परिस्कृत हुँदै हुम्लाको रोजगारी अवस्था

Posted on: 01 May, 2018

राजबहादुर रोकाया


रोजगारलाई विकास मापनको प्रमुख सुचकको रुपमा लिईन्छ । रोजगार केवल आर्थिक विकासको मात्र महत्वपूर्ण सूचक होईन सामाजिक विकासको पनि मुख्य सूचक हो । समाजमा रोजगार व्यक्तिको रहनसहन, लवाइखवाइ, उठबस देखि लिएर उसको शिक्षा, स्वास्थ्यका साथै अन्य सामाजिक तथा साँस्कृतिक पाटोसँग जोडिएका अवयवहरु बेरोजगार व्यक्ति भन्दा निकै फरक भएको उदाहरणहरु प्रयाप्त देख्न सकिन्छ । आजको विश्वको प्रमुख समस्या मध्ये बेरोजगारी एक हो । विकासोंमुख राष्ट्र नेपालका लागि त यो झन बिकराल अवस्था छ । हरेक समाजमा रहेका आर्थिकरुपले सक्रिय जनसंख्या तीव्रतर गतिले दिनानुदिन बेरोजगारीको चपेटामा रुमलिरहेको छ । यसैका कारण समाजमा हिंसा, असहिष्णुता, सद्भावाहिनता, झैझगडा, चोरी, लुटपाट, कुलत व्यवहार जस्तासामाजिक बेमेलजन्य क्रियाकलापहरुमा संलग्न भई समाजलाई पश्चगमन तर्फ धकल्ने कार्य भैरहेको ज्वलन्त प्रमाणहरु छन ।

मानव समाज विकासको लामो कालखण्ड सँगै आफ्नो पुख्र्यौली पेशा व्यवसायलाई निरन्तर दिने सवालमा होस् या दैनिक जनजीविका तथा जिविकोपार्जन गर्नका खातिर होस् समाजमा थुप्रै प्रकारका पेशा व्यवसायको निरन्तरता र नयाँ नयाँ रोजागारका स्वरूप समय, परिस्थिति, स्थानसंगै परिवर्तित भैरहेका छन । समुदायहरुले कृषिमा आधारित आफु सुहाउँदो रोजगारी तथा पेशा व्यवसाय सिर्जना गरि आवद्द भएका थिए । आफ्नो जीविकोपार्जनका खातिर हुम्ली समाजमा विविध किसिमका रोजगारीका आयाम स्थापित र विस्थापित हुने क्रम बढिरहेको छ ।

साहु महाजन, तथाकथित उपल्लो जात, मुखियाहरुको अन्य समुदायको भन्दा जग्गा जमिन धेरै र जनशक्ति कम हुन्थ्यो । यस्तो अवस्थामा उच्च वर्गले आफ्नो जग्गा आदिमा बालीनाली लगाउनका लागि तथाकथित तल्लो जातका साथै गरिवलाई घरैमा न्युनतम ज्याला (अन्नपात, खान मात्र खुवाउने गरि) र अधिक श्रम शोषण गर्ने गरि उपयोग गर्न हली(हलो जोत्ने काम), खेताला(खेतबारीमा रोपाई गर्ने काम), बाऊँस्या र कोदाल्न्या(हली संगसंगै पछि खनजोत, माटोका डल्ला फुटाउने र झारपात केलाउने काम),गोड्न्यौरी(खेतबारीमा गोडमेल गरि, झारपात केलाउने वा फाल्ने काम)जस्ता परम्परागत कृषिमाआधारित काममा संलग्नगराउने रहुने चलन थियो।  बिगतमा हुम्ला पशुपालनको दृष्टिकोणले धनि थियो । यी पशुवस्तु भेडाबाख्रा वर्षा याममा तिब्बततिर गई चामलसँग नुन साँट्ने र हिउँद याममा दक्षिणी भेग अछाम, दार्चुला साँफेबगरमा गई नुनसँग चामल साट्ने र त्यहि पशुवस्तु पाल्ने चलन थियो । ति पशुवस्तुसंगै घरका सदस्य बाहेक अन्य मान्छे पनि न्युनतम ज्याला र खानपिनको व्यवस्था सहित पशुवास्तुको हेरचाह गर्नका लागी ग्वालो लिने चलन थियो । यसरी भेडाबाख्रा संगसंगै गई हेरचाहका साथै व्यापार गर्ने प्रचलन नै भग्री प्रथा हो ।

हुम्लामा तथाकथित तल्लो जात कामि, सुनार,चमार, नेपाली, दमाई, परियारल्वार(फलाम सुनको कामगर्ने), भ्याल(छालाजन्य वस्तु तथा सामाग्रीहरु बिशेष गरि घरेलु लत्ताकपडा तथा कृषिजन्य औजारहरु बनाउनकालागिे काम गर्ने) र घाल्या (लत्ताकपडा, लुगाफाटो सिलाउने तथा पर्व पुर्णिमा शुभ तथा अशुभ कार्यमा समेत बाजा, ढोलक, दमाह बजाउने काम गर्ने )हरुले आफ्नो तोकिएको साहु महाजन, ठालु मुखियाको घरमा गई काम गर्छन । त्यो वापत बिहान, दिउसो र बेलुकाको खाना खुवाउनुका साथै अन्नपात दिने चलन छ । काम दिने घरधुरीलाई लगीका रुपमा चिनिन्छ ।

हुम्ला बौद्द तथा हिन्दु धर्मको संगम थलो होे । यहाँ धामी झाक्री र लामा मान्ने संस्कृति बिगत समय देखि नै चलनमा आएको छ । धर्मकर्म र संसकृतिसंग सम्बन्धित रोजगार दिने र लिने समुदाय पनि छ । बिरामी पर्दा वा घरमा अशुद्दको संकेत भएमा बिरामी निको गर्न वा शुद्द गर्ने जनविश्वासका साथ धार्मिक र दैविक कार्य गर्न विभिन्न देवालयमा आस्थावान धामी, डाँग्री, लामा, पुरेत्याइ र बैद्द्य र आम्चीलाई गुहारी पुजाआजामा संलग्न गराईन्छ । माथि उल्लेखित पेशाहरु महत्वपूर्ण भएतापनि संख्याको दृष्टिकोणले नगण्य नै छ। 

बिगत समयमा जिल्लाको कृषि उत्पादनमा कमिका कारण अत्यन्त चरम भोगमारिको कुचक्रले जरा गाडेको थियो । विकासको गति अत्यन्त धिमा भएकै कारण अल्पकालीन तथा दिर्घकालिनरुपमा जीवनयापन गर्नकालागि प्रयाप्त मात्रामा जिल्लामा रोजगारीका अवसरहरु  प्रचुररुपले सिर्जना भएका थिएनन् । यस्तो अवस्थामा अधिकांस जनताहरु आफ्नो रहन सहन, चालचलन, थातथलोलाई बिर्सदै भारतका साथै नेपालका विभिन्न ठाउँहरुमा कुल्ली, भरिया, भग्री, ग्वालो, चौकीदार जस्ता काममा संलग्न भई सस्तोमा श्रम बेचेर आफु र आफ्ना सन्ततिको जीविकोपार्जनका लागि जोहोका साथै आवश्यक पर्ने भाँडाकुड, लुगाफाटो, रासनपानीको जोहो गरि गाउँ फर्कन्थे ।माथि उल्लेखित परम्परागत कृषि, वंश एवं समुदायमा आधारित काममा पेशागत रुपमा संलग्न भई समुदायका मानिसहरुले आफ्नो जीविकोपार्जन गर्ने गर्दथिए । यी पेशा बिस्तारै विकास र परिवर्तन संगै परिपर्वित हुदैं आईरहेका छन् ।

परिवर्तित रोजगारी 

आधुनिक शासन प्रणाली, सरकारी नीतिसंगै समाजमा विकसित भएको आधुनिक कृषि प्रणाली र उत्पादकत्वमा देखिएको सुधारात्मक प्रगति, विज्ञान तथा प्रविधिको नविनतम विकास तथा बिस्तार, शिक्षा, स्वास्थ्य र सूचनामा उल्लेखनीय प्रगतिआदि कारणहरुले मानवको कल्पनिय र सोचनीय मानसिकतामा व्यापक परिवर्तनसंगै जीविकोपार्जनका वैकल्पिक उपायहरुको सिर्जनासँगै माथि उल्लेखित परम्परागत कृषि, वंशगत एवं समुदायगत पेशा व्यवसायहरु क्रमशः समय परिस्थितिसंगै परिवर्तन तथा परिमार्जित भई नयाँ नयाँ नाफामुलक र आम्दानीमुलक रोजगारीजन्य पेशा व्यवसायहरु हुम्लावासीहरुले अँगाल्दै आएका छन । भग्रीको सट्टा भेडाबाख्रा बेचेर पायक पर्ने ठाउँमा होटेल पसलका साथै घरजग्गा व्यवस्था गरि भाडामा लगाई मनग्य आम्दानि गरेका छन्, पशु, गाई, आदिको सट्टा गधा, खच्चर पालन गरि ढुवानी यातायातको रुपमा प्रयोग गरि आयआर्जन गरिरहेका छन, शिक्षित व्यक्तिहरु सरकारी, गैह्र सरकारी र वितिय संस्थाहरुमा जागिर गरिरहेका छन । त्यसैगरि बानु चिन्ने र काठको काम गर्ने पेशाको सट्टा आधुनिकरुपमा गारो लगाउने  सिकर्मी, डकर्मीजस्ता काममा संलग्न भई आयआर्जन गरिरहेका छन्, यसैगरि विभिन्न ठाउँमा गई कुल्ली, ज्याला मजदुरी गर्ने जनताहरु ति ठाउँमा गई जडिबुटीका साथै काठको कचौरा आदि मुल्यवान वस्तुहरुको व्यापार व्यवसायमा संलग्न भएका छन । जिल्ला भित्रै विभिन्न पशुजन्य, कृषिजन्य, बालीनालिजन्य उद्ध्योग, निर्माण, ठेकेदार, व्यापारी, विभिन्न विषयसंग सम्बन्धित परामर्शदाता, पर्यटन, होटेल, पसल, यातयात संचालन र ढुवानी जस्ता व्यवसाय अंगाली मनग्य आर्जन गरि रहेका छन ।

तथ्यगत रुपमा जिल्लाको पेशा व्यवसाय एवं रोजगारीको प्रवृति हेदा २०५८ को जनगणना अनुसार कुल जनसंख्याको ८८% कृषिजन्य पेशामा आवद्ध भई जीविकोपार्जन गरिरहेको अवस्था थियो । राष्ट्रिय जनगणना २०५८  अनुसार कुल घरधुरी ६९५२ मध्ये आर्थिकरुपले सक्रिय घरधुरी ८६४ थियो । जसमध्ये विभिन्न पेशा तथा रोजगारमूलक कार्यमा संलग्न रहेको घरधुरीको विश्लेषण गर्दा २६.३६% उद्ध्योग, २३.३५% ब्यापार, ४.६७% निकासब्यापार, २०.३६% जागिर र २१.२४% अन्य व्यवसायमा संलग्न रहेका थिए । २०६५ मा तत्कालीन जिविस, हुम्लाद्वारा गरिएको फिल्ड सर्वेक्षणको प्रतिबेदन अनुसार आर्थिकरुपले सक्रिय ६५.०३% जनसंख्या मध्ये ७८.२% कृषि, ३.३% नोकरी, ४% उद्ध्योग, १% ज्याला मजदुरी, १७.५% अन्य होटेल पसल, ठेकापट्टा आदि पेशा व्यवसायमा संलग्न भई रोजगारी थिए ।

२०६८ को राष्ट्रिय जनगणना अनुसार जिल्लाको कुल आर्थिकरुपले सक्रिय जनसंख्या ३५६९६ मध्ये २३४३१ जना बिभिन्न पेशा व्यवसाय र रोजगारमा संलग्न भएको तथ्य छ जस्तै ७ जना शसस्त्र प्रहरी, २८१ जना व्यवस्थापक, ७६५ प्रोफेसनल, ३६३ जना कार्यालय सहायक, ७२३ जना सेल्स सेवा, १९५८९८ जना कृषि कामदार, ७५८ सिलाई कटाई तथा बुनाई कामदार, २४ जना मेशिन औजार अप्रेसन कामदार, ५५९ जना मेकानिकल, इलेक्ट्रिकल जस्ता यान्त्रिक व्यवसायमा संलग्न भई रोजगारी भएका छन ।ं वैदेशिक रोजगार बिभाग, काठमान्डौ, २०७१ अनुसार यस जिल्लाबाट वैदेशिक रोजगारको शिलशिलामा विभिन्न देशमा गएका कामदारको संख्या आ.व. २०६७।६८ मा ४६ जना, २०६८।६९ मा ११३ जना, २०६९।७० मा ४५ जना थिए भने २०७०।७१ मा १७२ जना गएका थिए । समग्रमा कृषिजन्य पेशा व्यवसायमा जनसंख्याको ठुलो हिस्सा आवद्द भएता पनि समय सापेक्ष पेशा व्यवसायहरु परिवर्तित भईरहेका छन । 


यसरी विभिन्न तथ्यहरुको चिरफार गर्दा जिल्लामा आर्थिकरुपले सक्रिय जनसंख्याको भार अधिक हुदा हुदै पनि ठुलो संख्यामा बेरोजगार जमात रहेको छ भने रोजगार भएपनि अर्ध रोजगार, पर्याप्त आम्दानि गर्ने पेशा व्यवसायमा कम, जीविकोपार्जन तथा निर्वाहमुखी रोजगारमा बढी र समय परिस्थितिजन्य अनुरुपका रोजगार तथा व्यवसायमा संलग्न संख्या कम र कृषिजन्य पेशा व्यवसाय र रोजगारमा आवद्द संख्या बढी  देखिएको छ । उद्ध्योग, यान्त्रिक, प्रबिधिमुलक, शिक्षामुलक, राज्य संचालन संयन्त्रमुलक नोकरी, आवासीय होटेल एवं पर्यटनमुलक पेशा व्यवसायमा आवद्द हुने संख्याले अझै फट्को मार्न सकेको छैन ।

राज्यको प्राथमिकता र पहुँचको कमि, यातायात, शिक्षा, स्वास्थ्य, संचार, प्रविधिको पहुँच प्रयाप्त नहुनु, राज्यको लगानीको कमि, जिल्लामै लोक सेवा आयोग, शिक्षा सेवा आयोगको शाखा नहुनु, यातायातको अभावले ठुला र सुविधायुक्त उद्ध्योग, कलकारखाना स्थापना हुन नसक्नु, वैदेशिक रोजगारकालागि प्रक्रियागत रुपमा सरकारी तवरबाट नियमन गर्ने निकाय नहुनु र वैदेशिक रोजगारको महत्व आम जनताबीच व्यापकता नहुनु, पर्यटन व्यसायाकालागि जिल्लामा स्पष्ट खाका र योजनाका साथै पहल कदमी नहनु र जनस्तरमा लगानी अभाव, आवश्यक पर्यटन पूर्वाधारको व्यवस्था नहुनुका साथै यहाको सामाजिक, सांस्कृतिक एवं परम्परागत सोचं र विचारले अझै जनस्तरमा प्राथमिकता पाई जरा गाड्नु, चरम गरिवी र विकासको द्रुततर रुपमा गति लिन नसक्नु नै यसको प्रमुख कारणहरु हुन ।

माथिका कारणहरुको सम्बोधन गर्न विभिन्न तहमा रहेका सरकारका साथै यहाका सचेत जनसमुदाय, राजनीतिककर्मी, संचारकर्मी, बुद्दिजिवि र आम सर्वसाधारणले आआफ्नो तहबाट चासो लिई शिक्षा, स्वास्थ्य, सडक, जलाबिद्धुत, आधुनिक कृषिको विकासका साथै नविनतम प्रविधिको विकास र विस्तार तथा स्वदेशी बिदेशी लगानी भित्र्याउने किसिमको लगानी मैत्री वातावरण तय गर्न नीति निर्माण तथा कार्यन्वयन गर्न पहल गरेमा माथि उल्लेखित परम्परामा आधारित पेशा व्यवसायबाट माथि उठ्दै  आधुनिक र बढी आम्दानि सिर्जना हुने रोजगारमूलक पेशा व्यवसायहरु जस्तो पर्यटनको विकास गर्दै होटेल रेष्टुराँ, लज, ट्रेकिंग, राफ्टिङ्ग, रक क्लाईम्बिंग, पाराग्लईदिंगमा आधारित रोजगार, शैक्षिक रोजगारी, कृषि, पशु, उद्ध्योग, सूचना र संचार, प्रविधि, वितिय व्यस्थापन, कला,संस्कृति, ज्ञान र सिपमुलक पेशा व्यवसाय संचालनमा बृद्धी भै जिल्ला समग्र उन्नति हुदै सम्वद्धीको बाटोमा लम्किने छ । 

लेखक सामुदायिक विकास कार्यक्रम हुुम्लाका जिल्ला संयोजक हुन् । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!