जमराको जुस पिउनुस् यस्ता छन् फाइदा, कसरी बनाउने, कति पिउने ? जान्नुहोस्

Posted on: 11 Jul, 2018

टिप्स- जमरा भन्नसाथ हामी दशैं सम्झन्छौं । अक्सर दशैंमा विभिन्न अन्नको जमरा उमारेर शिरमा सिउरिने गरिन्छ । जमरा शिरमा सिउरिन किन योग्य छ भन्ने कुरा यसको औषधीय गुणबाट पनि थाहा पाउन सकिन्छ । यो एक आयुर्वेदिक औषधि हो, जो हाम्रो स्वास्थ्यका लागि अत्यान्तै लाभदायक छ ।


के पाइन्छ गहुँको जमरामा ?

जमरा राम्रो आहार पनि हो । खासगरी गहुँको जमरा उमारेर नियमित रुपमा त्यसको रस पिउँदा निकै लाभ मिल्छ । किनभने यसमा पोषक तत्व पाइन्छ, जसमध्ये क्लोरोफिल अधिक हुन्छ । त्यसका साथै प्रोटिन, भिटामिन, फाइबर, क्याल्सियम र कार्बोहाइड्रेट्सको राम्रो स्रोत हो, गहुँको जमरा ।

के लाभ मिल्छ ?

गहुँको जमराको जुस सेवन गर्दा स्वास्थ्यमा फाइदा गर्छ । खासगरी मुख तथा दाँतसम्बन्धी समस्या हटाउन, रगतमा चिनीको मात्रा नियन्त्रित गर्न, पाचन यन्त्र बलियो बनाउन, कलेजोलाई स्वस्थ्य राख्न गहुँको जमरा उपयोगी हुन्छ । त्यसका साथै कतिपय छालाको समस्या र केसको समस्यामा पनि गहुँको जमरा लाभदायक हुन्छ ।

कसरी बनाउने गहुँको जमराको जुस ?

गहुँको जमरा त्यसै चपाएर पनि सेवन गर्न सकिन्छ । साथै यसबाट रस निकालेर पिउन पनि सकिन्छ । गहुँको जमराको जुस बनाएर पिउँदा स्वादिलो हुन्छ । कसरी बनाउने त जुस ?

१. आठदेखि दश वटा गहुँको जमरा जरामै काटेर राम्ररी धुने । अब यसलाई कुटेर रस निकाल्ने ।

२. अब एक सफा कपडामा त्यसलाई राख्ने र निचोर्नुपर्छ । यसको रस कुनै गिलासमा राख्नुपर्छ ।

३. यो जुसमा थोरै तुलसीको रस चुहाइदिन सकिन्छ । साथै मह र अदुवा पनि मिश्रण गर्न सकिन्छ ।

४. यो जुसमा थोरै पानी मिसाउनुहोस् । अब जुस पिउन सकिनेछ ।

कति पिउने ?

– यदि तपाई कुनै रोगबाट ग्रसित हुनुहुन्छ भने प्रतिदिन तीसदेखि पचास एमएल जुस पिउनुहोस्, दिनमा दुई पटकसम्म ।

– सुरुमा गहुँको जमराको रस थोरै पिउने र क्रमस मात्रा बढाउँदै लाने ।

– एक हप्तामा कम्तिमा पाँच दिन यसको सेवन गर्नुपर्छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!