मृत भेटिएका शिशिरको हत्या गरिएको आशंका, एक पक्राउ

Posted on: 07 Oct, 2017

असोज २१, चितवन । भरतपुर महानगरपालिका–१४ सुन्दरबस्तीस्थित सडक छेउमा मृत भेटिएका शिशिर नेपालीको हत्या भएको प्रहरी अनुसन्धानले देखाएको छ । 

चितवनका प्रहरी उपरीक्षक दीपक थापाका अनुसार कत्र्तव्य गरी हत्या गरेको आरोपमा भरतपुर–२२ बस्ने स्थानीय होटल सञ्चालक ३४ वर्षका खेमबहादुर गुरुङलाई पक्राउ गरिएको छ । 

नेपालीका परिवारले जिल्ला प्रहरी कार्यालय चितवनमा उनीविरुद्ध लिखित उजुरीसमेत दिएका छन् । उनलाई कत्र्तव्य ज्यान मुद्दामा म्याद थप गरी अनुसन्धान अघि बढाइएको प्रहरी उपरीक्षक थापाले आज जानकारी दिनुभयो । 

यही असोज १६ गते साँझ घरबाट हराएका रामबहादुर नेपालीका २० वर्षीय छोरा शिशिर नेपालीलाई असोज १७ गते घर नजिकैको सडक छेउमा मृत अवस्थामा फेला पारिएको थियो । 

मादक पदार्थ सेवन गरेर पटकपटक होहल्ला गरेपछि होटल सञ्चालकले कत्र्तव्य गरी हत्या गरेको अनुसन्धानबाट खुल्न आएको प्रहरी उपरीक्षक थापाले जानकारी दिनुभयो । प्रत्यक्षदर्शीको भनाइ उद्धृत गर्दै थापाले पटकपटक उनलाई गुरुङले सडकमा घिसारेको बताउनुभयो । 

प्रहरी हिरासतमा रहेका गुरुङले भने अन्तै मदिरा खाई होटलमा होहल्ला गरेपछि घिसारेर बाहिर पठाएको स्वीकारेको प्रहरीले जनाएको छ । सडक छेउमा मृत भेटिएका उनको टाउको र कन्चटमा चोटसमेत देखिएको थियो । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!