सवारी साधनमा ‘रिफेल्टिभ स्टिकर’ टाँस

Posted on: 20 Dec, 2023

पुस ४, जानकी | सवारी दुर्घटना न्यूनीकरणका लागि  जिल्ला प्रहरी कार्यालय बाँकेले सवारी साधनमा ‘रिफेल्टिभ स्टिकर’ टाँस गरेको छ । चिसो बढेसँगै हुस्सु र कुहिरोका कारण सवारी दुर्घटना हुनसक्ने जोखिमलाई ख्याल गर्दै सवारी साधन र विद्यार्थीको झोलामा ‘स्टिकर’ टाँस गरेको हो । 

मङ्गलबार नेपालगञ्ज उपमहानगरपालिका–१ धम्बोझी चोकमा सडक सुरक्षा तथा ट्राफिक सचेतना कार्यक्रम समेत आयोजना गरिएको थियो ।  बाँके प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक नारायण डाँगीले अभियानको पहिलो दिन मङ्गलबार तीन सय  सवारी साधनमा स्टिकर टाँस गरिएको जानकारी दिए । उनले नम्बर प्लेट नभएका र स्पष्ट नदेखिने सवारी साधनमा रातिको समयमा दुर्घटना बढी हुन सक्ने भएकाले त्यस्ता सवारी साधनहरुमा स्टिकर टाँस गरिएको बताए । 

“राति हुन सक्ने दुर्घटनालाई न्यूनीकरण गर्नका लागि हामीले नम्बर प्लेट नभएका र स्पष्ट नदेखिने सवारी साधनमा रिफेल्टिभ स्टिकर टाँसेका हौँ”, प्रवक्ता डाँगीले भने । उक्त अभियानमा बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेल, बाँकेका प्रहरी प्रमुख सुभाषचन्द्र बोहरा र राष्ट्रिय अनुसन्धान कार्यालयका उप–निर्देशक मोहन कुँवर लगायतको सहभागिता रहेको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!