चन्द्रौटा महोत्सव: गाउँगाउँबाट खनिए दर्शक

Posted on: 27 Nov, 2016


मङ्सिर १२, कपिलवस्तु | चन्द्रौटा महोत्सवको दशौं दिन अर्थात शनिबार मेलामा दर्शकहरुको ओइरो लाग्यो । महोत्सव सकिनै लाग्दा गाउँ गाउँबाट दर्शकहरु खनिएपछि महोत्सव स्थलमा पाइला टेक्ने ठाउँ नै थिएन । 

महोत्सवमा अपेक्षा गरेभन्दा पनि बढी दर्शकहरु भित्रिएपछि आयोजकलाई व्यवस्थापन गर्न समेत हम्मे हम्मे परेको थियो । टिकट स्टलमा रहेका कर्मचारीलाई भ्याई नभ्याई भएपछि थप कर्मचारी खटाई टिकट विक्री वितरणको व्यवस्था मिलाइएको गेट टिकट विक्रीवितरण उपसमिति संयोजक गोविन्द ढुङ्गानाले बताउनुभयो । दर्शकहरुको उल्लासपूर्ण सहभागिता भएपछि सेक्युरिटी गार्ड, सुरक्षाकर्मी र स्वयंसेवकलाई पनि दिनभर बस्ने फुर्सत समेत मिलेन ।

शनिबार मात्र ३० हजार बढी दर्शकले महोत्सव अवलोकन गरेको आर्थिक व्यवस्थापन उपसमिति दीपक पौडेलले जानकारी दिनुभयो । पौडेलका अनुसार शनिबार मात्र करीब एक करोडको कारोबार भएको दाबी गर्नुभयो । दशौं दिनसम्मको अवस्था हेर्दा महोत्सवमा झण्डै ३ करोडको कारोबार भएको महोत्सव मूल आयोजक समिति संयोजक महादेव पोखरेलले बताउनुभएको छ । मेलाको दशौं दिनसम्म ५ ओटा त टेक्टर मात्र विक्री भएको उहाँले बताउनुभयो । उहाँका अनुसार टिकट विक्री, होटल, बालउद्यान र विभिन्न सामग्री विक्रीवितरण र प्रदर्शनीका स्टलमा राम्रो कारोबार भएको छ । कारोबार बढेसँगै व्यापारीहरुमा समेत उत्साह बढेको पोखरेलको भनाई छ ।

मेलाको दशौं दिन शनिबार बिदाको दिन परेकाले पनि गाउँगाउँबाट घरघरबाट परिवारै खनिएको सचिवालय व्यवस्थापन उपसमिति संयोजक जगत पौडेलले बताउनुभयो । मेलामा केटाकेटीदेखि लिएर वृद्धवृद्धा समेतको उल्लेख्य सहभागिता रहेको थियो । “हरेक स्टल, हरेक होटल, बालउद्यानमा दर्शकहरुको उस्तै भिडभाड थियो । दर्शकहरुको उल्लासपूर्ण सहभागिताले स्टेज अगाडिको फिल्ड नै साँगुरो भयो । पाइला विसाउने ठाउँ नै थिएन ।” पौडेलले भन्नुभयो – “दिनभर कसैसँग गफ गर्ने फुर्सत समेत पाइएन ।”

एकातिर विदाको दिन र अर्कोतर्फ ख्यातीप्राप्त राष्ट्रिय कलाकार कोमल वली, जितु नेपाल, शिरीष देवकोटा, ऋतु कँडेल र धन बहादुर गुरूङले दर्शकलाई आकर्षित पारेको थियो । कलाकारहरुको प्रस्तुतिसँगै दर्शकहरु झुमेका थिए । यसका साथै हरिडान्स ग्रुप, छमछमी कलाकेन्द्र र चन्द्रौटा डान्सआइडलले दर्शकको मन खिचेका थिए । यस्तै बालउद्यानमा रहेका नौला किसिमका झुला, पिङ, मौतका कुँवा, रेन्जर लगायतका मनोरञ्जनात्मक साधनले बालबालिकादेखि युवायुवती र बुढापाकालाई समेत भुलाएको छ । मंसिर ११ गते आइतबार चर्चित हट गायिका ज्योति मगर, सन्दीप न्यौपाने, श्रीनिवास चौधरी र दीपक भण्डारीको विशेष प्रस्तुति रहने सांस्कृतिक उपसमिति सहसंयोजक श्रीजन पोखरेलले जानकारी दिनुभयो । दर्शकहरुको उल्लेख्य सहभागिता बढ्दै गएको भन्दै एक दिनका लागि मेलाको अवधि थप गरिएको आयोजक संस्था व्यापार संघ कपिलवस्तुका अध्यक्ष महादेव पोखरेलले बताउनुभयो ।

“कृषि, पर्यटन उद्योग र व्यापार, आर्थिक समृद्धिको मूल आधार” भन्ने मुख्य नारासहित व्यापार संघ कपिलवस्तुले मंसिर २ गतेदेखि महोत्सवको आयोजना गरेको हो । स्थानीय कृषि उत्पादनको प्रचारप्रसार, बजारीकरण, धार्मिक एवं पर्यटकीय स्थलहरुको प्रवद्र्धन र बहादुरगन्जस्थित सर्पदंश उपचार केन्द्रलाई आर्थिक सहयोग गर्ने उद्देश्यले महोत्सव संचालन गरिएको महोत्सव मूल आयोजक समिति संयोजक पोखरेलले बताउनुभएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!