नेपाली मार्क्सवाद, संयुक्त राज्यसत्ता र समाजवादी निर्वाचन प्रणाली

Posted on: 27 Apr, 2020

गोपाल किराती | विश्व कम्युनिष्ट आन्दोलनमा सामान्यत: स्टालिन र विशेशत: माओको निधनयता क्रान्ति  गर्ने र प्रतिक्रान्ति  रोक्ने विचार र विधि विकासको प्रश्नमा ´अर्ध बिराम` लागे सरह स्थिति प्रतीत हुन्छ । जसलाई, साम्राज्यवादीहरु ´पूर्ण बिराम` को ढोल पिटाई गरिरहेछन । परन्तु, गतिशील मार्क्सवादमा पूर्ण बिरामको स्थान हुदैन, भन्दै नेकपा (माओवादी केन्द्र) ले आफ्नो आठौं महधिवेशनबाट क्रान्ति गर्ने र प्रतिक्रान्ति  रोक्ने विचार निर्माण प्रकृया उद्घाटन गरेको छ, र अपेक्षित परिणाम हासिल पनि गरिरहेको छ। नेपालमा माओवादी कम्युनिष्ट आन्दोलनको विचार, भावना र ऐतिहासिक विरासतलाई दृढ निरन्तरता दिन नेकपा (माओवादी केन्द्र) द्वारा विकास गरिएका नवीन विचारहरुको सैद्वान्तिक आधार र राजनीतिक कार्यक्रम यहाँ प्रस्तुत छन्: 

१. नेपाली मार्क्सवाद

"मार्क्सवादको रक्षा, प्रयोग र विकास"  भन्ने प्राथमिकताक्रममा पार्टी पुनर्गठनबाट सचेत क्रमभंग गरियो, जुन आधारभूत प्रश्न हो । यस अघि रक्षापछि दोस्रो स्थानमा "प्रयोग" राखिने गरेको थियो। तर, त्यसले यो समश्या उत्पन्न गर्यो कि कम्युनिष्ट आन्दोलन भन्दै मदन भण्डारीले एउटा भङ्गालो संसदवादमा विसर्जन गरे भने फेरी अर्को भङ्गालो प्रचण्ड-बाबुरामले त्यही संसदवादमा विसर्जन गराए । यस्तो  नकारात्मक  पृश्ठभूमिमा नेपालमा मार्क्सवादको प्रयोगको अर्थ स्वत: संसदवाद मात्र हुन्थ्यो। अत: नेकपा (माओवादी केन्द्र) ले रक्षापछिको दोस्रो प्राथमिकतामा "विकास" को स्थान सुनिश्चित गरियो । अब स्वभाविक रुपमा "प्रयोग" तेस्रो प्राथमिकतामा रह्यो । यसरी नेकपा (माओवादी केन्द्र) को कार्य प्राथमिकताक्रम "मार्क्सवादको रक्षा, विकास र प्रयोग" हुन पुग्यो। यसलाई "विकाससहितको प्रयोग" भन्न सकिन्छ ।

उपरोक्त खोज पार्टीको दार्शनिक पुनर्गठन थियो । जसले, विध्यमान दुनियाँमा नेपाली समाजलाई नयाँ ढंगले हेर्न, बुझ्न र बदल्न वैज्ञानिक दिशानिर्देश गर्दछ ।

दिग र कालको प्रश्नमा उपरोक्त खोज सर्वप्रथम नेपाली विशिष्टताका निमित्त हो । जसलाई, "नेपाली विशिश्टतामा मार्क्सवादको विकास" अथवा संक्षिप्तमा "नेपाली मार्क्सवाद" भन्न सकिन्छ । यही प्रस्थापनामा नेपालमा मार्क्सवादको विचारात्मक विकासको सैद्वान्तिक आधार निम्न छन: 

१. "सिद्वान्त प्रकृति र समाजमाथि थोपर्ने होइन, बरु त्यसबाट झिकिन्छ"- भन्ने ड्युहरिङ मत-खण्डनमा ब्यक्त फ्रेडरिक एङ्गेल्सको विचार । जसले, मार्क्सवादको सार्वभौमिकता मातहत विशिष्ट महत्वको  नेपाली विचारधारा निर्माण गर्दछ ।

२. "क्रान्ति  बेलायतमा एक किसिमले हुन्छ भने फ्रान्समा अर्को किसिमले, फ्रान्समा एक किसिमले हुन्छ भने जर्मनीमा अर्को किसिमले, जर्मनीमा एक किसिमले हुन्छ भने रुसमा अर्को किसिमले हुन्छ"- भन्ने लेनिनको विचार। जसले, क्रान्तिको "नेपाली किसिम" निर्माण गर्न निर्देशित गर्छ ।

३. "यूरोपको इतिहास पनि पढ्नुपर्छ । तर, मुख्यत: चीनको इतिहास पढ्नुपर्छ, किनकि  हामी चीनमा क्रान्ति गरिरहेका छौं"- भन्ने माओको विचार । जसले, नेपाली क्रान्तिका निमित्त नेपाल पढ्न जोड दिन्छ ।

४. नेतृत्वको प्रश्न अत्यन्त जटिल, समवेदनशील तथा प्रतिकुल समेत रहँदै आएको छ। समधानमा आठौं महाधिवेशनले नेतृत्वको सर्वहारा रुपान्तरणका लागि "त्यागको दर्शन" विकास गरियो। जस अन्तर्गत पार्टी नेतृत्वमा रहने सबैले धनलोलुपता, सत्ता सुबिधा, पारिवारिक  भोगबिलास र मृत्युको भय त्याग आदि पर्दछन्। आधारभूत रुपमा एकता-संघर्श-रुपान्तरण र नयाँ आधारमा नयाँ एकता नै हो। तर, त्यसमा एक विशिष्ट शर्त "त्यागको दर्शन" थप गर्नैपर्छ ।

२. संयुक्त राज्यसत्ता निर्माणको कार्यक्रम

माओवादी केन्द्रको आठौं महाधिवेशन अनुसार चरणबद्व समाजवाद नेपाली क्रान्तिको राजनीतिक कार्यदिशा हो। प्रारम्भिक चरणको समाजवाद राष्ट्रिय  आयामको हुनेछ, जसले दलाल तथा नोकरशाही पुजीलाई मात्र राष्ट्रियकरण गर्दछ । भने विकसित चरणको समाजवाद अन्तराष्ट्रिय आयामको हुनेछ, जुन वस्तुत: वैज्ञानिक समाजवाद हो । यसरी तीन कार्यभार ( देशीय स्वाधीनता, पहिचान आधारित जनवाद र जनजीविका) सहितको समाजवादी क्रान्ति  नेपाली क्रान्तिको राजनीतिक कार्यदिशा हुनेछ ।

लेनिनको समयमा जस्तो लाखौं औधोगिक मजदुरहरु र माओ तथा पुष्पलालको समयमा जस्तो लडाकु किसान सेना उपलब्ध नहुने वर्तमान नेपालमा राजनीतिक संयुक्तमोर्चा बृहत्तर विकसित गर्नुपर्छ ।  अत: माओवादी केन्द्रले  क्रान्ति अघि सडक आन्दोलन हुँदै निर्वाचन उपयोगको साधन र क्रान्तिसंगै सत्ताको साधनमा बदलिने गरी श्रमिकवर्ग, जाति , क्षेत्र, महिला र देशभक्तहरु (पाँच जनसमुह) को संयुक्त राज्यसत्ता निर्माणको राजनीतिक कार्यक्रम अख्तियार गरेको छ । स्मरण रहोस, "संयुक्त राज्यसत्ता" को प्रश्न सर्वहारावर्गीय नेतृत्वमा पाँच जनसमुहको संयुक्त अधिनायकत्वसंग सम्बन्धित छ ।

३. समाजवादी निर्वाचन प्रणाली


नेपालको संविधान-०७२ ले व्यवस्था गरे बमोजिमको राज्यसत्ता दलाल तथा नोकरशाही पुजीवादी राज्यसत्ता हो । यसका यावत पुराना संयन्त्रहरु यथावत राखिनुका साथसाथै मुख्यत: निर्वाचन प्रणाली दलाल पुजीवादी रहेको छ, र ब्यवहारमा त्यही निर्वाचन प्रणालीले दलाल तथा नोकरशाही पुजीवादलाई मजबुत पारिरहेको छ। अत: माओवादी कम्युनिस्टले दलाल पुजीवादी निर्वाचन प्रणाली बिरुद्व आक्रमणलाई निर्णायक बनाउदै  श्रमिकवर्गीय समाजवादी निर्वाचन प्रणाली स्थापित गर्न सडक आन्दोलन सुदृढ गर्नुपर्छ ।

मार्क्सवादी सारतत्वमा समाजवाद भनेको श्रमिकवर्गको सत्ता हो । अत: नेपालमा ६५% किसान जनसंख्या रहेको हुँदा संघीय प्रतिनिधिसभामा ६५% किसानको प्रतिनिधित्व सुनिश्चित गर्नुपर्छ । २१% मजदुर जनसंख्या रहेजो हुँदा २१% मजदुरको र बाँकी १४% देशभक्त पुजीपतिको प्रतिनिधित्व सुनिश्चित गर्नुपर्छ। यस्तो तीन वर्गीय समानुपातिक प्रतिनिधित्व प्रणालीले स्वत: श्रमिकवर्गको सत्ता निर्माण गर्दछ ।

त्यही तीन वर्गभित्र महिलाको ५०% र देशका सबै जातिहरुको जनसंख्याको पूर्ण समानुपातिक आधारमा प्रतिनिधित्व प्रणाली नै समाजवादी निर्वाचन प्रणाली हो । 

उत्पीडित क्षेत्रको हकमा उत्पीडित क्षेत्र निर्धारण गरी प्रत्यक राजनीतिक दलले तोकिएको संख्यामा उत्पीडित क्षेत्रको उमेद्वार दिनुपर्ने निर्वाचन ऐन व्यवस्था गर्न सकिन्छ ।

निर्वाचन क्षेत्रको प्रश्नमा संघीय प्रतिनिधिसभाको लागि समग्र देशलाई एउटै निर्वाचन क्षेत्र बनाइनुपर्छ । 

उपरोक्त समाजवादी निर्वाचन प्रणालीले प्रथम- जुनसुकै पार्टीबाट भए पनि ८६% मजदुर-किसानको प्रतिनिधित्व सुनिध्चितताले श्रमिकवर्ग, जाति र महिलाको न्यायपूर्ण सत्ता निर्माण गर्छ, दोस्रो- दलाल तथा नोकरशाही पुजीवादलाई ध्वस्त पार्छ र तेस्रो- देशमा नयाँ राष्ट्रिय  एकीकरण सम्पन्न गर्छ ।

४. सामरिक कार्यदिशा

नेपाली वर्गसंघर्षको सामरिक कार्यदिशा महान जनबिद्रोहको रणनीति र शान्तिपूर्ण सडक आन्दिलन हुँदै निर्वाचन उपयोगको कार्यनीति हुनेछ । आधार ईलाकासहित दीर्घकालीन जयुद्व नहुने परिस्थितिका कारण महान जनबिद्रोहको तयारीको चरणमा निर्वाचन उपयोग नै वस्तुवादी कार्यनीति हुन्छ ।

तयारी र अभ्यासको चरणमा देशभक्त जनसेना निर्माणको प्रश्नले  अपरिहार्य महत्व जाहेर गर्छ ।

५. देशभक्त जनप्रतिरोध क्रान्ति 

नेपाली क्रान्तिका दुई अभिन्न आयाम रहेका छन् । आन्तरिक रुपमा जनवाद र जनजीविका सुनिश्चित गर्न समाजवाद र बाह्य रुपमा साम्राज्यवाद तथा बिस्तारवाद बिरुद्व प्रतिरोध संघर्षका लागि देशभक्तिपूर्ण आन्दोलन नै ती आयाम हुन । जसको, एकीकृत स्वरुप वैज्ञानिक सारतत्वको देशभक्त समाजवाद हुन पुग्दछ । 

देशभक्त समाजवाद हासिल गर्न  नेकपा ( माओवादी केन्द्र) ले टिष्टा-कांगडा फिर्ता आन्दोलनको मुद्दा उठान गरेको छ । सन् १८१६ को सुगौली सन्धिले नेपालको राष्ट्रिय  आत्मनिर्णयको अधिकार कुण्ठित गर्ने, आदिवासी समुदायका युवाहरुलाई बैदेशिक सेनामा लखेट्ने र नेपालको भूमि अंग्रेज-भारतलाई सुम्पने अपराध गर्यो। त्यस बिरुद्व अबको पुस्ताले देशभक्त जनक्रान्ति उठान गर्नुपर्छ । 

नेपाली कम्युनिष्ट आन्दोलनमा सुगौली सन्धिदेखि अर्ध-औपनिवेशिक अवस्था थोपरिएको इतिहास विश्लेषण गर्दै स्वाधीनता भने सन १९५० को असमान सन्धि खारेजीको मागबाट गर्ने हाँस्यास्पद कार्य हुँदै आएको छ । अग्रजहरुको त्यस्तो निकम्मापनमा क्रमभंग गर्दै सन १८१६ देखि नै स्वाधीनताको आन्दोलन उठान गर्ने वैज्ञानिक नीति लिनुपर्छ । त्यस्तै, राष्ट्रियताको नारा दिनेहरुले आफुलाई कहिल्यै राष्ट्रिय  क्रान्तिमा केन्द्रीत गरेका छैनन् । जबसम्म राष्ट्रिय  क्रान्ति गरिदैन, तबसम्म यहाँ दलाल पुजीवाद नै हावी भैरहने कुरामा संका रहँदैन । त्यसैले घरेलु दलाल तथा नोकरशाही पुजीवाद र अमेरिका तथा भारतीय आक्रमणकारी हस्तक्षेप बिरुद्व नेपालमा देशभक्त जनक्रान्तिले मात्र वैज्ञानिकता अभिब्यक्त गर्छ । 

नेपाली क्रान्तिको वस्तुस्थितिमा नेकपा (माओवादी केन्द्र) द्वारा विकसित उपरोक्त विचारहरु वस्तुत: नवीन तथा वैज्ञानिक छन । यो भन्दा "नयाँ" खोज्नेहरु मार्क्सवाद छाडेर पुजीवादी कित्तामा पलायन हुने अवसरवादीहरु मात्र हुन सक्छन् ।


- लेखक किराती नेकपा माओवादी केन्द्रका अध्यक्ष हुन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!