कुश्मा बलेवा यान्त्रिक पुलको एक बर्षमै १ करोड मुनाफा, १८ प्रतिशत मुनाफा वितरण

Posted on: 28 Aug, 2017

पर्वत । कुस्मा बलेवा यान्त्रिक पुलले एक बर्षमानै झण्डै १ करोड मुनाफा गर्न सफल भएको छ । यान्त्रिक पुल लिमिटेडले आर्थिक बर्ष ०७३÷०७४ मा ९० लाख ४७ हजार ३ सय ४७ रुपैंया मुनाफा गरेको हो । उक्त रकमको  १८ प्रतिशत शेयरधनीलाई वितरण गर्ने  यान्त्रिक पुल लि.ले जनाएको छ ।

६ बर्षपहिले संचालनमा आएको यान्त्रिक पुलले पर्वत र बाग्लुङलाई जोडेको छ । यान्त्रीपुलको सेवा विस्तार भाडादरमा  बारम्बार विवाद हुदै आएको छ । यान्त्रिक पुलको सेवा सुविधा र मर्मत कार्यमा निकै आलोचना खेप्नुपरेको छ तर पनि मुनाफा भने बर्सेनी बृद्धि गरेको छ ।  गत बर्ष मात्र कम्पनीले २० प्रतिशतले हुन आउने १ करोड २ लाख मुनाफा बितरण गरेको थियो ।

शनिबार भएको छैठौ साधारणसभाले लगानीकर्तालाई १८ प्रतिशत मुनाफा बितरण गर्न अनुमोदन गरेको छ ।  कुल ४ सय ६२ जना शेयरधनी रहेको कम्पनीले १८ प्रतिशत मुनाफा वितरण गर्ने सर्वसहमत पारित गरेको हो ।

गएको बर्ष एक महिना भन्दा बढी समय मर्मतका लागि यान्त्रिक पुल बन्द भएको र मर्मतमा समेत बढी रकम खर्च गर्नुपरेका कारण मुनाफा घटेको लिमिटेडका अध्यक्ष होमनारायण श्रेष्ठले बताए । 

यान्त्रिक पुल निर्माणसँगै पर्वत र बाग्लुङका १६ गाउँविकास समितिको व्यापारसम्बन्ध बढेको छ । जिल्लाको पर्यटन विकासमा समेत टेवा पु¥याएको यान्त्रिक पुलमा दैनिक ५ सय सर्वसाधरण ओहोरदोहोर गर्दै आएका छन् । लामो समयदेखि बन्द गरेको बलेवा विमानस्थल संचालनमा आउदैछ । यान्त्रिक पुलले यसलाई थप मद्दत पु¥याउने विश्वास लिइएको छ ।

यान्त्रिक पुलको भाडा दरमा भने सर्वसाधरणहरुले गुनासो गर्दै आएका छन् । भाडादर महंगो भएको सर्वसाधरणको गुनासो छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!