चन्दाबाट ठोट्नेरी गाउँमा सडक

Posted on: 06 Apr, 2017

चैत २४, म्याग्दी । बेनी नगरपालीका–३ भकिम्लीको ठोट्नेरीका स्थानीय बासिन्दाले चन्दा जुटाएर गाउँमा सडक पु¥याएका छन् । 

स्थानीय बासिन्दाले चन्दा सङ्कलन गरेर साविक भकिम्ली गाविस–५ मा पर्ने डाँडाखानीदेखि ६ नम्बर वडा ठोट्नेरीसम्म जोड्ने छ किलोमिटर सडक निर्माण गरेका हुन् । 

साविक भकिम्ली गाविसले रु एक लाख अनुदान उपलब्ध गराएको डाँडाखानी–ठोट्नेरी सडक योजना सम्पन्न गर्न स्थानीय बासिन्दाले रु पाँच लाख चन्दा र रु एक लाख बराबरको श्रमदान गरेका उपभोक्ता समितिका अध्यक्ष धनबहादुर श्रीसले बताउनुभयो । 

सडक निर्माणका लागि धनलाल जैसीले रु एक लाख, भीम रोकाले रु ५० हजार, आमा समूहले रु ५० हजार, वीरबहादुर श्रीसले रु ३० हजार, खिमबहादुर छन्त्यालले रु २५ हजार र रुपा क्षेत्रीले रु २० हजार सहयोग गर्नुभएको थियो । ठोट्नेरीका ७० घरधुरीले न्यूनतम रु पाँच हजारका दरले चन्दा सहयोग गरेका छन् । 

बागलुङको धम्जा, सिगानासम्म पु¥याउने लक्ष्य राखिएको यो सडक निर्माण भएपछि ठोट्नेरीका स्थानीय बासिन्दालाई आवतजावत, सामान ढुवानी र कृषि तथा पशुजन्य उत्पादन निकासी गर्न सहज भएको छ । धार्मिक तथा पर्यटकीय स्थल स्वर्गाश्रमको विकासमा सघाउ पुग्ने अपेक्षा गरिएको छ । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!