कार्तिक २२ काठमाडौं । भारतले हालै जारी गरेको नयाँ नक्सामा नेपालको भूभाग कालापानी, लिपुलेक र लिम्पियाधुरालाई आफ्नो भूभागका रुपमा देखाएको प्रति गैरआवासीय नेपाली संघ (एनआरएनए) को गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । संघले एक विज्ञप्ति जारि गर्दै भनेको छ 'भारत सरकारको यो कार्यबाट विश्वभर छरिएर रहेका नेपालीहरु क्षुब्द भएका छन् ।'
'दुई देशबीच सुल्झाउन बाँकी रहेका सीमा सम्बन्धी विषयहरु, कूटनीतिक माध्यमबाट वार्ताद्वारा दुवै पक्षाको सहमतिमा ऐतिहासिक दस्तावेज एवं प्रमाणका आधारमा टुङ्ग्याउनुको सट्टा एकपक्षीय ढंगबाट चालिएको कदमको भत्सर्ना गर्दछौँ', विज्ञप्तिमा भनिएको छ।
मुलुकको सार्वभौमिकता र भौगोलिक अखण्डता जस्तो संवेदनशील विषयसँग सम्बन्धित यो मुद्दामा नेपाल सरकार, आम नेपाली नागरिक एवं विदेशस्थित गैरआवासीय नेपाली समुदाय एकसाथ उभिनु पर्ने संघले जनाएको छ । साथै अन्तर्राष्ट्रिय सिमाना रक्षाको लागि नेपाल सरकारको साथमा उभिनका लागि सम्पूर्ण विदेशमा रहेका नेपालीहरु प्रतिबद्ध रहेको संघले जनाएको छ ।
यस बिषयमा तपाइको प्रतिक्रिया...!