गाउँपालिका भवन निर्माण कार्य जारी

Posted on: 16 Mar, 2019

चैत २, बैतडी | बैतडीको दुर्गम सिगास गाउँपालिकाको भवन निर्माण कार्य जारी रहेको छ । गाउँपालिकाको केन्द्र तोकेको ठाउँ गाउँपालिका–८ गर्जेमा कुनै पनि सरकारी भवन नहुँदा गाउँपालिकाले भवन निर्माण कार्य भइरहेको हो । गाउँपालिकाले उपभोक्ता समितिमार्फत् अढाई दुई तले भवन निर्माण कार्य सात महीनादेखि जारी रहेको सिगास गाउँपालिकाका अध्यक्ष हरिसिंह धामीले जानकारी दिनुभयो । बाह्र कोठाको भवनसँगै एक सभाहलसमेत निर्माण गरिने भएको छ । हाल भुईंतला निर्माण कार्य सम्पन्न गरिसकेका छौँ उहाँले भन्नुुभयो, “अबको एक वर्षमा गाउँपालिका भवन निर्माणको काम सम्पन्न हुन्छ ।” 

गाउँपालिकाको केन्द्र तोकिएको ठाउँमा कुनै पनि भवन नहुँदा अहिले गाउँपालिकाले दिने सेवामा कठिनाइ भएको छ । आफ्नै भवन नहुँदा गाउँपालिकाले गर्जेमा रहेका पसलसँगैको कोठा भाडामा लिएर सेवा दिइरहेको छ । 

रु एक करोड ५० लाखको लागतमा बन्न लागेको उक्त भवन निर्माण कार्यलाई तीव्ररुपमा अगाडि बढाइएकाले तोकिएकै समयमा भवन निर्माण कार्य सम्पन्न हुने सिगास गाउँपालिकाले जनाएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!