२० हजार दर्शकद्वारा मेला अवलोकन

Posted on: 19 Nov, 2016


मनिष गुप्ता/मङ्सिर ४, कपिलवस्तु । कपिलवस्तुको चन्द्रौटामा संचालन भएको “तेस्रो कृषि पर्यटन तथा औद्योगिक व्यापार महोत्सव २०७३” मा २० हजार दर्शकद्वारा मेला अवलोकन गरिएको छ ।

ख्यातीप्राप्त राष्ट्रिय कलाकारहरुको प्रस्तुति, मनोञ्जनात्मक बालउद्यानले महोत्सवमा दर्शकहरुको आकर्षण बढ्दै गएको हो । महोत्सवको तेस्रो दिन शनिबार झण्डै २० हजार दर्शकले मेला अवलोकन गरेको गेट टिकट विक्रीवितरण उपसमिति संयोजक गोविन्द ढुंगानाले जानकारी दिए । शनिबार मात्र झण्डै १० लाख बराबरको कारोबार भएको ढुंगानाले बताए । शनिबार कार्यालय विदाको दिन परेकाले पनि दर्शकको उल्लासपूर्ण सहभागिता भएको ढुंगानाको भनाई थियो ।

राष्ट्रिय लोकदोहोरी गायक खुमन अधिकारी, लोक गायिका बन्दना पाण्डे, आधुनिक गायक रुपक डोटेल र हास्य कलाकार सन्दीप क्षेत्रीको विशेष प्रस्तुतिले स्टेजअगाडि दर्शकहरु खचाखच भरिएका थिए । कलाकारहरुको प्रस्तुतिसँगै दर्शकहरु निकै उत्साहित देखिन्थे । त्यतिमात्र होइन हरिडान्स ग्रुप, छमछमी कलाकेन्द्र, चन्द्रौटा डान्स आइडल र स्थानीय विद्यालयका बालबालिकाहरुको प्रस्तुतिसँगै दर्शकहरु रमाएका थिए । यस्तै बालउद्यान र विभिन्न स्टलहरुमा समेत दर्शकहरुको उस्तै उपस्थिति रहेको थियो ।

दर्शकहरुको बढ्दो आकर्षणलाई ध्यानमा राख्दै मंसिर ५ गते आइतबारका दिन राष्ट्रिय लोक गायक विधान कार्की, लोक गायिका देबी घर्ती, आधुनिक गायक हेमन्त शर्मा र स्थानीय कलाकार शिव खनालको विशेष प्रस्तुति रहने सांस्कृतिक संयोजक अर्जुन सापकोटाले जानकारी दिए ।

मेलालाई व्यवस्थित र शान्ति सुरक्षालाई मध्यनजर गर्दै सीसी क्यामेराद्वारा सचिवालयमै बसेर महोत्सव अवलोकन गरिने व्यवस्था मिलाइएको प्रविधि संयोजक माधव घिमिरेले बताए । महोत्सवमा आउने दर्शकहरुलाई प्रविधि सम्बन्धी विभिन्न प्रदर्शनी एवं विक्री वितरण स्टलका साथै अवलोकनकर्तालाई परामर्श समेत दिंदै आएको प्रविधि संयोजक घिमिरेले बताए ।

“कृषि पर्यटन उद्योग र व्यापार, आर्थिक समृद्धिको मूल आधार” भन्ने मूल नारासहित यही मंसिर २ गतेदेखि १२ गतेसम्म महोत्सव संचालन हुने महोत्सव मूल आयोजक समिति संयोजक महादेव पोखरेलले बताएका छन् । स्थानीय कृषि उत्पादनको बजारीकरण, विक्रीवितरण तथा पर्यटन प्रवद्र्धन र प्रचारप्रसारका साथै बहादुरगञ्जस्थित सर्पदंश उपचारकेन्द्रलाई प्रति टिकट रु १ सहयोग गर्ने उद्देश्यले मेला संचालन गरिएको उनले बताएका छन् । मेलालाई भव्य, सभ्य र सौहाद्र्रपूर्ण वातावरणमा सम्पन्न गर्न महोत्सव मूल आयोजक समिति संयोजक पोखरेलले सबैलाई महोत्सव अवलोकन गर्न आउन आग्रह गरेका छन् ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!