ढोडेनीमा महिलाले बनाए कुटानी–पिसानी मिल

Posted on: 26 May, 2017

जेठ १२, तेह्रथुम । तेह्रथुमको आठराई गाउँपालिका–४, इवाको ढोडेनी बस्तीका महिलाहरुले समयको बचत र दैनिकीमा सहज बनाउन गाउँमै कुटानी पिसानी मिल सन्चालन गरेका छन् । गाउँमा गठन भएको ढोडेनी अभियान चौतारीका महिलाहरुको पहलमा करिब दुई लाख रुपैयाँको लागतमा कुटानी पिसानी मिल स्थापना गरिएको सामाजिक परिचालक शनिशा भेटुवालले जानकारी दिइन् ।

मिल बनाउन जिल्लामा एक्सनएड नेपालको सहयोगमा सन्चालित स्थानीय अधिकार कार्यक्रम अन्तर्गत देउराली सोसाइटीले  सहजीकरण गरेको छ । मिल स्थापनाकालागि देउराली सोसाइटीबाट ४० हजार, इवा गाविस ५० हजार, सामुदायिक बन समुहको २० हजार र स्थानीयबाट १५ हजार तथा बाँकी श्रमदानबाट समेत गरी करिब दुई लाख रुपैयाँ खर्च भएको छ । 

गाउँमा मिल नहुँदा कुटानी पिसानीकालागि ढिकी जाँतो चलाउनु पर्ने र त्यसको बोझ महिलालाई मात्रै हुने गरेको थियो । मिल स्थापना भएपछि गाउँका महिलाहरु हर्षित भएका छन् । अब दैनिकी गुजार्न सजिलो हुने तथा सो समयलाई आर्थिक उपार्जनमा खर्चिएर आयआर्जन समेत बढाउन सकिने अभियान चौतारीकी अध्यक्ष श्यामकुमारी माझीले बताइन् ।

तमोर नदीसँग जोडिएको सुख्खाग्रस्त यो गाउँमा नदी किनारमा बसोबास गर्ने माझीसहित क्षेत्री बाहुन, लिम्बु र अन्य समेतको बसोबास रहेको छ । यसअघि गाउँमा स्थापना भएको मिल दिगो रुपमा सन्चालन हुन सकेको थिएनँ । मिलमा पहिले पनि स्थानीय सामुदायिक बन, संघ संस्था र स्थानीय आफैँले श्रमदान समेत गरेका थिए । तर मिल बन्द भएपछि पुनः उही सास्ती दोहोरिएको थियो ।

यस पटक भने गाउँका महिलाहरुकै नेतृत्वमा मिल स्थापना भएको हो । महिलाहरुले नै मिल स्थापनाको आवश्यकताबारे अभियान चौतारीमा छलफल गरेपछि विभिन्न निकाय संघसंस्थाको सहयोगमा मिल स्थापना भएको स्थानीय चन्द्रबहादुर खवासले बताए । गाउँमै मिल बनेपछि महिलाहरुको दैनिकीमा सुधार आउने उनको भनाइ छ ।

स्थानीय अधिकार कार्यक्रम अन्तर्गत आठराई गाउँपालिकाका सबै वडामा गरी करिब दुई दर्जन अभियान चौतारीहरु गठन भएका छन् । ती अभियान चौतारीमा स्थानीय महिलाहरुले जम्मा भएर आफ्ना साझा समस्याहरुका विषयमा छलफल गर्ने र समाधानका उपायहरुबारे छलफल गर्ने गरेका छन् । गाउँ गाउँमा अभियान चौतारीहरु गठन भएपछि स्थानीय महिलाहरुको दैनिकी सुध्रिदै गएको बताएका छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!