हुम्लाको प्रसिद्ध धार्मिक स्थल रल्लिङ्गमा धुमधाम मेला

Posted on: 03 Jun, 2018

रेशमराज रोकाया/जेष्ठ १७ हुम्ला | हुम्लाको प्रसिद्ध गोम्बा रल्लिङ्गमा हरेक वर्षको वैशाख पूर्णिमाको दिन हुम्ला जिल्ला भरीका भक्तजनहरु भेला भएर पूर्णिमा मनाएका छन् । सदरमुकाम सिमिकोट देखी करिब ६ घण्टाको पैदल यात्रा पछि पुगिने रल्लिङ्गमा यो वर्ष करिब १ हजार भन्दा बढी भक्तजनको उपस्थिती रहेको थियो । प्राचिनकालको जुम्लाका राजा अशोक चल्लले लेख्नु भएको ताम्रपत्र यहाँ भेटिएको छ । 


नेपाली साहित्यको लिखित ऐतिहासीक प्रमाणका रुपमा चिनीने ताम्रपत्र हुम्लाको रल्लिङ्ग गुम्बा अझै पनि सुरक्षित रहेको छ । चार हजार मिटर अग्लो स्थानमा रहेको गुम्वामा अशोक चल्लको पालामा लिखत गरिएको ताम्रपत्र रहनुले यो गोम्बा ऐतिहासिक र अध्ययनको विषयवस्तु रहेको छ । यहाँ ४ हजार ८ सय मिटरमा कैलाश भगवानको मुर्ति समेत भेटिएको छ । हिन्दु र बौद्ध धर्मावलम्बीको लागि यो ठाउँ निक्कै पवित्र स्थल हो । चिनको मानसरोवरको महत्व जस्तै यो स्थल अत्यन्तै पवित्र रुपमा लिने गरिएको छ । 


सिमकोट गाँउपालिकाको वडा नम्वर २ र ३ मा पर्ने यो गोम्बा सयौँ बर्ष पुरानो भगवान गौतम वुद्धको मुर्ती, गुफा, गुफाको भित्तामा रहेका मानिसका आकृति, चौरी, कुकुर, भेडा तथा अन्य पशुु वस्तुुको आकृृति हुनुु यो गुम्बाको मुख्य आकर्षण हो । गुम्बाको पुजा लागि हरेक वर्ष सिमिकोट गाउँपालिकाको वडा नं. १, २, ४ र ५ वडाका लामा जातीका पुजारीको पालो लगाएर नियुक्त गर्ने प्रचलन रहेको छ ।


बलि नचढाईने गुम्बामा वैशाख तथा जेठ पुर्णिमामा वौद्ध तथा हिन्दु धर्मावम्वीहरुले सन्तान प्राप्तीको र घरमा हुने नराम्रो ग्रह दशा हट्ने जनविश्वास रहेको छ । तिर्थालुुहरुले मनले सोचेको कुरा पुुरा हुने जनविश्वसले जिल्लामा रहेका अन्तरिक र बाश्य भक्तजनको ओइरो लाग्ने गरेको छ । गुम्बाको नजिक ठूलो फाँट भएकोले केही भक्तजन त्यहाँ पुग्नको लागि आउन र जानको लागि ७ हजारको हेलिकोप्टरको भाडा तिरेर समेत जाने सुविधा पाएका छन् । होलिकोप्टरबाट ५ मिनेटमा नै पुग्न सकिन्छ भने घोडेटो बाटो राम्रै भएकोले पुग्नको लागि सहज हुने गर्दछ । आन्तरिक तथा बाह्य पर्यटकको यो एक असल गन्तव्य स्थल हो । अचम्मको कुरा त के छ भने यहाँ हिन्दु र बौद्ध दुवै धर्मावलम्वीले पुजा आरती गर्ने गरेका छन् । बौद्ध धर्मावलम्बीले बुद्ध र हिन्दुले शिवको पुजा एकै ठाउँमा गर्ने गर्दछन् ।

धार्मिक मेला सुरक्षाको लागि स्थानिय प्रशासनले सुरक्षा समेत दिने गरेको छ । यो गुम्बामा पुजा र आरती गरेकै दिन जहिले पनि पानी समेत पर्ने गरेको छ । गुम्को चारै दिशाको ढुँगामा सुरक्षाको लागि ४ वटा कुकुरको आकृतीमा छाप समेत रहेका छन् । शिवजीले प्रयोग गरेका हरेक वस्तुको यहाँ छाप समेत देख्न पाईन्छ । धार्मिक मेला सम्पन्न गर्नको लागि स्वयंसेवक समेत परिचालन गर्ने गरिन्छ । तिर्थालुको लागि त्यहाँ गाउँ गाउँका पुजारीले प्रसाद समेत बाँड्ने प्रचलन रहेको छ । नजिक रहेको त्वाग्राको मैदानमा रातभर युवा युवतीले देउडा समेत खेलेर रमाईलो गर्ने प्रचलन रहेको छ । रातभर देउडा खेलीसकेपछि मन मिलेको युवाले सोही ठाउँमा दाम्पत्य जीवन समेत सुरुवात गर्ने गरेको छन् । यही दिन कुनै साईत नै नदेखाउनु पर्ने जनविश्वास समेत रहेको छ । देउडा गितको मर्म र साहित्यबाट एक आपसमा प्रेम भाव झल्काएर एकै रातमा युवा युवतीको विचमा प्रेम गाँसिएर विवाह समेत हुने गरेको छ ।

नजिक कुनै बस्ती नभएको कारण भक्तजनले खान र बस्नको लागि घेडा, खच्चरमा बन्दोवस्तीका सामाग्री समेत घरबाट नै लिने गर्दछन् । खाजा र खानको लागि २ दिनको लागि मात्र त्यहाँ अस्थायी पसल समेत खुल्ने गर्दछन् । पसलमा खुद्रा सामान, खानेकुरा, मदिरा लगायतका समान विक्रिको लागि राख्ने गरिएको हुन्छ । खुला मैदानमा पाल टाँगेर यस्ता सामान विक्रि गर्दा हजारौंको फाईदा स्थानिय व्यापारीले लिने गरेका छन् । स्थानिय रुपमा तयार पारेका उनीका कपडा सोही दिन विशेष पहिरनको रुपमा लगाउने प्रचलन छ । पुरुषले रातो बख्खु र कम्मल भने महिलाले पनि स्थानिय रुपमा उत्पादित वस्तु पहिरनको रुपमा लगाउने चलन रहेको छ ।

जिल्लाका उत्तरी भेगका सुन्दर हिमाल हिमताल, हिमनदी, बहुमुल्य जडिबुटी, वन्यजन्तुको संरक्षण प्रवद्र्धनमा जोड नदिँदा खेर गईरहेको छ । वर्षेनी १३ हजार देखि १६ हजारको हाराहारीमा आन्तरिक तथा बाह्य पर्यटकहरु हुम्लामा आउने गरेका छन् । 

पर्यटकलाई त्यस ठाउँको बारेमा जानकारी नहुँदा धेरै दिन बस्न नसकिरहेको अवस्था अझै कायम छ । हरेक वर्ष मानसरोवर कैलाश दर्शन गर्ने भारतिय तिर्थालुहरु दर्शन गर्ने क्रम बढेपनि सिधै हिल्सा यात्रा गर्ने गरेपछि जिल्लाका पर्यटकीय स्थल र त्यसबाट हुम्लाले लिनु पर्ने फाईदा समेत लिन सकिरहेको छैन । हिमताल, झरना हेर्दै पैदल मार्गबाट पर्यटकलाई सम्वन्धित स्थलमा पुगाउन सकिएमा पर्यटकसँगै काम गर्ने अन्य व्यक्तिले समेत रोजगारी पाउने अवस्था रहेको छ । सिमित हवाई कम्पनीले र होटेल व्यवसायीको नियन्त्रणमा रहने हुम्लाको पर्यटन जनमुखी बनाउनको लागि प्रयास गरिनु पर्ने जरुरी रहेको छ । 

मानसरोवर कैलाशको प्रवेशद्धारको रुपमा चिनिदै आएको हुम्लाका थुपै्र ठाउँ प्रचार प्रसारको अभावमा परिचित हुन पाएका छैनन् । जसको कारणले पर्यटकलाई आकर्षित गर्नको लागि समेत कठिन हुनुको साथै ओझेलमा परेका छन् ।  सुन्दर ठाउँलाई सरोकारवाला निकायले चासो र चिन्ताको विषय नलिँदा पर्यटयकीय स्थलबाट हुम्लाले फाईदा लिन नसकिरहेको अवस्था छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!