सुर्खेत: वाणिज्य बैंकमा सेवाग्राहीलाई सास्ती

Posted on: 06 Mar, 2018

फागुन २२, सुर्खेत | वीरेन्द्रनगर नगरपालिकाका आशिष रेग्मीलाई राष्ट्रिय वाणिज्य बैंकको शाखामा चेक साट्न २ घण्टा लाग्यो । ‘दिउँसो भीडभाड हुने ठानी १० बजे नै बैंकमा पुग्दा पनि भीड भइसकेको रहेछ  । ५० जना पछाडि लाइनमा बस्नुपर्यो’ उनले भने ।आइतबारदेखि शुक्रबारसम्म बैंकमा भुक्तानी वा रकम जम्मा गर्न जो कोही पनि २ घण्टासम्म लाइनमा अनिवार्य बस्नै पर्छ । ‘थोरै रकम वा धेरै रकम जतिको भए पनि भुक्तानी लिन लाइनमा नबसी हुँदैन’, उनले भने ‘पालो पाउनै गाह्रो भएको छ।’

आशिष जस्तै राष्ट्रिय वाणिज्य बैंक पुगेकी भेरीगंगा नगरपालिकाकी देवि सुनारले पनि आफु बैंकमा १२ बजे आएको र ३ बजिसक्दा पनि पालो नआएको गुनासो गरिन् । बैंक भन्दा घर टाढा भएकाले आज पालो आउँछ की आउँदैन भन्ने चिन्ता छ उनलाई ।उनले भनिन् ‘घर टाढा छ झन छिटै पालो आउला भनि घरबाट बिहानै आए, बैंक आउँदा १२ बजिसकेको थियो, ३ घण्टा भयो बसेको अहिले सम्म पालो पाइएको छैन’ । अनुहारमा निराशपन झल्काउँदै देविले भनिन् ‘के थाहा भोली फेरी आउनु पर्ने हो की?’ आशिष र देवि जस्तै सर्वसाधारण, शिक्षक र कर्मचारी पनि लाइनमा बसेरै कारोबारका लागि कुर्नुपर्छ ।

बैंकले जम्मा गर्ने, भुक्तानी लिने र अन्य कारोबार गर्नका लागि बेग्लाबेग्लै काउन्टरको व्यवस्था गरे पनि सधैं भीड नै हुन्छ  । यता बाणिज्य बैंक सुर्खेतले भने ग्राहकको थामिनसक्नुको चाप व्यवस्थापन गर्न कठिन भएको जनाएको छ । बैंकले वीरेन्द्रनगर सुर्खेतमा मात्रै अर्को शाखा स्थापना गर्न आवश्यक देखिएको बताएको छ । बैंकका सूचना अधिकारी लिलाराम ढुंगानाले कर्मचारी कम हुनु र बैंकले सेवाहरु थप गर्दै जानुले ग्राहकको चाप बढेको बताउँछन् ।

बैंक आफैले कर्मचारी राख्न नसक्ने र लोकसेवा आयोगले कर्मचारी पठाउन ढिलो गर्दा ग्राहकहरुलाई काम ढिलो प्रवाह गरेको देखिने उनको भनाइ छ । १२ घन्टा काम गर्दा पनि ग्राहकको चाप उस्तै भएको हुँदा वीरेन्द्रनगर बजारमा मात्रै बैंकको अर्को शाखाको आवश्यकता देखिएको सूचना अधिकारी ढुंगानाले बताए । ग्राहकहरुको विश्वास बाणिज्य बैंकमै भएकोले चाप बढेको उनले जनाए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!