बैतडीमा चक्रपथ निर्माणकार्य १९ वर्षपछि सम्पन्न

Posted on: 23 Feb, 2017

फागुन १२, बैतडी । जिल्ला सदरमुकाम बैतडीमा चक्रपथ निर्माण कार्य सम्पन्न भएको छ । 

दुई किलोमिटर चक्रपथ सडक १९ वर्षपछि मात्र सम्पन्न भएको हो । अधुरै रहेको दुई किलोमिटरको चक्रपथ स्थानीयवासीले अगुवाइ गरेपछि पूरा भएको हो । 

दशरथचन्द नगरपालिकाले सदरमुकामका मुख्य बजार गोठलापानी र शाहीलेक जोड्ने सडक विसं २०५४ सालमा निर्माण थालेको हो । सडकको चारसय मिटर क्षेत्रमा स्थानीयवासीबीच विवादले यति लामो समयसम्म अधुरै थियो । 

गोठलापानीदेखि आइत, बाडीलेक हुँदै शाहीलेक जोड्ने सडक नगरपालिका गठनसँगै सुरु गरेको हो । थोरै बजेट र स्थानीयबीच जग्गा विवादले निर्माण कार्य हुन सकेको थिएन । निर्माण हुन नसकेको बाडीलेक खण्डको काम हालै सकिएको छ । 

निर्माण योजना र बजेटबिनै स्थानीयवासीको अगुवाइमा क्षतिपूर्ति र पर्खालको माग गर्दै आएका प्रभावित परिवारले सहमति गरेपछि काम भएको हो । नगरपालिकाको स्काभेटर र जिविसले डिजल खर्च दिने सर्तमा अधुरो चारसय मिटर पूरा गरेको स्थानीयवासी जनकराज भट्टले बताउनुभयो । शाहीलेकबाट गोठलापानी र झुलाघाट जाने वैकल्पिक बाटोका रूपमा प्रयोग गर्न चक्रपथ बनाउन सुरु गरिएको थियो । 

अघिल्ला वर्ष नगरपालिका, जिविस र सहरी विकास कार्यालयले रु चार÷पाँच लाख विनियोजन गर्दै आएका थिए । उक्त रकम २०/३० मिटर निर्माणमा सकिँदै आएको थियो । समिति गठन र काममा हुने विवादले निर्माण अघि बढेको थिएन । 

यो वर्ष नगरपालिकाले साढे नौ मिटर ढल निकास र सडक बत्तीसहित कालोपत्र गर्न रु दुई करोड १३ लाख ७७ हजार टेन्डर प्रक्रिया थालेको इन्जिनियर जयसिंह बोहराले बताउनुभयो । चक्रपथ निर्माणपछि स्थानीय बासिन्दा हर्षित भएका छन् । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!