदमा बहाल रहेका प्रतिनिधि सभाका सभामुख र उपसभामुख प्रतिनिधि सभाका लागि हुने अर्को निर्वाचनको उम्मेदवारी दाखिल गर्ने अघिल्लो दिनसम्म आफ्नो पदमा बहाल रहनेछन्। (ख) निजले लिखित राजीनामा दिएमा,

(ग) निजले पद अनुकूल आचरण नगरेको भन्ने प्रस्ताव प्रतिनिधि सभाको तत्काल कायम रहेको सम्पूर्ण सदस्य संख्याको दुई तिहाइ बहुमतबाट पारित भएमा । 

(७) प्रतिनिधि सभाको सभामुखले पद अनुकूलको आचरण नगरेको भन्ने प्रस्ताव उपर छलफल हुने बैठकको अध्यक्षता प्रतिनिधि सभाको उपसभामुखले गर्नेछ । त्यस्तो प्रस्तावको छलफलमा प्रतिनिधि सभाको सभामुखले भाग लिन र मत दिन पाउनेछ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!