पोखरामा पर्यटकीय पूर्वाधारका लागि महायज्ञ

Posted on: 15 Dec, 2017

मङ्सिर २९, पोखरा । कास्कीको पर्यटकीयस्थल सराङकोटमा धार्मिक पर्यटकीय पूर्वाधार विकास गर्ने लक्ष्यका साथ आगामी माघ २२ गतेदेखि फागुन २ गतेसम्म श्रीमद्भागवत ज्ञान महायज्ञ गरिने भएको छ । 

सराङकोट धार्मिक पर्यटन क्षेत्र विकास समितिद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा समितिका अध्यक्ष एवं महायज्ञ मूल आयोजक समितिका संयोजक प्रेमबहादुर जिसीले महायज्ञबाट रु पाँच करोड आर्थिक सहयोग संकलन गर्ने लक्ष्य राखिएको बताउनुभयो । 

सराङकोटमा निर्माणाधिन विशाल शिव मन्दिर र उक्त मन्दिरमा विश्वकै विशाल घण्ट स्थापना, १०८ शिवलिङ, १०८ सहस्रधारा, ऐतिहासिक संग्रहालय निर्माणका साथै भ्यूटावर, बाल उद्यान आदि निर्माणका लागि रु २९ करोडको योजना प्रस्ताव गरिएको उहाँले बताउनुभयो । 

पर्यटकीय पूर्वाधार योजनाअन्तर्गत पूर्वाधार निर्माण गर्न पोखरा–लेखनाथ महानगरपालिकामा रु १३ करोडको योजना पेश भई साझेदारी काम शुरुवातमा छ । पोखरा–लेखनाथ महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले महानगरभित्रका स्थलको पर्यटकीय पूर्वाधार विकास गरी सम्भावनालाई उजागर गर्ने विषय महानगरपालिकाको प्राथमिकतामा रहेको बताउनुभयो । 

कार्यक्रममा महायज्ञ प्रचारप्रसार समिति संयोजक कृष्ण थापा, अन्नपूर्ण केबुलकार प्रालिका सञ्चालक तीर्थराज त्रिपाठीलगायतले सराङकोटको पर्यटकीय महत्व र सम्भावनाबारे आ–आफ्ना धारणा राख्नुभएको थियो । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!