नहर, कुलो र मुहान निर्माण योजना

Posted on: 07 Mar, 2018

फागुन २३, नेपालगञ्ज | यस वर्षको बाढीले भत्काएको र बगाएको बाँके जिल्ला राप्तीसोनारी गाउँपालिकाको नहर, मुहान र कुलो निर्माण हुने भएको छ । 

सो गाउँपालिका वडा नं २ मा बाढीले भत्काएका र बगाएका खोरियाका दुई, मदुई, माथेबास, परवा तटबन्ध तथा दुई कुलो र मुहान बनाइने बताइएको छ । सो गाउँपालिका वडा नं २ कार्यालयका अध्यक्ष मदनकुमार ओलीका अनुसार सेभ द चिल्ड्रेन र बाँके युनेस्को क्लबसंँगको सहकार्यमा सो काम हुन लागेको हो । 

नहर, कुलो र मुहान निर्माणका लागि रु ७६ लाख १० हजार बजेट बिनियोजन गरिएको छ भने छ महिनाभित्र काम सम्पन्न गर्ने समयावधि निर्धारण गरिएको छ । योजना सञ्चालनका लागि गठित आठ उपभोक्ता समितिसँग सम्झौताका सबै प्रक्रिया पूरा भइसकेको र केही दिनभित्रै काम शुरु गरिने वडाध्यक्ष ओलीले बताउनुभयो । यस वर्षको बाढीबाट त्यस वडाका करीव एक हजार १०० घरधुरी प्रभावित भएका थिए । सोका निर्माणपछि किसानको खेतबारी र घर सुरक्षित हुने बताइएको छ ।  - रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!