टर्कीमा समस्यामा परेका १२ नेपालीहरुको विषयमा खण्डन तथा स्पष्टिकरण

Posted on: 27 May, 2020

जेठ १५, काठमाडौँ | साझा सबाल मिडियाले बुधबार अपडेट गरेको 'टर्कीमा १२ जना नेपालीहरु समस्यामा, सहयोगको याचना' शिर्षकको समाचारप्रति आपत्ति जनाउदै खण्डन प्राप्त भएको छ । 

साझासबाल मिडियाले बुधबार टर्कीमा रोजगारीको क्रममा पुगेका नेपालीहरुले आफूहरु समस्यामा परेको भन्दै उद्दारको लागि अनुरोध गरेको बिषयलाई उठान गरि समाचार तयार पारेको थियो । कोरोना महामारीको बीच लामो समय टर्कीमा बसेका पिडितहरुले आफूहरुले खान नपाएको र बस्नको लागि समेत समस्या रहेको भन्दै सहयोगको याचना गरेका थिए । तर यो विषयमा आएको समाचारप्रति खण्डन प्राप्त भएको छ । खण्डनमा समाचारमा उल्लेख भएका १२ जना नेपालीहरुले बारम्बार सहयोग प्राप्त गरेको भन्दै मिडियालाई ध्यानाकर्षण गराइएको छ ।

खण्डनमा इस्तानबुल बाहिर र इस्तानबुल मै पनि टाढा रहनु भएको केही साथीभाईहरुसम्म पुग्न नसकेको स्वीकार गर्दै समाचारमा उल्लेखित व्यक्तिहरुले भने प्रयाप्त राहत पाएको उल्लेख छ । खण्डनमा टर्कीको इस्तानबुलमा कोरोना महामारीको कारण समस्यामा परेका नेपालीहरुलाई टर्कीमा रहेका सहयोगी नेपालीहरु, आंकराका चेलीबेटीहरु, NRNA र विशेष गरि Nepal Turkey Friendship And Culture Association मार्फत डा. विनोद शाह ज्युले सबैलाई राहत, घरभडा लगायत अत्यावस्यक चिजबिजहरु समेत उपलव्ध गराउदै आउनुभएको जानकारी गराइएको छ । 

समाचारका विषयमा साझा सबाल मिडियाको स्पष्टिकरण 

बुधबार यस मिडियाले 'टर्कीमा १२ जना नेपालीहरु समस्यामा, सहयोगको याचना' शिर्षकको समाचार अपडेट गरेपछि टर्कीमा रहेका कन्सुलर कार्यालय, गैरआवासीय नेपाली संघ र सहयोगी नेपालीहरुको ध्यानाकर्षण गराएका छन् । हामीले समाचारको केहि बिषयमा खण्डनपक्षको बिपत्ति रहेको बिषयलाई समेटेर त्यसको स्पष्टिकरण दिएका छौं ।  

कोरोना संक्रमणको महामारीको बीच बिभिन्न देशमा लाखौँ नेपालीहरु सानो-ठूलो समस्यामा छन् । त्यस समस्यालाई समाधानको लागि बिभिन्न देशमा नेपाली सहयोगी हातहरु, गैरआवासीय नेपाली संघ, कन्सुलर कार्यालयहरु र दुतावासहरुले सक्दो भूमिका खेलिरहेका छन् । यो सन्दर्भमा यस साझा सबाल मिडियाले पनि आफ्नो बलबुताले बिभिन्न देशमा समस्यामा रहेका र सम्बन्धित निकायको नजरमा नपरेका वा पिडितहरुले याचना गर्न नसकेका तथा नजानेका अवस्थामा पिडितहरुलाई सक्दो जानकारी तथा सूचना दिएर सहयोग गर्ने गरेको छ । साथै यस मिडियाले प्रवासमा रहेका नेपालीहरुको बिषयलाई समेट्दै समाचार सामग्रीहरु तयार पार्ने गरेको छ । जसको कारण समस्यामा रहेका नेपालीहरुको पहिचानमा बिभिन्न निकायहरुलाई सहयोग मिलेको छ । 

यसैबीच कार्यसम्पादनको क्रममा हामीलाई प्रवासबाट साप्ताहिक सयौं नेपालीहरुले आफ्नो समस्या तथा गुनाशो हाम्रो मोवाइल एप 'वैदेशिक रोजगार' तथा इमेलमार्फत पठाउने गरेका छन् । यही क्रममा टर्कीमा रहेका नेपालीहरुले आफ्नो समस्याको बिषयमा हामीलाई मे ४ तारिकका दिन आफूहरु समस्यामा रहेको भन्दै जानकारी दिएका थिए । उनीहरुले सो मितिमा दिएको जानकारीलाई नै आधार मानेर हामीले फलोअप गर्दै समाचार तयार पारेको हौँ । उक्त सूचना तथा समाचारमा टर्कीमा रहेको कुनैपनि निकायलाई आक्षेप लगाइएको छैन । पिडितहरुले साथीहरुको सहयोगमा त्यसदिनसम्म टर्कीमा रहेको जानकारी दिएका थिए । त्यस गुनाशो हामीलाई प्राप्त भएपछि मे ७ का दिन हामीले गुनाशोकर्तालाई इमेलमा लेखेका छौं 'डिटेलमा तपाईहरुको समस्या, अहिलेको अवस्था र तश्वीरसहित पठाउनुहोला समाचार प्रकाशन गर्छौ ।' त्यसै आधारमा पिडितहरुले आफ्नो नाम र पासपोर्ट नम्बर सहित पठाएको इमेल हामीले ढिला गरि भेट्यौं । पिडितहरुले आफ्नो पासपोर्ट नम्बर सहित तश्वीर र गुनाशो पठाएपछि हामीले उहाँहरु वास्तविक समस्यामा छन् भन्ने बुझेर समाचार प्रकाशन गरेका हौँ । पिडितहरुले हामीलाई दिएको जानकारीमा कसैलाई पनि आक्षेप लगाएका छैनन् । 

यस मिडियाले सयौं गुनाशो हेर्ने क्रममा र त्यसको समाधान तथा ध्यानाकर्षण गर्ने क्रममा ढिला गरि उक्त इमेल हेरेको र त्यस आधारमा समाचार तयार पारेको स्पष्टिकरण दिन चाहन्छौं । साथै समाचार प्रशारण गर्नुअघि पिडित पक्षले दिएको सम्पर्क नम्बरमा सम्पर्क गर्न खोज्दा तथा भाइवरबाट समेत सम्पर्क गर्ने कोसिस गर्दा सम्पर्क हुन सकेन । पिडितहरुले टर्कीमा दुतावास नभएको र साथीको सहयोगमा टर्कीमा बसेको जानकारी दिनुभएकाले त्यसैलाई आधार मानि समाचार तयार पारेका हौँ ।  

अन्यथा पिडितहरुले त्यो मिति पछि राहत पाएको विषयमा हामीलाई अपडेट दिनुभएको छैन । पुर्व-सूचनालाई आधार मानेर समाचार बनाउदा र पिडितहरुको वर्तमान अवस्थाबारे जानकारी लिन असमर्थ हुँदा समाचारप्रति सम्बन्धित निकाय तथा अधिकारीहरुको खण्डन आएको हो र समाचारप्रति आएको खण्डनलाई हामीले स्वीकार गर्दै आगामी दिनहरुमा यस्ता प्रकृतिको समाचारलाई हाम्रो साधान-स्रोतले भ्याएसम्म सन्तुलित बनाउने प्रयास गरिने प्रतिबद्धता व्यक्त गर्दछौं । 

अत: सम्प्रेषित समाचारमा खण्डन गर्ने पक्षलाई कुनै आक्षेप लगाइएको नहुँदा, साथै उक्त समाचारको बिषयमा खण्डन आएकाले उक्त समाचारको तल यो खण्डन/स्पष्टिकरणको शिर्षक/लिंक अपडेट गरिने व्यहोरा जानकारी गराउन चाहन्छौं । साथै पिडित पक्ष अझै पनि पिडितनै छ । कोरोना महामारीको बीच उनीहरुमा स्वदेश फर्कन नपाएको पिडा तथा आगामी दिनमा के खाने कसरी बस्ने भन्ने चिन्ता कायमनै छ । उहाँहरुलाई सरकारले नेपाल फर्काउने निर्णय गरेलगत्तै प्राथमिकतामा राखेर नेपाल फिर्ता गराउन तपाइँहरुकै महत्वपूर्ण सहयोगको अपेक्षा गर्दछौं । साथै सन्दर्भमा तपाइँ टर्कीमा रहेका सहयोगी हातहरु, व्यक्तिहरु, अधिकारीहरु, एनआरएनए, कन्सुलर कार्यालय र टर्की हेर्ने दुतावासलाई कोरोना महामारीको बीच उक्त देशमा रहेर समस्यामा परेका नेपालीहरुलाई सक्दो सहयोग गरिरहनु भएकोप्रति विशेष आभार व्यक्त गर्दै उक्त कार्यलाई निरन्तरता दिनुहुनेछ भन्ने अपेक्षा गर्दछौं । 

सम्पादक

अनिल अधिकारी

साझा सबाल मिडीया 

२०७७ जेठ १२ गते


यस बिषयमा तपाइको प्रतिक्रिया...!