'हेर ! खुरुक्क मान नत्र तँलाई यहिं सिध्याइदिन्छु' (सत्य घटनामा आधारित)

Posted on: 24 May, 2018

महेश नेपाली (जुम्ला) | मधेशदेखि मधेशसम्मको यात्रा प्रारम्भ हुनै आँटेको छ । साँझ ६ बजेको अन्तिम बस विरगंजदेखि बुटवलसम्म । ल आउनुहोस, आउनुहोस सिट सिमित छ । ड्राइभरले हर्न बजायो प्याँ प्याँ..... प्याँ प्याँ..... । खलासिले ढोकामा ढ्याक ढ्याक..... ढ्याक ढ्याक.....  हान्दै जाँउको संकेत गर्दै अरुपनि केहि बोल्दै थियो । त्यतिबेला पश्चिम नेपालका ७ जना यात्रीहरु बुटवल जाने बसभित्र थिए । उनिहरुको टिकटमा ५ देखि ८ (ए) साइड, ७ (बि) साइड र दुइवटा क्याविनका सिट नंम्बरहरु लेखीएको थियो । शुमन एक्लै बस्छ । चन्द्र र पर्शुराम क्याविनमा गए । अमन र पवन ७ र ८ नंम्बरका सिटमा बसे । उनिहरु बुटवलसम्मका यात्री हुन । ५ र ६ मा भावना र सुवाश बस्छन् । अमनले अलि पछि सबैलाई पुग्नेगरि पानी किनेर ल्याउछ । स्न्याक्स, कुरमुरे, चिप्सजस्ता खानेकुराहरु किनेनन् उनिहरुले ।

केहि समयपछि पवन कानमा एयरफोन लगाउदै एकोहोरीन थाल्छ । ऊ त्यस्तै हो खास गफिदैन । चन्द्र र पर्शुराम अगाडि हुन्छन् । कहिले काँही पर्शुरामको हाँसो पछाडिसम्म पनि आँउछ । किनभने उसँग चन्द्र छ । चन्द्र वाक्यैपिछे हँसाउछ । एक्लो शुमन सुतिसकेको हुन्छ । भावना र सुवास पछाडि फर्किन्छन् । अमन आफ्नो मुन्टो अगाडि तन्काउँछ । अनि गफिन थाल्छन् तिनजाना ।

अमनको अध्ययन गहिरो छ । त्यसैले उस्का कुरा सुनिरहुँ जस्ता लाग्छन् । उस्लाई इतिहास, राजनीतिशास्त्र, समाजशास्त्र, अर्थशास्त्र, भुगोल, विज्ञान आदिको राम्रो जानकारी छ । ऊ साहित्य पनि लेख्छ । अघिल्लो दिन होटलमा चिया पिउदै गर्दा उनिहरुलाई एउटा राम्रो कविता सुनाएको थियो । कवितामा उस्ले आफूलाई नरम हुने चाहना हुँदाहुँदै पनि आक्रोश पोख्नु परेको कुरा उल्लेख गरेको थियो । सायद त्यो कविता देशको राजनीतिक व्यवस्थाको प्रतिविम्ब हुनपर्छ । उनिहरु अमनकै कुरा बढि सुन्छन् । अमनले पनि उनिहरुलाई आफ्नो ठाउँको अनुभव सुनाउन लगाउँछ । तिनैजना आ–आफ्ना अनुभूति सुनाउछन् । मौनप्राय कोहि हुदैनन् । बसको रफ्तारसँगै उनिहरुको गफ तातिदै थियो । कुरा मिठा हुदै थिए । अरु यात्रुहरु सुतिसकेका थिए । उनिहरुलाई निद्रा लाग्दैन । गफिन छोड्दैनन् ।

पश्चिम नेपालको छाउपडि प्रथाबारे छलफल भयो । महिनावरी भएको वेला गोठमा बस्दा महिलाहरुलाई विभिन्न खालका रोगहरुको संक्रमण हुने, आहारमा हुने समस्या, सम्भावित बाह्य हमलाको शिकार बन्नुपर्ने आदि कुराहरु भावना र सुवाशले अमनलाई बताए । समग्रमा छाउपडि प्रथा सामाजिक विकृति हो । अमनलाई मध्य र सुदुरपश्चिममा कायम रहेको छाउपडि प्रथाबारे जानकारी भएपनि सबै कुरा थाहा थिएन । त्यहीवेला उस्ले निश्कर्ष निकाल्यो यो महिलाहरुमाथि हुने शोषणको अर्को रुप हो । सामन्तवादको अवशेष हो । सुवाश थप्छ धामी झाँक्रिहरुका कारण देवी देवता लाग्ने र पछि धोका हुने अन्धविश्वास हावी हुनुले पनि महिलाहरु महिनावरीको वेला घरमा बस्न डराउछन् । कम्युनिष्ट आन्दोलनको ६ दशक लामो इतिहासमा समाजिक मुद्दाहरु नउठ्नुले पनि अन्धविश्वास कायम रहेको हो । 

यस्ता थुप्रै प्रथाहरु छन् जस्का कारण महिलाहरु होलाहोचो खप्न बाध्य छन् । देउकि, दाइजो प्रथा जस्ता थुप्रै प्रथाहरुले । युगौंदेखि महिलाहरु प्रत्यक्ष, अप्रत्यक्ष हिंसाको शिकार बनिरहेका छन् । त्यस्तै एउटा हिंसाको कथा भावनाले सुनाउछे । पश्चिम नेपालको दैलेख जिल्लाको यथार्त कथा । तिलेपाटा ४ तर्कुको कथा । लक्ष्मी (नाम पविर्तन)को कथा । 

पातली, औषत उचाइकी, गहुँगोरो वर्णकी, सँधै अँध्यारो अनुहार लगाउने, मलिन स्वरमा बोल्ने, कहिले हाँस्दिनहोली जस्ती, हेर्दै मनमा ठूलो पिडा लुकाएकी जस्तै देखिने लक्ष्मी, ३० वर्षकी भई । के लक्ष्मी सँधै यस्तै थिई त ? अँह,,,,,, थिइन । बैंसमा लक्ष्मी निकै फरासिली थिई, हँसिली सबैसँग बोल्ने, सबैकी प्यारी । जब लक्ष्मीको बिहे भयो त्यसपछिका उज्याला दिनहरुमा पनि ऊ अँधेरी हुन थालेकी हो । हेर्दै पिडा मिश्रित मुहार देखिन थालेको हो । काममा ऊ सिपालु थिई । लक्षिनकी । आफू सँधै सफा रहने । घर आगन सँधै सफा राख्ने । उस्को दुइटा छोरा छन् । जेठो ११ वर्षको र कान्छो ९ वर्षको । लोग्ने विदेशमा छ । लोग्ने विदेश गएको ८ वर्ष भैसकेको थियो । घरमा सम्पर्क थिएन । ऊ निश्ठुरी भएको थियो । भनौं न वास्ता गरेन । चार पाँच मैना अगाडी भने उस्ले घरमा सम्पर्क गर्यो । आफ्नी स्वास्नीको अवस्था बुझ्यो । हालखवर सोध्यो । सन्चो विसन्चो सोध्यो । आफू घर आउने कुरा गर्यो । लक्ष्मीको मनमा थोरै आशा पलायो ।

सासु ससुरासँग लक्ष्मीको राम्रो सम्बन्ध थिएन । उ छुट्टिएर बसेकी थिई । अंश भने पाएकी थिइ । घरमा बुहारीको दर्जा मिलेन । हरेक काममा जस भन्दा बढि अपजस पाउन थाली । उसलाई बुहारी भन्दापनि नोकरको व्यवहार हुन थाल्यो । काम गर्दा पनि खाना नदिने, दिएपनि आधा पेट मात्रै दिनेजस्ता कारणले उस्को मन कुडीएको हुन्छ । हदभन्दा बढि सहन नसक्ने मानवीय स्वभाव नै हो । उस्लेपनि सहन सकिन । त्यसपछि छुट्टिएर बस्न लागेकी हो । अंश नपाएपनि उस्को घरव्यवहार चलेकै थियो । छोराहरुलाई एक गास खुवाएकै थिई । मान्छे भोको मर्दैन भन्ने कुरा उस्लेपनि देखाइदिएकी थिई र पनि सुख पाइन । सासु, ससुरा, देवरहरुले घोचपेच गरीरहन्थे ।

एक पटक लक्ष्मी बिरामी भई । लामो समय थला परि । कसैले वास्ता गरेनन् । गाउँकै ससुरा नाता पर्नेले यो सहन नसकेर सुर्खेत लगेर उपचार गराइदिए । उनले ठूलो गुन लगाए । त्यसैले पनि उनिसँग लक्ष्मी नजिक भइन । कहिलेकाही सहयोग माग्थिन् , आफूपनि सकेको सहयोग गर्थिन् । समाजिक संरचना यस्तै त हो । त्यसैले उनिहरुको घरमा आइजाई भइरहन्थ्यो । गाँउलेहरुले यहि कुरामा वात् लगाए । लक्ष्मीबारे अनावश्यक कुरा गर्न थाले । उस्को नैतिकता माथि प्रश्न गर्न थाले । सहयोग गर्दा उल्टो वात् लगएपछि ती ससुरा लक्ष्मीकोमा आउन र  सहयोग गर्न छोडे । त्यसपछि लक्ष्मीलाई हेप्नेहरुको संख्या बढ्यो । उनलाई पुरै असहयोेग हुन थाल्यो । समाजिक बहिस्कारमा परिन् । गाउँका ठालु भन्नेहरुले नै लक्ष्मीबारे अनावश्यक कुरा गर्न लागे । कतिले निउ थापि थापि झगडा गर्न थाले । एक्लि ऊ प्रतिकार गर्न सक्दिनथी । दिनै पिछेको कचकच सहन नसकेर ऊ माइत वस्न थाली ।

पछिल्लो समय लाग्नेले सम्पर्क बढाएको थियो । एकदिन उस्ले लक्ष्मीलाई माइत नबस भन्यो । तँ माइत बसिस भने घरपरिवारले मलाई राम्रो मान्दैनन्, बरु दुःख सहेर घरमै बस तर माइत नबस भन्यो । लोग्नेका कुरा काट्न नसकेर ऊ फेरी घर आई । यता व्यवहार फेरीएको थिएन । हेप्न छोडिएको थिएन । देवर दिउसो झगडा गथ्र्यो । तथानाम गाली गथ्र्यो । भन्ने नभन्ने भन्थ्यो । तर साँझ भने उस्कै भान्सामा पसेर जे भट्यो तेहि खाइदिन्थ्यो । ऊ केही बोल्दीनथी । 

देवरले एकपटक रक्सि खाएर उस्का कपडा जलाइदियो । झुण्ड्याएर मार्दिन्छु भन्यो । सामान्य प्रतिकार गर्दा कुट्न आयो । लक्ष्मीलाई बेस्सरी कुट्यो । गाउँका कोहिले नकुट भनेनन् । सबै मुखदर्शक बनेर हेरीरहे । सासु ससुराले ठिक गरिस् भने । उस्को आँट झन् बढ्को थियो । त्यसैले कुट्न छौड्दैन । लक्ष्मीका छोराहरु रोइरहेका हुन्छन् । जेठो छोरो रुदैं प्रहरी चौकिमा जान्छ । उजुरी गर्छ । प्रहरी आउछन् । देवलाई लिएर जान्छन् । लक्ष्मीलाई पनि बोलाउछ प्रहरीले । गाँउका ठालूहरु पनि जान्छन् । चौकिमा छलफल हुन्छ । शरिरमा निलढाम हुनेगरी कुट्नेलाई अबदेखि यसो गर्दिन भन्न लगाएर छोडाउछन् । यति हुँदापनि ऊ लक्ष्मीकोमा आउन छोड्दैन ।

लोग्नेले फेरी सम्पर्क गर्दा उस्ले देवरको व्यवहार बताई । साँझ ऊ घर आउदा आफूलाई डर लाग्ने कुरा गरी । लोग्नेले सहानुभती देखायो । नडराउन भन्यो । मेरो आफ्नो भाइ हो, धेरै शंका नगर भन्यो । बरु एउटा योजना सुनायो । अब म पैसा पठाउँला छोराहरुलाईलाई पढ्न पठाउनु भन्यो । लोग्नेको कुरा मानी उस्ले । छोराछहरु सुर्खेत पढ्न गए । ऊ घरमा एक्ली भई । देवरले आफ्नो बानी छोडेको थिएन । ऊ त्यसैगरी आँउथ्यो भान्सामा भएको खान्थ्यो, जान्थ्यो । ऊ केही बोल्दिनथी । सहेर बस्थी । मुखदर्शक बन्थी । यहि उस्को नियमितता थियो ।

लक्ष्मी सुतिसकेकी थिई । ढोका बन्द थियो । ढोकामा भित्रबाट छेस्किन लगाएको थियो । ढोका ढकढक... ढकढक.... बजेको आवाज सुनिन्छ । त्यहि आवाजले ऊ बिउझन्छे । ढोका खोल... ढोका खोल.... परिचित आवाज आँउछ । देवर रहेछ । यति राति किन आयौ ? गैहाल । ढोका खोल्दिन । लक्ष्मी कराउछे । छिटो ढोका खोल नत्र ढोका सोका..... बाहिरबाट धम्कि आउछ । के काम छ ? यति राति अरुको कोठामा आउन लाज लाग्दैन ? ऊ रिसाउछे । तर देवर जान्न । हँसिया लिएर आएको रहेछ । ढोकाको चराबाट हँसिया भित्र घुसाएछ । तारले बनाएको छेस्किन काटियो । ऊ भित्र पस्यो । 

लक्ष्मी डराइरहेकी हुन्छे । देवरसँग अर्को केटा पनि आएको हुन्छ । ढोका खोल्ने वित्तिकै भान्सा आउछ त्यहाँ एउटा खाट छ । भान्साबाट भित्र अर्को कोठा छ । त्यहिं लक्ष्मी सुतिरहेकी हुन्छे । भान्साको खाटमा त्यो केटा बस्छ । देवर ऊ सुतिरहेको ठाँउमा आउछ र सिधै समाउछ । उस्ले प्रतिकार गर्छे । आफूले सकुन्जेल । उ चिच्याउछे, कराउछे कसैले सुन्दैन । पछि देवरले हसिया देखाउदै भन्छ ‘हेर खुरुक्क मान नत्र तँलाई यहिं सिध्याइदिन्छु कसैले देख्दैन ।’ लक्ष्मी थाकिसकेकी हुन्छे । उस्का हात खुट्टा चल्न छोड्छन् । त्यसपछि देवरले मनलाग्दो गर्छ । लक्ष्मीका आँखाबाट आँसुका बलिन्द्र धारा बग्छन् । उस्ले देवी देवता पुकार्छे, गाउँले पुकार्छे, सजिव, निर्जिव सबैलाई पुकार्छे, ढुंगा पुकार्छे, माटो पुकार्छे, जनावर, बोटविरुवा, आगन नजिकको वरको रुख, त्यो पारी गाँउ नजिक सुसाउने खोला सबैलाई पुकारी र भनि मलाई बचाउ । तर कसैले सुनेनन् । उस्ले सोचि सबै मरे, गाँउले मरे, जनावर मरे, देवी देवताको आश मर्यो, वर सुक्यो, खोलो सुक्यो । तर उस्को आँखाबाट बगिरहेको आँसुको भेल सुकेन । सबका सब मरे । त्यसैले त ऊ आफ्नो देवरबाट बचिन ।

ऊ रोइरही,,,,,, रोइरहि,,,,, बस रोहरहि । त्यहि वेला देवर फेरी बोल्यो ‘हेर यो कुरा कसैलाई नभन्नु, म तिमीलाई बिहे गर्छु, पाल्छु, छोराहरुलाई मै हेरौंला, दाई घर आउनेवेला काठामाण्डौ आउनेवित्तिकै उस्लाई मार्दिउला ।’ ऊ केहि बोलिन त्यसपछि देवर गयो ।

यति सुनाउदै गर्दा भावना निकै भावुक भैसकेकी हुन्छे । प्रष्ट स्वरमा कथाको सुरुवात गरेर बोलीरहेकी भावनाको स्वर क्रमश धमिलिदै गैरहेको हुन्छ । ऊ निराश देखिन्छे । अनुहारको चमक हराउँछ । अमन र सुवाश लामो सास फेर्छन् । भावना अगाडी बोल्दै जान्छे ।

लक्ष्मीको आँसु रोकिएको थिएन । च्यातिएको ब्लाउज, छरप्रष्ट कपाल, धोती केहि मिलाइन । एउटा पछ्यौराले शरिर छोपि । झिसमिसे अँध्यारोमा सबैभन्दा पहिला ऊ सासु ससुराकोमा आई । आफ्नो अवस्था अवगत गराई । के गरौं भनि ? सासु ससुराले उल्टो झपारे, तँ यस्तै होस् भनेर आरोप लगाए । जेसुकै गर् मरे मर्, बाँचे बाँच् । बचन लगाए । त्यसपछि ऊ राकम नन्दको श्रीमानकोमा गई । उस्ले पनि वास्ता गरेन । लक्ष्मीलाई नै गलत भन्यो ।   

ऊ हिँडी । अब बाँच्ने आशा मर्यो । कर्णाली नदितिरको बाटो लागि मर्नलाई भनेर । सरासर हिंडिरही । त्यहि वेला घट्ट गएर फर्किएका माइतमा उस्का काका भेटिए । काकाले उस्को अनुहारबाटै ऊ समस्यामा रहेको थाहा पाइहाले । सोधे के भयो भनेर ? उ बोलीन, केहि बोलीन । काकाले निकै कर गरे पनि बोल्दै बोलीन । केवल आँसु बगाइरही । रोइरही । काकाले भरोसा दिए । के भयो भन ? हामी छौं तिम्रा माइति मरेका छैनन् भने । त्यसपछि लक्ष्मीले आफ्नो वृत्तान्त सुनाई ।

काकाले उस्लाई सदरमुकाम लगे । प्रहरी कार्यालयमा उजुरी दिए । अस्पताल लगेर चेक जाँच गराए । आवश्यक पर्ने सबै प्रमाण जुटाए । उनलाई लक्ष्मीको गाँउबाट हर्क बहादुरको फोन आउछ । ऊ गाउँको नेता हो, उस्को पार्टी सरकारमा छ । बजारमा उस्को पहुँच छ । पावर चल्छ । गाउँमा निकै फूतिफार्ती लगाउछ । धेरै मान्छे उस्का पछि लाग्छन् । त्यसैले लक्ष्मीको देवर र उस्का परिवारले उसैलाई भनेको हुनुपर्छ । फोनमा उस्ले गाउँको कुरा गाउँमै मिलाउ भन्छ । लक्ष्मीले गरेको कुरा झुटो हो भन्छ । दबाव दिन खोज्छ । तर काकाले मान्दैनन् । 

प्रहरीले लक्ष्मीको देवर र अर्को केटा दुबैलाई हिरासतमा राख्यो । एक-दुई दिनको अनुसन्धानपछि त्यो अर्को केटालाई छोडिदियो । दिदी माथी घटेको घटना थाहा पाएपछि लक्ष्मीकी बहिनी बजार आई । भावना आफै पनि सक्रिय भई । सबैले उस्लाई भरोसा दिए । हिक्मत नहार्न भने । अपराधीलाई सजाय दिलाएरै छोड्ने अठोट गरे । यो कुरा विदेशमा भएको लोग्नेलाई सुनाए । लोग्नेले उति वास्ता गरेन । लक्ष्मीको मन शान्त थिएन । ऊ वेलावेला मुर्छा पर्थी । उस्को शरिरको रगत सुक्दै गएको थियो । ऊ सेति भएकी थिई ।

केश अदालत गयो । लामो बहस पछि मुद्दा फैसला भयो । मुलुकी ऐन जवरजस्ती करणी महलको ३ नं.को देहाय ५ बमोजिम कैद वर्ष ५ (पाँच) र मुलुकी ऐन जवरजस्ती करणी महलको १० नं बमोजिम पिडितले प्रतिवादीबाट रु. १० हजार क्षेतिपूर्ती पाउने गरी फैसला सुनाईयो ।

यतिवेला भावनाको अनुहारमा निराशाको धर्सा होइन आवेग उक्लिएको हुन्छ । ऊ रिसले मुर्मुरिएकी हुन्छे । रातो अनुहार लगाउदै भन्छे सरकारी वकिलले बेइमानी गर्यो । मुद्दा जबरजस्ती करणीको मात्र होइन हाडनाता करणीको पनि लगाउनु पथ्र्यो । पछि वकिलसँग कुरा गर्दा पुनरावेदन गरौंला भनेछ । तर वकिल सक्रिय छैन ।

फेरी लामो सासपछि अमन बोल्छ अब महिलाहरुको अधिकारको निम्ति महिलाहरु नै अगाडी आउनु पर्छ । माक्र्सले मजदूर वर्गको हित मजदूर वर्गले मात्र गर्न सक्छ भनेजस्तै । महिला वर्गको हित महिला वर्गले नै गर्न सक्छ । अव मलिाहरुले नै इतिहास, दर्शन, राजनीतिशास्त्र, अर्थशास्त्र, कानुन पढ्नुपर्छ । नेतृत्व तहमा महिलाहरु आरक्षणको कोटाबाट होइन प्रतिस्पर्धाबाट आउनुपर्छ । प्रश्न गर्छ भेरी कर्णालीमा कम्युनिष्ट पार्टी स्थापनाको लामो इतिहास छ । तर किन कम्युनिष्ट कार्यकर्ताहरुले छोरीहरुलाई पढाउनपर्छ भन्ने विषयमा ध्यान दिएनन् ? त्यहि समयका छोराहरु लगभग पढेलेखेका छन् । अन्यायले सिमा नाघ्दा पनि लक्ष्मी सहेरै बस्नुले पुरुषहरुले जे गर्दापनि त्यसको प्रतिकार गर्न हुन्न भन्ने मानसिकताको विकास भएको छ । किन कार्यकर्ताहरुले महिला पुरुष समान हुन् भन्ने कुराको प्रचार गरेनन् ? यदि उनिहरुले छोरीहरुलाई पढ्न पठाएको भए । लक्ष्मी र लक्ष्मी जस्ता महिलाहरुले पनि राजनीतिबारे चासो राख्थे । केही कुरा बझ्ने र त्यसको प्रचारप्रसार गर्ने हुन्थे । उनिहरुमा विद्रोही भावनाको विकास हुन्थ्यो । शसक्त ढंगबाट प्रतिकार गर्न सक्थे । यसरी अन्यायको पराकाष्ट देख्नुपर्ने थिएन । 

लक्ष्मीमाथी घटेको घटना संयोगले बाहिर आउन पायो । लक्ष्मी जस्ता थुप्रै पिडित महिलाहरुको घटना अहिलेपनि बाहिर आउन सकिरहेको छैन । किन छाउपडि प्रथालाई महिलाहरुको प्रजनन परिपक्वतासँग गाँस्न सकेनन् ? यसमा त्यहाँका अगुवाहरुको दोष छ । के उनिहरु त्यतिवेला अरु पार्टी नपाएर कम्युनिष्ट पार्टीमा लागे त ? अमनले यति भन्दै गर्दा सुवाश होमा हो थप्छ र मनमनै अपरिचित लक्ष्मीको काल्पनिक चित्र बनाउन थाल्छ । उदास अनुहार भएकी लक्ष्मीको चित्र । आजभोली लक्ष्मी के गर्दै होली ? उस्को हालत कास्तो होला ? के उस्को मनले शान्ति पाएको होला त ? आफैले आफैमाथी प्रश्नको वर्षाद गराउछ । त्यसैवेला भावना मनमनै अठोट गर्छे अब म राजनीतिशास्त्र र कानुन पढ्छु ।

मितिः २०७३ कार्तिक १६ 

यस बिषयमा तपाइको प्रतिक्रिया...!