डोटीमा नदी कटानको कारण दुई सय भन्दाबढी परिवार जोखिममा

Posted on: 14 Jul, 2019

विमलबहादुर  विष्ट | असार २९, डोटी | सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला डोटीमा समयमै नदी कटान र पहिरो नियन्त्रणको पहल नहुदा डोटीमा बग्ने सेती, अछाम–बाजुरामा बग्ने बुढीगङ्गा र अन्य शाखा खोलानाला छेउछाउका दर्जनौँ बस्ती जोखिममा पर्दै गएका छन् । गएको वर्ष जेठ २६ गते आएको बाढीपहिरो शिखर नगरपालिका वडा नं ९ को तिलतालीसैन गाउँमा पसेपछि अहिले उक्त बस्ती जोखिममा परेको छ । अहिले उक्त गाउँका झण्डै १५० परिवार पहिरोको उच्च जोखिममा रहेका छन् ।

त्यस्तै शिखर नगरपालिकास्थित बारपाटा गाउँको वडा नं २ र ३ का ४८ परिवार सेती नदी र हारेखोलाको कटानले बस्तीनै उठीबास हुनसक्ने खतरामा परेको छ । त्यस्तै सेती नदीको कटानले बारपाटाको वडा नं ६ स्थित बल्लेगडा गाउँका विष्ट परिवार पनि जोखिममा परेका छन् । नदी कटानका कारण विष्टगाउँका १४ परिवारमा वर्षेनी असार-साउनमा त्रास बढ्दै गएको स्थानीय रमेशबहादुर विष्टले बताउनुभयो । उहाँले भन्नुभयो, “हाम्रो गाउँ बाढीपहिरोको उच्च जोखिममा छ, पानी पर्दा हामीलाई निद्रासमेत लाग्दैन ।”

विसं २०७३ साउनमा छ जनाकोज्यान जाने गरी सायल गाउँपालिकास्थित डौड तोलेनीका सात गाउँ स्थानीय साइलीगाडमा आएको बाढी र गाउँमाथि खसेको पहिरोले जमीन चिराचिरा पारेको छ । बाढी र पहिरोले पूरै गाउँको भूगोल फेरिएको स्थानीयवासी डिलबहादुर सिंहले बताउनुभयो । उहाँले भन्नुभयो, “बाढीपहिरोले पूरै गाउँ र जमीनको मुहारै फेरेको छ, बस्तीमाथि पूरै चिरैचिरा परेको छ, कतिबेला के हुन्छ भन्नसक्ने अवस्था छैन, डरैडरमा रात बित्छ ।”

त्यस्तै शिखर नगरपालिकाको बानीडुंग्रीसैन क्षेत्र नदी कटानको उच्च जोखिममा छ । त्यहा“को सिद्धेश्वर माविको पर्खाल नदीले वर्षेनी काटिरहेको र नदी गाउँतिर सोझिएकाले सयौँ परिवार घरबारविहीन हुनसक्ने सम्भावना रहेको स्थानीयवासी नरेन्द्र बलायरले बताउनुभयो । उता डोटीको पूर्वी क्षेत्रमा रहेको बोगटान फुड्सिल गाउँपालिकाको वडा नं ८ स्थित मल्लागाउँको जमीन फुटेर वर्षेनी १०-१५ फिट तल भासिन लागेको स्थानीय हर्कबहादुर बमले बताउनुभयो । उहाँले भन्नुभयो, “वर्षातको समयमा जहिले जमीन भासिने गरेको छ, रोकथामका लागि कतैबाट पनि पहल भएको छैन ।” पैँतालीस परिवार रहेको सो गाउँलाई समयमै नियन्त्रणका लागि पहल नगरे सङ्कट पर्ने उहाँको भनाइ छ ।

उता बाजुरा–अछाममा बग्ने बुढीगङ्गा नदीको कटानले अछामको साफेबगरदेखि कैलाशखोला र बाजुराको मार्तडीस्थित विद्युत्गृहदेखि लेकसम्मको भागमा वर्षेनी नोक्सान पार्दै आएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलले जनाएको छ । जलउत्पन्न प्रकोप व्यवस्थापन सवडिभिजन कार्यालय नं २३ दिपायल राजपुरका प्रमुख कुमारबहादुर खड्काले बुढीगङ्गा नदीको गुरुयोजना तयार पारेर नोक्सानी नियन्त्रण गर्ने प्रयासमा भइरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “अब साना तथा टुक्रे योजनामा बढी ध्यान दिने छैनौँ, गुरुयोजना बनाएर काममा लाग्ने तयारीमा छौँ ।”कर्णाली नदीले अछामका कालिकास्थान, रानीवन र ढुङ्गाचाल्ना क्षेत्रमा तीव्र क्षति पारिरहेको छ भने डोटीको सायलीगाड र दक्षिण क्षेत्रमा बग्ने ठुलीगाडमा नदी कटान अनियन्त्रित बन्दै गएको स्थानीयवासी बताउँछन् ।

जिल्ला दैवी उद्धार प्रकोप समितिले जिल्लाका बोगटान फुड्सिल, सायल, बारपाटा, जोरायललगायतका २२ क्षेत्रलाई उच्च जोखिममा राखेको छ । डोटीका प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले जिल्लामा वर्षातको समयमा हुनसक्ने घटनाबाट कसरी उद्धार गर्न सकिन्छ भन्ने तयारीमा रहनुका साथै विपत्ति नियन्त्रणका लागि पहल भइरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “जिल्लामा हुने विपद् नियन्त्रण र उद्धारका लागि कसरी छिटो काम गर्न सकिन्छ भन्ने विषयमा हामी केन्द्रित भएका छौँ, विपद् आइपरे हामी तत्काल खटिनेछौँ ।”जलउत्पन्न प्रकोप व्यवस्थापन सवडिभिजन कार्यालय नं २३ राजपुरले सेती नदी आसपासका बस्तीलाई जोखिमबाट बचाउन गुरुयोजना तयार गरी काम भइरहेको जनाएको छ । गुरुयोजनामा सेती नदीले  माथिल्लो भेग गिरीचौकाबाट क्षति गर्दै तल तिखात्तरको नारीदाङसम्म असर गरेको उल्लेख छ । गुरुयोजनाअनुसार विभिन्न ११ ठाउ“मा नदी नियन्त्रणका लागि काम गरिरहेको सो कार्यालयका खरिदार दीपेन्द्र शाहले जानकारी दिनुभयो । 

वर्षापछि किसान खुशी

लामो समयपछि डोटीको दिपायलमा वर्षा शुरु भएको छ । यहाँका ग्रामीण क्षेत्रमा केही दिन पहिलेदेखि वर्षा भइरहे पनि दिपायलमा भने अहिलेसम्म वर्षा भएको थिएन । शनिबार बिहानदेखि दिपायल तथा आसपासका क्षेत्रमा मुसल्धारे पानी परेपछि यहाँका किसान निकै हर्षित भएका छन् ।

वर्षा नहुँदा खडेरीले दिपायल, पिपल्ला, कुल्पोते, सुनगडालगायतका क्षेत्रका किसानले धानको बीउसमेत राख्न पाएका थिएनन् । वर्षाले खेतमा पानी भरिएपछि किसान बीउ राख्न पाउने आशमा खुशी भएको दिपायल गैराका किसान लालबहादुर विकले बताउनुभयो । उहाँले भन्नुभयो, “पानी नपर्दा धानको बीउ राख्न नपाएर खेत बाझै हुन्छ कि भन्ने पीरमा थियौँ, बल्ल पानी शुरु भयो, अब बीउ राखेर रोपाइँ गर्छौँ”, लगातारको वर्षाका कारण यहाँका स्थानीयहरु बिहानदेखि घरबाहिर निस्किन सकिरहेका छैनन् ।

त्यस्तै खडेरीले यहाँका किसानले लगाएका मकैबाली पानी नपर्दा सुक्न थालेका थिए । पानी पर्न थालेपछि सुक्न लागेका मकैसमेत जागेर आउनेमा किसान खुशी भएका छन् । दिपायल क्षेत्रमा वर्षा भएपछि यहाँका किसानहरु बिहानैदेखि मुसलधारे पानीमै भिजेर भए पनि आ–आफना खेतमा धानको बीउ राख्न थालेका छन् ।

यता लगातारको वर्षाका कारण यहाँबाट तराई जाने तथा तराईबाट अछाम, बाजुरा जानका लागि आएका गाडी दिपायलको पिपल्ला बजारमा थन्किएका छन् । वर्षाका कारण यहाँका खोलानालामा उच्च बाढी आएका कारण सबैलाई सतर्क रहन जिल्ला प्रशासन कार्यालय डोटीले आग्रह गरेको छ । डोटीका प्रमुख जिल्ला अधिकारी पौडेलले खोलानालामा उच्च बाढी आएकाले घरबाहिर ननिस्कन तथा खोला छेउमा नजान सबैलाई आग्रह गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “लामो समयपछि दिपायल तथा आसपासको क्षेत्रमा वर्षासँगै बाढी आएको छ, सबैले सर्तक अपनाउनुपर्ने बेला आएको छ ।” 

त्यस्तै बाढीपहिरोको उच्च जोखिममा रहेका यहाँका २२ स्थानमा उच्च सतर्कता अपनाउन स्थानीयवासीलाई आग्रह गरिएको छ । जिल्लाका विभिन्न २२ स्थानलाई दैवी प्रकोपका हिसाबले उच्च जोखिममा राखिएको छ । जोखिम रहेका स्थानको पहिचानको आधारमा विभिन्न सङ्घसंस्थाले उक्त क्षेत्रमा विगत केही दिन यतादेखि सतर्कताका लागि कार्य गरिरहेका छन् । ती ठाउँहरुमा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा डोटीले विपद् प्रतिकार्यका लागि सामुदायिक पहल (क्याड्रे) कार्यक्रम सञ्चालन गरिरहेको छ । जिल्लामा पहिचान भएका विभिन्न २२ प्रकोपको उच्च जोखिम भएका समुदायमा प्रतिसमुदायका १२ व्यक्तिलाई उद्धारकर्ताको तालीम र आवश्यक सामग्री दिई आधारभूत खोज तथा उद्धार सामग्री केन्द्र स्थापना गरिएको नेपाल रेडक्रस सोसाइटी सुदूरपश्चिम प्रदेश महासङ्घका महासचिव देवबहादुर बोहराले बताउनुभयो । डोटीमा बाढीपहिरोमा परी चालू आर्थिक वर्षमा मात्रै नौको ज्यान गइसकेको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!