विश्वकप क्रिकेट: पाकिस्तानसँग हारसंगै भारतलाई अर्को झट्का

Posted on: 25 Oct, 2021

कात्तिक ८, काठमाडौं | यूएई र ओमानमा जारी सन् २०२१ को टी–२० विश्वकप क्रिकेटमा भारतलाई अर्को झट्का लागेको छ । भारतका मुख्य खेलाडी हार्दिक पाण्ड्या घाइते भएका छन् । आइतबार भएको खेलमा ब्याटिङको क्रममा पाण्ड्या घाइते भएको भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)ले जनाएको छ । 

बीसीसीआईका अनुसार पाण्ड्याको काँधमा समस्या देखिएपछि उनलाई अस्पताल लगिएको हो । पाण्ड्याले पाकिस्तानविरुद्ध ८ बलमा ११ रन बनाएका थिए । उनलाई पाकिस्तानी बलर हरिस रौफले आउट गरेका थिए । 

ब्याटिङ गरेपछि उनी फिल्डिङका लागि मैदानमा आएनन् र उनको ठाउँमा इशान किशन आएर फिल्डिङ गरेका थिए । उक्त खेलमा भारत पाकिस्तानसँग १० विकेटले पराजित भएको थियो ।  पाण्ड्या घाइते भएपछि न्युजिल्याण्डसँग खेल्नुअघि भारतलाई झट्का लागेको हो ।

पाण्ड्याको चोटको रिपोर्ट बाहिर नआएकोले न्युजिल्याण्डविरुद्धको खेलसम्म उनी पूर्ण रूपमा फिट छन् कि छैनन् त्यो भने हेर्न बाँकी छ । ३१ अक्टोबरमा भारतले आफ्नो दोस्रो खेलमा न्युजिल्याण्डको सामना गर्दै छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!