कारबाहीको माग गर्दै प्रधानमन्त्री ओली सहित ४ जनाविरुद्ध अख्तियारमा अर्को उजुरी

Posted on: 23 Feb, 2020

फागुन ११, काठमाडौँ | सेक्युरिटी प्रेस खरिदमा निवर्तमान सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल प्रसाद बाँस्कोटाले स्विस कम्पनीका एजेन्टसँग ७० करोड कमिसनको लागि बार्गेनिङ गरेको अडियो सार्वजनिक भएपछि बाँस्कोटा र प्रधानमन्त्री ओली सहित जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ |

बाँके नेपालगञ्जका प्रेमबहादुर शाही र मकवानपुर हेटौँडाका आनन्दराम पौडेलले अख्तियारमा उजुरी दर्ता गरेका हुन् | उजुरीमा सेक्युरिटी प्रेस खरिद प्रक्रियामा स्वीस कम्पनीसँग निवर्तमान मन्त्री बाँस्कोटाले ७० करोड ‘कमिसन’ मागेको अडियो प्रधानमन्त्रीले डेढ महिनाअघि नै पाएपनि संलग्नहरुलाई कारवाहीका लागि कदम नचालेकाले प्रधानमन्त्री ओलीसहित चारैजनालाई कारवाहीका माग गरिएको छ |

प्रधानमन्त्री ओली निवार्तमान मन्त्री बाँस्कोटा सूचना तथा संचार मन्त्रालयका सचिव महेन्द्रमान गुरुङ र नेपाल सेक्युरिटी प्रेसका सिइओ विकल पौडेलविरुद्ध शाही र पौडेलले उजुरी दिएका छन् | आइतबार अख्तियारमा दर्ता गराएको उक्त उजुरीमा भनिएको छ,‘प्रधानमन्त्रीले भ्रष्टाचारको प्रमाण पाएपछि पनि भ्रष्टाचार सम्बन्धी अनुसन्धान गर्ने र मुद्दा चलाउने संवैधानिक निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई जानकारी दिनुपर्नेमा सो प्रमाण लुकाएकाले प्रधानमन्त्री समेत भ्रष्टाचार उद्योग कार्यमा संलग्न र मतियार रहेको स्वतः पुष्टि हुन्छ |'

यस अघि आइतबार नै विजयबाबु शिवाकोटी र प्रितम सुवेदीले बाँस्कोटालाई कारवाहीको माग गर्दै उजुरी दर्ता गराइसकेका छन् |

यस बिषयमा तपाइको प्रतिक्रिया...!