बैतडीको एक वडा कार्यालयमा लगाएको तालाबन्दी खुल्यो

Posted on: 18 Apr, 2018

वैशाख ५ बैतडी | बैतडीको सुर्नया गाउँपालिका–१ मा विगत आठ दिनदेखि गरिएको तालाबन्दी आज खोलिएको छ । 

सुनर्या गाउँपालिका–१ ले तयार गरेका योजनाप्रति असन्तुष्टि जनाउँदै केही राजनीतिक दलका स्थानीय प्रतिनिधिले विज्ञप्ति जारी गर्दै गत चैत २७ गते तालाबन्दी गरेका थिए । 

साबिकको हटैराज गाविसका पूर्वअध्यक्ष गजेन्द्रबहादुर चन्दको अध्यक्षतामा बसेको बैठकले अबउपरान्त योजना निर्माणका काममा बाधा नपुर्याउने तथा निर्माणका काम सञ्चालन गर्ने सहमति भएको वडाध्यक्ष कलशबहादुर चन्दले जानकारी दिनुभयो । 

सर्वपक्षीय तथा सर्वदलीय उक्त बैठकले स्थानीयवासीले राखेको मागको सम्बोधन गर्ने गरी सहमति भएको जनाएको छ । यसअघि गत चैत २७ गतेदेखि वडा कार्यालयमा तालाबन्दी गर्नाका साथै विकास निर्माणका काममा समेत उनीहरुले अवरोध पुर्याएका थिए । 

सुर्नया–१ हटैराजमा क्रियाशील राजनीतिक दल नेकपा एमाले, नेकपा माओवादी केन्द्र तथा राप्रपाका प्रतिनिधिद्वारा हस्ताक्षरित उक्त विज्ञप्तिमा वडाध्यक्ष कलशबहादुर चन्दले निर्णय एकलौटी गरेको आरोप लगाएका थिए । यता वडाध्यक्ष चन्दले भने वडा र गाउँसभाबाटै पारित भएका योजनालाई कार्यान्वयन गरिरहेको बताएका छन् । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!