पाल्पामा टुकीको भरमा नगरको वडाभित्रका बासिन्दा

Posted on: 26 Jan, 2018

कृष्ण दर्नाल / माघ १२, पाल्पा | लघु जलविद्युत् आयोजना बन्द भएसँगै रामपुर नगरपालिका–१, स्याउलीबजारका स्थानीयवासी टुकीको भरमा रात बिताउन बाध्य छन् । 

बन्द लघुजलविद्युत् आयोजना चार वर्षसम्म सञ्चालनमा आउन नसकेपछि स्थानीयवासी अँध्यारोमा बस्नुपर्ने बाध्यतामा छन् । टुकीको उज्यालोमा रातमा काम गर्नुपर्ने र ससाना बालबालिकालाई पढ्न समस्या भएको छ । 

स्याउलीबजारका स्थानीयवासी सुनिल श्रेष्ठले बन्द आयोजना बिग्रेको चार वर्षसम्म कहीँकतैबाट मर्मतका लागि पहल हुन नसक्दा टुकीको भरमा रात बिताउनु पर्ने बाध्यता नहटेको बताउनुभयो । 

स्थानीय खोलाबाट निकालेको विद्युुत्ले रातमा उज्यालो बनेको थियो । अहिले आयोजना मर्मत हुन नसक्दा फेरि ७५ घरपरिवार अँध्यारोमा रात बिताउनुपर्ने अवस्था टरेको छैन । लघु जलविद्युत् आयोजना सञ्चालनमा आउन नसक्दा रेडियो, टेलिभिजन, मोबाइल, लाइटलगायतका सामान प्रयोगमा ल्याउन समस्या भएको छ । 

स्थानीयवासी दानस मल्लले साखदीखोला गडहर पेल्ट्रीक सेटको पानी पनि सानो भएकोले आयोजना सञ्चालनमा समस्या भएको बताउनुभयो । विद्युत् क्षमता १.५ किलोवाट मात्र रहेको तर मानिसले बत्तीसँगै मोबाइल र रेडियो, टेलिभिजनको समेत प्रयोग गर्दा विद्युत्ले धान्न नसकेर मेसिन बिग्रेको हो । 

स्थानीयवासीले मर्मतका लागि पैसा उठाउन नमान्दा र स्थानीय तहबाट सहयोग प्राप्त हुन नसक्दा मर्मत कार्य अधुरो रहँदा अँध्यारोमा बस्न बाध्य भएका छन् । मल्लका अनुसार रामपुर नगरपालिकाको विद्युत्को पहँुचदेखि बाहिर रहेको वडाका रुपमा रामपुर–१ लाई लिने गर्दछन् । 

रामपुर नगरपालिका–१ मा करिब ७५२ घरधुरी रहेका छन् जसमध्ये ७५ घरपरिवारका लागि सञ्चालित आयोजना अहिले बन्द भएको छ । सिंगो वडामा ४० घरपरिवारको घरमा मात्र विद्युत् सुविधा रहेको स्थानीय बासिन्दा विष्णु थापाले बताउनुभयो । 

रातिको समयमा मोबाइल, रेडियो, लाइटलगायतका विद्युतीय सामानको प्रयोग गर्न पाएपनि दिनभरि विद्युत हुदैन । साखदीखोला लघु जलविद्युत् उपभोक्ता समितिले प्रतिवत्तिको मासिक रु ३० लिने व्यवस्था छ । 

वडाध्यक्ष मित्रलाल कँडेलले यस आवमा विद्युत्का लागि वडाभरि नै सर्वे गर्ने काम सम्पन्न गरिसकेको बताउनुभयो । रासस


यस बिषयमा तपाइको प्रतिक्रिया...!