चितवनमा ‘डबली द स्पेस बुक क्याफे’ सञ्चालनमा

Posted on: 02 May, 2018

वैशाख १९ चितवन | सार्वजनिक विषयमा छलफल बढाउने र पठन संस्कृतिको प्रवद्र्धन गर्ने लक्ष्यका साथ यहाँ ‘डबली द स्पेस बुक क्याफे’ सञ्चालनमा ल्याइएको छ ।

भरतपुर महानगरपालिका–१० स्थित भरतपुर विमानस्थल नजिकै पत्रकार इन्द्रध्वज क्षेत्री र डाक्टर जीवन क्षेत्रीले उक्त क्याफे सञ्चालनमा ल्याउनुभएको हो । 

साहित्य, संस्कृति, संगीत, कला, समसामयिक राजनीति लगायतका विषयमा छलफल चलाउने, नेपाली र विदेशी लेखकका पुस्तक उपलब्ध गराउने र पठन र बहस संस्कृतिको विकास गर्ने लक्ष्यका साथ डबली बुक क्याफे शुरु गरिएको क्याफेकी व्यवस्थापक शारदा क्षेत्रीले बताउनुभयो । 

डबली बुक क्याफेमा कफी, फास्ट फुड, पढ्नका लागि वातानुकूलित कक्ष र विभिन्न कार्यक्रम गर्नका लागि मञ्च र हल पनि उपलब्ध गराइने उहाँले बताउनुभयो । समसामयिक विषय, कला, साहित्य, खेलकुद, चलचित्र, भाषा, संस्कृति आदिबारे नियमित छलफल र बहस चलाइने उहाँले बताउनुभयो । रासस


यस बिषयमा तपाइको प्रतिक्रिया...!