जनजाति महासंघ बागलुङले गर्यो बिदा कटौतीको विरोध

Posted on: 11 Apr, 2018

चैत २८ बागलुङ | नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् बागलुङले बिदा कटौतीको निर्णय फिर्ता लिन सरकारसंग आग्रह गर्नुभयो । 

परिषद्ले यहाँ आज पत्रकार सम्मेलनको आयोजना गरी सांस्कृतिक पर्वमा दिइँदै आएको बिदा काटेर सरकारले पहिचान मेटाउन खोजेको आरोप लगाएको छ । 

परिषद्का अध्यक्ष बोमबहादुर गुरुङले सम्बन्धित पक्षसँग परामर्शसमेत नगरी सरकारले एक पक्षीय ढंगले बिदा खारेजीको निर्णय गर्नु दुःखद रहेको बताउनुभयो । 

“देश निर्माणमा ३६५ दिन नै हामी खट्न तयार छौँ”, उहाँले भन्नुभयो, “तर मौलिक पर्वमा दिइने बिदा कटौती जायज छैन ।” 

अध्यक्ष गुरुङले सांस्कृतिक पर्व, रीतिरिवाज राज्यको सम्पत्ति भएको भन्दै त्यसको जगेर्ना गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो । 

नेपाल मगर संघ बागलुङका अध्यक्ष गणेश थापामगरले आदिवासी, जनजाति समुदायको भावनाको कदर हुनुपर्नेमा जोड दिदैं समृद्धिको नाममा संस्कृति र इतिहासलाई बिर्सन नमिल्ने बताउनुभयो । 

महासंघ बिदा कटौतीको निर्णय फिर्ता लिनुपर्ने सहितका विविध माग राखी अहिले शान्तिपूर्ण आन्दोलनमा छ । 

तमु ल्होसार, सोनाम ल्होसार, ग्याल्वो ल्होसार, उधौली, उभौली, माघी लगायतका सांस्कृतिक पर्वमा गरिएको बिदा कटौतीको निर्णय फिर्ता लिनुपर्ने महासंघले जनाएको छ । 

महासंघले विभिन्न समयमा आदिवासी, जनजाति समुदायसँग सरकारले गरेका सम्झौताको कार्यान्वयनमा जोड दिनुपर्ने उल्लेख गर्दै पहिचानको पक्षमा भएका आन्दोलनका क्रममा जेल परेका बन्दीको रिहाइएको माग गरेको छ । रासस


यस बिषयमा तपाइको प्रतिक्रिया...!