प्रेमलाई बचाउन १ लाख ७० हजार

Posted on: 30 Mar, 2018

चैत १६, इलाम | साउदी जेलमा विगत दुई वर्षदेखि जेल जीवन बिताइरहेका प्रेमबहादुर राईको सहयोगका लागि मलेशियामा कार्यरत नेपालीले नगद सहयोग गरेका छन् । राईको उद्धारका लागि रु एक लाख ७० हजार ५७८ सहयोग गरेका हुन् । 

मलेशिया केहेलमा कार्यरत ३०० जना सहयोगीमार्फत माई नगरपालिका–६ का बुधराज योङहाङले संकलन गरेको रु एक लाख ७० हजार ५७८ परिवारमार्फत प्रेमबहादुर राई बचाउ अभियानलाई प्रदान गरिएको हो । 

उक्त संकलित रकम इलाम प्रदेश नं २ का सांसद धीरेन्द्र शर्माले अभियानलाई हस्तान्तरण गर्नुभयो । सो अवसरमा उहाँले राईलाई साउदी जेलबाट छुटाउन आफूलगायत सरकारले समेत पहल गर्ने बताउनुभयो । 

सन् २०१२ मा वैदेशिक रोजगारीको सिलसिलामा साउदी पुगेका प्रेम बिदामा घर आएर पुनः सन् २०१६ मा साउदी गई कम्पनीको गाडी चलाएका बेला उनले चलाएको गाडी बाटैबाट हराएको थियो । 

गाडीमा रहेको केवलतार हराएपछि उनलाई पक्राउ गरी दुई महिना जेल र ५० कोर्रा सजाय दिएको थियो । सो सजाय भुक्तान गरी घर फर्कने क्रममा पुनः पक्राउ गरी कम्पनीले तीन लाख १० हजार रियल (नेपाली रु ९५ लाख) जरिवाना लगाएको थियो । फैसलाबमोजिमको रकम नबुझाएसम्म कारागारनै बस्नुपर्ने भएकाले उनको जीवन रक्षाका लागि अभियान सञ्चालन भइरहेको छ । 

प्रेमको पीडादायी अवस्थाको समाचार बाहिर आएलगत्तै राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रेमबहादुर राई बचाउ अभियान समिति गठन भई रकम संकलन भइरहेको अभियान दानाबारीका संयोजक दुर्गाराज शंकरले बताउनुभयो । रासस


यस बिषयमा तपाइको प्रतिक्रिया...!