‘प्रहरी हुँ’ भन्दै भारतीय नागरिकको अपहरण गरी लुटपाट गर्ने तीन जना पक्राउ

Posted on: 31 Jul, 2023

साउन १५, डोटी । ‘प्रहरी हुँ’ भन्दै भारतीय नागरिकको अपहरण गरी लुटपाट गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा शुक्लाफाँटा नगरपालिका- ५ का बास्सा भनिने रवि साउद, ल्याङ भनिने सुरेन्द्र विष्ट र भुवन ऐर रहेको डोटी प्रहरीले जनाएको छ ।

‘प्रहरीको विशेष व्युरोबाट सादा पोशाकमा खटिएका प्रहरी हौं’ भनेर शुक्रबार दुई भारतीय नागरिकलाई उनीहरुले अपहरण गरी लुटपाट गरेको इलाका प्रहरी कार्यालय झलारीले जनाएको छ ।

भारतको पिलिभितका २४ वर्षीय मोहित कुमार र उनीसँगैका उद्यमसिंहनगर घर भई हाल महेन्द्रनगरमा काम गर्ने अशरफ अहमद अपहरणमा परेका थिए । लुटेराहरुले उनीहरूलाई अपहरण गरेर कलुवापुरस्थित कालिका सामुदायिक जंगलमा लगेर यूके ०६ एजे ८०४२ नम्बरको मोटरसाइकल, मोबाइल, १९ हजार नगद, भारतीय आधार कार्ड र सवारी चालक अनुमतिपत्र लुटेका थिए ।

घटनालगत्तै पीडितहरूले अस्थायी प्रहरी बिट कलुवापुरमा जानकारी गराएका थिए । इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक सूर्यबहादुर शाहीको कमान्डमा खटिएको प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको थियो । लुटेको भारतीय नम्बरको मोटरसाइकल, नगद तथा मोबाइल फिर्ता गरिएको छ ।

घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!