विपद् प्रतिरोधी योजना बनाउन सिक्दै जनप्रतिनिधि

Posted on: 06 Jun, 2018

नरी बडु | जेठ २३, बैतडी | बुधबार दशरथचन्द नगरपालिका– २ देहिमाण्डौँमा वडा अध्यक्ष र सदस्यहरुको जमगट थियो । 

योजना छनोटको अन्तिम चरणमा रहेका जनप्रतिनिधिहरुले यसरी जमघट हुनुको एउटै उद्देश्य थियो, गाँउमा संचालन हुने विभिन्न विकास निर्माणका कार्यक्रमहरु गर्दा विपद कसरी रोक्न सकिन्छ र विभिन्न समयमा आउने विपद्लाई कसरी व्यवस्थापन गर्ने भन्ने बारेमा जानकारी लिन । यूनिसेफ नेपालको सहयोगमा नेपाल रेडक्रस सोसाईटी बैतडी शाखाद्वारा संञ्चालित बालवालिका केन्द्रित विपद जोखिम न्यूनिकरण कार्यक्रमले आयोजना गरेको एक दिने तालिममा जनप्रतिनिधिहरुले विपद् कम गर्ने बारेमा जानकारी लिएका छन् ।

पछिल्लो समय गाँउमा धमाधम खनिन थालेका सडक, निर्माण प्रक्रियाको चरणमा रहेका भवन र अन्य भौत्तिक संरचना पनि विपद् प्रतिरोधि कसरी बनाउने भन्ने बारेमा उनिहरुलाई जानकारी गराईएको बालवालिका केन्द्रित विपद् जोखिम न्यूनिकरण कार्यक्रमका कार्यक्रम अधिकृत तेजप्रशाद पाण्डेयले बताउनुभयो । जनप्रतिनिधिहरुलाई कार्यक्रम अधिकृत पाण्डेय, प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशी, रेडक्रस साखा बैतडीका सभापती भिमदत्त पाण्डेय र दशरथचन्द नगरपालिकाका नायव सुब्बा राजेन्द्र विष्टले विपद जोखिम न्यूनिकरण र विपद्लाई विकासको मुल प्रवाहमा ल्याउने बारेमा अभिमुखिकरण गराउनुभएको थियो ।


“गाँउमा चलेको डोजरले पानीका मुहानहरु सुक्नुका साथै बाढी पहिरोको उच्च जोखिम देखिएकाले यसतर्फ सचेत भई जनप्रतिनिधिहरुले योजना छनोट गर्न आवश्यक छ ।” प्रजिअ जोशीले भने । योजना छनोट गर्दा भोट आएको क्षेत्रका मात्रै नभई सबै ठाँउको समस्यालाई ध्यानमा राख्न जरुरी रहेको जोशीको भनाई छ । तालिमबाट विपद् नआउने गरी योजना निर्माण गर्ने बारेमा जानकारी पाउदा आफुहरुलाई यस्ता योजना निर्माण गर्न सहयोग हुने दशरथचन्द नगरपालिका–७ का वडा सदस्य बल्देब बडुको भनाई छ ।

कार्यक्रम अन्र्तगत दशरथचन्द नगरपालिकामा निर्वाचित सबै जनप्रतिनिधिहरुलाई विपद् व्यवस्थापन र योजना निर्माण सम्बन्धि अभिमुखिकरण दिईएको छ । उक्त कार्यक्रमले जनप्रतिनिधि, विद्यालय, बालवालिका र अन्य सरोकारवालाहरुलाई पनि विपद् व्यवस्थापनका बारेमा तालिम दिएको कार्यक्रम अधिकृत  पाण्डेयले बताउनुभयो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!