मोरङको रतुवामाई नगरको बजेट ४२ करोड ४७ लाख

Posted on: 19 Oct, 2017

कात्तिक २, उर्लाबारी (रासस) | मोरङको रतुवामाई नगरपालिकाले प्रथम नगरसभाबाट पारित बजेट, नीति तथा कार्यक्रम बुधबार सार्वजनिक गरेको छ । 

नगरसभाबाट चालु आर्थिक वर्ष २०७४/०७५ का लागी रु ४२ करोड ४७ लाख ५४ हजारको बजेट बुधबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । 

बजेटमा आन्तरिक स्रोत रु ७७ लाख ८० हजार, सशर्त अनुदान रु १४ करोड, वित्तिय समानीकरण अनुदान रु २६ करोड २१ लाख र जिल्ला समन्वय समितिबाट राजश्व बाँडफाडबापत रु एक करोड जुटाउने उल्लेख छ । 

नगरसभाले पूँजीगत खर्चतर्फ रु २२ करोड नौ लाख ५१ हजार छुट्याएको छ भने समपुरक कोषसमेत गरी चालु तर्फ रु २० करोड तीन लाख तीन हजार बाँडफाँड गरेको छ । नगरसभाले रतुवा बक्राहा खोला नियन्त्रण कार्यक्रमका लागि रु एक करोड, जमिन पुनःरुत्थान कार्यक्रमका लागि रु ४० लाख, लक्षित वर्ग विकास कार्यक्रमकालागि रु ४५ लाख बजेट विनियोजन गरेको छ भने प्रत्येक वडामा कम्तीमा रु १० लाखको कार्यक्रम राखेको छ । 

नगरसभाले नगरपालिकाको मुख्यमुख्य चोकमा फ्रि वाइफाइ, खुला दिसामुक्त क्षेत्र, सडकबत्ती, सडक अधिग्रहण गरी ग्रिनबेल्ट निर्माण, खेलकुद रंगशाला निर्माणलगायतका कार्यक्रम सञ्चालनका लागि बजेट छुट्याइएको छ । 

दुर्घटना र विपद्मा परेर ज्यान गुमाउने नगरबासी प्रतिव्यक्तिका लागि रु ३० हजार, रिङरोड अध्ययन, झुर्किया स्वास्थ्य केन्द्र, सञ्चार क्षेत्रको विकास र पुरस्कार, अनलाइन घरनक्सा पास गर्न निवेदन दिने प्रणालीको शुरुवात गर्नेजस्ता कार्यक्रम समावेश गरिएको पत्रकार सम्मेलनमा नगर प्रमुख रविन राईले जानकारी दिनुभयो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!