अस्पताल सरसफाइमा खट्दै अस्पतालका प्रमुख

Posted on: 31 Jan, 2022

माघ १७, चितवन | हरेक सोमबार बिहान ७ बजे भरतपुर अस्पतालका प्रमुखको नेतृत्वमा अस्पताल सरसफाइ हुने गर्दछ । एक घण्टासम्म अस्पतालका कर्मचारीसँग सरसफाइ गरेपछि चिया नास्ता लिँदै सरसफाइसम्बन्धी नै भलाकुसारी हुने गर्दछ । 

यो अभियान एक दिनको सरसफाइका लागि मात्रै नभएर सरसफाइको निरन्तरका लागि हो । कमीकमजोरी पहिचान गर्ने, त्यसको समाधानको खोजी गर्ने मात्रै होइन, सफाइको दीर्घकालीन समाधानका बारेमा पनि छलफल चल्ने गर्दछ । गत वर्षबाट सुरु भएको यो अभियानमा अस्पताल विकास समितिका अध्यक्ष डा भोजराज अधिकारी, मेसु प्रा डा कृष्णप्रसाद पौडेलसहित अस्पतालका कर्मचारी र विभिन्न सामाजिक सङ्घसंस्थाका प्रतिनिधिहरुको उपस्थिति हुने गर्दछ । पछिल्ला केही साता मेसु पौडेलको नेतृत्वमा अस्पतालका कर्मचारी मात्रै सहभागी हुँदै आएका छन् ।

पौडेलले भन्नुभयो, “हामीले यस अभियानलाई निरन्तरता दिएका छौँ, जसले अस्पतालको सरसफाइमा सहयोग पुगेको छ ।” आफू स्वयं उपस्थित हुँदा  सरसफाइकर्मी र अन्य कर्मचारीसमेत सक्रिय रुपमा सहभागी हुने गरेको उहाँको भनाइ छ । पौडेलले अगाडि थप्नुभयो, “एक दिनको सफाइ मात्रै भएको छैन, सरसफाइकर्मीलाई हौसला पनि मिलेको छ ।”

सरसफाइका कर्मचारीसँग अन्य समयमा भेट नहुने बताउँदै उहाँले भन्नुभयो, “उनीहरुको गुनासा सुन्ने, सम्बोधन गर्ने काम यही अभियानबाट भएको छ ।” सरसफाइसँगै बसेर चिया नास्ता खाँदा उनीहरुले आफ्ना गुनासा राख्ने अवसर पाएको पौडेलको भनाइ छ । यस अभियानले अस्पताललाई सफा राख्नुपर्छ भन्ने जागरण सिर्जना भएको उहाँ बताउनुहुन्छ ।

सरकारी अस्पताल भएकाले सेवाग्राहीले फोहर बिसर्जनलाई महत्व नदिने हुँदा ठाउँठाउँमा फोहर हुने गर्दछ । अभियान सुरु गर्नुअघि अस्पताल फोहर हुने गरेको निकै धेरै गुनासो आउने गरेकोमा केही सम्बोधन भएको पौडेलले जानकारी दिनुभयो । गत वर्ष सुरुआती चरणमा सामाजिक सङ्घसंस्था र प्रहरीसँग सहकार्य गरेर अध्यक्ष अधिकारीको नेतृत्वमा अभियान थालनी गरिएको हो । पहिला हरेक शनिबार सरसफाइ गर्ने गरिन्थ्यो । यो अभियानमा नेपाल प्रहरीसँगै, वे ग्रुप नेपाल, सन्देश फाउण्डेशन, महानगर युवा सञ्जाल, द युनाइटेड चितवन, वार्सा नेपाललगायत अन्य विभिन्न सङ्घसंस्था सहभागी हुने गरेका थिए ।

पौडेल सुपरिटेण्डेण्ट भएपछि भदौबाट यो अभियान थालिएको हो । पछिल्ला केही साता अस्पताल बाहिरका अभियन्ता सरसफाइमा सहभागी भएका छैनन् । पौडेलले भन्नुभयो, “निकै चिसो भएकाले अभियन्ता नआएको हुन सक्छ ।” अस्पतालभित्र सरसफाइका लागि भनेर ९२ जना कर्मचारी कार्यरत छन् । ती कर्मचारीलाई अन्य काममा लगाइने हुँदा सबैले सरसफाइमा ध्यान दिन पाउँदैनन् ।

‘स्वच्छ वातावरण, स्वास्थ्य जीवन’ ‘फोहरमैला जथाभावी फाल्ने समाजका शत्रु हुन्’ भन्ने नाराका साथ अभियान सञ्चालन हुँदै आएको छ । सुरुआती चरणमा प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुखसमेतको उपस्थिति हुने गरेको थियो । अस्पताल विकास समितिका अध्यक्ष अधिकारी अस्पताल सफाइ गर्ने अभियान आफ्नै नेतृत्वमा थालिएको बताउनुहुन्छ । यसबाट सबै सफा नभए पनि सन्देश प्रवाह भएको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “धेरै मानिसको आवतजावत हुने भएकाले फोहर हुन्छ, अस्पतालका सबै ठाउँमा नियमित सरसफाइ छुट्न सक्ने हुँदा अभियान सार्थक भएको छ ।”

अस्पताल विकास समितिका पूर्वअध्यक्ष एवं प्रदेशसभा सदस्य विजय सुवेदी फोहरमैला व्यवस्थापनका क्षेत्रमा अस्पतालमा राम्रो काम भइरहेको बताउनुहुन्छ । अस्पतालमा फोहोर व्यवस्थापन व्यवस्थित नभएसम्म बाहिरबाट अभियन्ताहरुसहितको सहयोग आवश्यक पर्ने भन्दै उहाँले आउँदा दिनहरुमा फोहोर मैलाको व्यवस्थापन एक प्रणालीमा आएपछि अभियानको आवश्यकता नहुने बताउनुभयो । अहिले अस्पताल प्रमुख स्वयं उपस्थित भएर नियमित सरसफाइ गर्नु सकारात्मक कार्य भएको उहाँको भनाइ छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!