विदेशबाट उद्धार उडान एकाएक रोकियो: मलेसिया, साउदी, कुवेत, कतारले जारी गरे सूचना

Posted on: 17 Aug, 2020

भदौ १, काठमाडौं | सरकारले विदेशबाट स्वदेश फिर्ताका आगामी अन्तराष्ट्रिय चार्टर्ड उडानहरु एकाएक स्थगित गरेको छ । कोभिड–१९ संकट व्यवस्थापन सञ्चालन केन्द्र (सीसीएमसी) को आग्रहमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले उडान स्थगित गरेको हो ।

विदेशबाट फर्किने श्रमिक एक सातासम्म काठमाडौंका होटलमा बस्नुपर्ने तर होटलको व्यावस्थापन तयार भईनसकेको कारण देखाई उडानहरु स्थगित गरेको बताइएको छ । यस अघि साउन २९ गते सिसिएमसीले उक्त निर्णय गरेको थियो । 

होटल क्वारेन्टिन सुनिश्चितता भएपछि मात्रै उडान स्वीकृति दिने तथा यसअघि जारी भएका उडान अनुमति समेत स्थगित गरिदिन पत्रमा अनुरोध गरिएको छ ।

चार्टर्ड उडानहरु स्थगित गर्ने जानकारी पाएलगतै दूतावासहरुले उडान स्थगित गरिएको सूचना सार्वजनिक गरेका छन् । 

हेर्नुहोस् दुतावासका सुचनाहरु: 

उडान स्थगित भएको सम्बन्धी जरूरी सूचना 

नेपाल सरकार कोभिड -१९ संकट व्यवस्थापन संचालन केन्द्र छाउनी, काठमाडौँबाट मिति २०७७/०५/०१ को पत्रमार्फत् “नेपालमा पछिल्लो समयमा बढ्दो कोरोना संक्रमणको अवस्था, विभिन्न स्थानीय तहहरुले निषेधित क्षेत्र घोषणा गर्ने बढ्दो क्रम र होटल क्वारेन्टाइनका लागि होटल व्यवस्था भएको जानकारी प्राप्त नभएको अवस्था विद्यमान भएकाले होटल क्वारेन्टाइन सुनिश्चितता हुने गरी मात्र उडान स्वीकृति दिने तथा यस अघि जारी उडान अनुमति स्थगित  गरिदिने“ व्यवस्था हुन भनी लेखी आएकोले अर्को सूचना जारी नभएसम्मका लागि सबै उडानहरु स्थगित भएको व्यहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ ।

नेपाली राजदूतावास, रियाद ।

२०७७/०५/०१

चार्टर्ड उडानहरू स्थगित बारे जरूरी सूचना ।

मिति २०७७।०४।२९ (तदनुसार १३ अगष्ट २०२०) का दिन यस राजदूतावासबाट जारी सूचनामा उल्लेख भएबमोजिम २२ अगष्ट २०२० का लागि तय भएका तीनवटा चार्टर्ड उडानहरू (नेपाल एयरलाइन्स-१ हिमालय एयरलाइन्स-१ तथा जजिरा एयरवेज-१) नेपाल सरकार, कोभिड-१९ संकट व्यवस्थापन संचालन केन्द्रको मिति २०७७।०५।०१ को पत्रबमोजिम नेपालमा पछिल्लो समयमा बढ्दो कोरोना संक्रमणको अवस्था, विभिन्न स्थानीय तहहरूले निषेधित क्षेत्र घोषणा गर्ने बढ्दो क्रम र होटल क्वारेन्टाइनका लागि होटल व्यवस्था भएको जानकारी प्राप्त नभएको अवस्था विध्यमान भएकोले अर्को सूचना जारी नभएसम्मका लागि उल्लिखित तीन चार्टर्ड उडानहरू स्थगित गरिएको व्यहोरा सम्बन्धित सबैमा जानकारीका लागि अनुरोध छ ।

यसबाट पर्न गएको असुविधा प्रति राजदूतावास क्षमाप्रार्थि छ ।

नेपाली राजदूतावास, कुवेत

मिति २०७७।०५।०१ (तदनुसार १७ अगष्ट २०२०)

१७ अगष्ट २०२० मा हुने दोहा-काठमाण्डौं उडान स्थगितबारे जरुरी सुचना

१६ अगष्ट २०२० मा यस राजदूतावासबाट जारी सूचनामा उल्लेख भएअनुसार १७ अगष्ट २०२० का लागि तय भएको हिमालय एयरलाइन्सको दोहा-काठमाण्डौ उडान नेपाल सरकार कोभिड-१९ संकट व्यवस्थापन संचालन केन्द्रको मिति २०७७/५/१ को पत्रबमोजिम अर्को सूचना जारी नभएसम्मका लागि  स्थगित गरिएको व्यहोरा सम्बन्धित सबैमा जानकारीका लागि अनुरोध छ । यसबाट पर्न गएको असुविधा प्रति राजदूतावास क्षमाप्रार्थि छ ।

नेपाली राजदूतावास, दोहा ।

१७ अगष्ट २०२०

मलेसिया स्थित नेपाली दुतावासको सूचना

नेपाल सरकार, कोभिड१९ संकट व्यवस्थापन सञ्चालन केन्द्रबाट नेपालमा पछिल्लो समयमा वढ्दो कोरोना संक्रमणको अवस्था, विभिन्न स्थानीय तहहरुले निषेधित क्षेत्र घोषणा गर्ने वढ्दो क्रम र होटल क्वारेण्टाईनका लागि होटल व्यवस्था भएको जानकारी प्राप्त नभएको अवस्था विद्यमान भएकोले होटल क्वारेण्टाईन सुनिश्चितता हुने गरी मात्र उडान स्वीकृति दिने तथा यस अघि जारी उडान अनुमति हाललाई स्थगित गर्ने जानकारी भए अनुसार मलेसियाबाट १९, २० र २१ अगष्ट २०२० मा नेपालको लागि तय भएका नेपाल एयरलाईन्स, हिमालय एयरलाईन्स र मालिण्डो एयरका चार्टर उडानसमेत अर्को सूचना जारी नभएसम्मको लागि स्थगित भएको व्यहोरा सम्बन्धित सबैमा अनुरोध गरिन्छ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!