हुलाकी सडक विवाद सल्टाइयो

Posted on: 29 Dec, 2018

पुस १४, नेपालगञ्ज । बाँकेको नेपालगञ्जदेखि कट्कुइयासम्म निर्माणाधीन हुलाकी राजमार्गमा देखिएको वर्षौदेखिको विवाद साम्य भएको छ । 

हुलाकी राजमार्गअन्तर्गत जिल्लाको राप्तीपारि नरैनापुर गाउँपालिका–५ मटेहियास्थित सडकको नक्साङ्कन, मुआव्जा विवाद र निर्माणकार्यमा देखिएको अवरोध सहमतिका आधारमा साम्य पारिएको हो । 

प्रदेश नं ५ का सांसद कृष्णा केसी, प्रमुख जिल्ला अधिकारी मदन भुजेल, नेपालगञ्ज उपमहानगरपालिका उपप्रमुख उमा थापामगर, नरैनापुर गाउँपालिका अध्यक्ष मोहम्मद इस्तियाक अहमद शाह, वडा नं ५ का अध्यक्ष कृष्णचन्द्र मौर्य, स्थानीय जग्गाधनी, समूहका सदस्यसमेतको उपस्थितिमा जग्गा अधिग्रहण, मुआव्जा र नक्साङ्कनका विषयमा सहमति कायम भएपछि विवाद साम्य भएको हो । 

सम्वाद समूहको पहलमा भएको सर्वपक्षीय सहमतिपछि अब निर्माणकार्यले गति लिने विश्वास गरिएको छ । विवाद नभएका क्षेत्रमा भने यसअघि नै सडकमा कालोपत्र गर्ने काम शुरु भइसकेको छ । 

हाल चालू सडकलाई नै कायम राख्ने गरी निर्माणकार्यलाई अविलम्ब सञ्चालन गर्ने, निर्माणमा अवरोध नगर्ने, उत्तरतर्फको सडक नक्सामा परेको जग्गा (व्यक्तिगत) फिर्ता गर्ने प्रक्रिया अघि बढाउने र चालू सडकमा पर्ने जग्गाको मुआव्जा दिन लिखित सहमति गरिएको छ । 

नेपाल सरकारकै लगानीमा बन्न लागेको योजनाले ४४ किलोमिटर सडक दुई खण्डमा विभाजित गरेर विसं २०७३ फागुनदेखि निर्माण थालेको हो । निर्माणकार्य २०७६ असार मसान्तसम्म पूरा गर्नुपर्ने समयसीमा तोकिएको छ । बाँकेको हुलाकी राजमार्ग निर्माणको ठेक्का पप्पु लुम्बिनी जेबी कम्पनीको नाममा रहे पनि पप्पुले यो ठेक्का रु ६० करोडमा गणपति निर्माण कम्पनीको जिम्मा लगाएको थियो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!