महिला संघको अधिवेशन कोठे भएको भन्दै महिलाहरु उत्रिए

Posted on: 12 Sep, 2016

भदौ २७, पर्बत । पर्वतमा सर्वसहमत चयन भईसकेको भनिएको नेपाली कांग्रेसको भातृसंगठन नेपाल महिला संघका विरुद्ध नेपाली कांग्रेसकै महिलाहरु नै उत्रिएका छन् । 

विरोधमा उत्रिएका महिलाहरुको अधिवेशन कोठे भएको र निर्वाचन अधिकृतले अधिवेशनमा आफ्नो मनोमानी ताण्डव चरित्र प्रकट गरको आरोप लगाएका छन् । 

केन्द्रिय महाधिवेशन प्रतिनिधिमा चयन भईसकेका सदस्यहरु लालकुमारी सिके सहित २३ जना महिलाहरुले विज्ञप्ति मार्फत् विरोधमा उत्रिएका छन् । यसअघि जोगमया प्रसाईको अध्यक्षतामा १७ सदस्यीय जिल्ला कार्य समिति चयन गरिएको सार्वजनिक भएको थियो । महिला संघ पर्वतको जिल्ला कार्यसमितिको तेस्रो अधिवेशन सम्पन्न गर्नका लागि केन्द्रिय निर्वाचन समितिबाट निर्वाचन अधिकृत भई आएका विश्वप्रसाद प्रसाई समेत विवादको घेरामा परेका छन् । 

उनी नेपाली कांग्रेस जिल्ला कार्यसमिति पर्वतका सचिव समेत हुन् । महिला संघको अध्यक्षमा सर्वसहमत चयन भएको भनिएकी जोगमया प्रसाई निर्वाचन अधिकृत रहेका प्रसाईको आमा हुन् । कसैसँग सरसल्लाह नै नगरी निर्वाचन अधिकृत प्रसाईले महिला संघको नेतृत्व चयन गरी पार्टी संगठन खल्बल्याउन खोजेको आरोप समेत लगाएका छन् । 

महिला संघको जिल्ला अधिवेशन सम्पन्न भएको हप्तौ वितिसक्दा पनि विवादकै कारण नयाँ कार्यसमिति गठन हुन सकेको थिएन । केही दिन गुजारेपछि मात्र सम्पन्न भएको भनिएको जिल्ला समिति गठन प्रक्रिया समेत विवाद मुक्त हुन सकेन । 

महाधिवेशन प्रतिनिधि चयनको विषय समेत जटिल बनेको थियो । केन्द्रिय महाधिवेशन प्रतिनिधिमा गत भाद्र १५ गते महिला संघको क्षेत्रीय अधिवेशन सम्पन्न नहुदै जिल्ला अधिवेशन सम्पन्न हुन लागेको भन्ने केही महिला सदस्यहरुले आरोप लगाएको थिए । 

नेपाली कांग्रेसको गाउँ कमिटी सदस्य चयन प्रकृयामै अलोकतान्त्रिक पारा अपनाएको भन्ने कार्यकर्ता माझ चर्चा छ । कतिपय कार्यकर्ताले एकलौटी पाराले आफू खुशी जिल्ला नेतृत्वले जिल्ला कार्यसमिति गठन गर्न खोजिएको र सदस्यका आकांक्षीहरुलाई वेवास्ता गरिएको गुनासो गरेका थिए भने भित्रभित्रै जिल्ला समिति पदाधिकारीहरु र केन्द्रिय महाधिवेशन प्रतिनिधिहरुको नाम तय भईसकेको तर विवाद चुलिएपछि बाहिर ल्याउन जिल्लाको नेका नेतृत्वले नसकेको भन्ने समेत गाइगुइँ सुनिएको थियो । 

यही विवादकै वीच जिल्ला कार्यसमिति चयन र महाधिवेशनका केन्द्रिय प्रतिनिधि चयन गरी सर्वसम्मत भएको भनिए पनि महिला संघलाई विवादले छाड्न सकेको छैन । जिल्ला महिला संघको नेतृत्वमा आउन खोज्ने आकांक्षी अनुहारहरुमा जोगमया प्रसाई, ललितकला गुरुङ, लालकुमारी सिके, रेखा गुरुङ, चित्रकला शर्मा थिए तर अध्यक्षमा भने प्रसाई चयन भएकी थिइन् । 


महिला संघको अधिवेशन सम्पन्न नहुदै जिल्ला अधिवेशन गर्ने र निर्वाचन अधिकृतले निर्वाचन सम्वन्धि कुनै सुचना टाँस समेत नगरेको भन्ने समेत आरोप महिला सदस्यहरुले लगाएका थिए । त्यतिखेर विरोध गर्ने महिलाहरुले केन्द्रिय अधिवेशन प्रतिनिधि र सल्लाहकार पद पाएपछि चुप बनेका थिए । यसअघि क्षेत्रीय प्रतिनिधि सीतादेवी पौडेल र महासमिति सदस्य क्षेत्र नं. १ मिना केसीले कार्यसमिति गठनबारेमा भएको अप्रजातान्त्रिक गतिविधिको कडा विरोध जनाएका थिए । 

महिला संघको यही भाद्र २८,२९ र ३० गते काठमाडौमा हुने केन्द्रिय महाधिवेशनमा जिल्लाबाट क्षेत्र नं.१ र २ गरी १८ जना केन्द्रिय प्रतिनिधि चयन हुनेछन् । क्षेत्र नं.२ बाट केन्द्रिय प्रतिनिधिहरु चयन गर्ने कार्य सर्वसम्मत रुपमा सम्पन्न भईसकेको छ । यता क्षेत्र नं.१ बाट महाधिवेशन प्रतिनिधिका लागि १४ जना महिला सदस्यहरु आकांक्षी रहेको पाइएको छ ।



यस बिषयमा तपाइको प्रतिक्रिया...!