रेडियोकर्मीद्वारा आगलागी पीडितलाई सहयोग रकम हस्तान्तरण

Posted on: 01 Feb, 2017

माघ १९, सोलुखुम्बु । दूधकुण्ड नगरपालिका–६ सोलुखुम्बुका आगलागी पीडितलाई गल्देन शेर्पालाई सोलु एफएमले सङ्कलन गरेको रु एक लाख ३१० सहयोग रकम हस्तान्तरण गरिएको छ । 

सोलु एफएफमा कार्यरत रेडियोकर्मीको सक्रियतामा नगरपालिका–६ दोर्पुबजारदेखि फाप्लुसम्म गरिएको राहत सङ्कलन रु ९१ हजार ३१० र एफएम सञ्चालक संस्था योङ स्टार क्लबको तर्फबाट सङ्कलित रु नौ हजारको चेक गरी रु एक लाख ३१० सहयोग रकम पीडितलाई प्रदान गरिएको हो । 

सोलु एफएमका पूर्व कार्यक्रम प्रस्तोता तथा योङ स्टार क्लबका सदस्य पशी शेर्पा गल्देन शेर्पाका छोरी हुनुहुन्छ । शेर्पाको गत माघ ९ गते मध्याह्न विद्युत् सर्ट भई आगलागी हुँदा तीनतले घर जलेर नष्टभएको र त्यसमा नगद रु ५० हजारसहित तीस लाख बराबरको क्षति भएको थियो । राहत प्राप्त गरेपछि खुसी व्यक्त गर्दै शेर्पाले प्राप्त रकमले टहरा निमार्ण गरी आफ्नो बसाई व्यवस्थापन गर्ने बताउनुभयो । 

यसैगरी योङ स्टार क्लबका सदस्य भूकम्प प्रभावित दोर्पुका खड्गराज भण्डारीलाई रु ५० हजार आर्थिक सहयोग गरिएको छ । रकम अभावका कारण घर बनाउन नसकेका राजभण्डारी पालमै बस्दै आउनुभएकाले क्लबले रु ५० हजार सहयोग गरेको अध्यक्ष वुद्धिनारायण श्रेष्ठले बताउनुभयो । चेक बुझ्दा भक्कानिनुभएका राजभण्डारीले अब घर निर्माण गरी बस्ने बताउनुभयो । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!