ज्वालामुखी गाउँपालिकाका ४ सडकहरु १५ मिटर अनिवार्य, घर बनाउँदा नक्सा पास गर्नुपर्ने

Posted on: 12 Mar, 2018

अनिल अधिकारी | फागुन २८, खरी | प्रदेश नम्बर ३ अन्तर्गत धादिङको ज्वालामुखी गाउँपालिकाका सडकहरु कम्तिमा १५ मिटर चौडामा हुनुपर्ने भएको छ | 

पालिकाले जारी गरेको सूचना अनुसार सडकको दायाँ/बाँया सडकको दुरी १०/१० वा ७.५/७.५ चौडाई अनिवार्य हुनुपर्ने उल्लेख छ | पालिकाले नयाँ भौतिक संरचना निर्माण गर्दा तोकिएको चौडाईलाई ख्याल नगरेको खण्डमा गाउँपालिका जवाफदेही नहुने समेत सूचनामा उल्लेख छ | 


पालिकाको सूचना अनुसार छिमेकि जिल्ला जोडिने सडकको चौडाई दायाँ १०, बायाँ १० मिटरको हुनुपर्ने र शाखा सडकको चौडाई ७.५ दायाँ, ७.५ बायाँ हुनुपर्नेछ | सूचनामा उल्लेख छ- 'सूचनाको बर्खिलाप गरी निर्माण गरिएको संरचनाको सन्दर्भमा गाउँपालिका जिम्मेवार नभई निर्माणकर्ता स्वयम् जिम्मेवार हुनुपर्नेछ | त्यस्तै सडकको छेउमा भीर पहाड तथा ठूलो खोला भई संरचना निर्माण गर्न असम्भव हुने देखिएमा सडकको माथिल्लोभागपट्टिको भागमा सडक विस्तार हुनेछ | 


यस बिषयमा गाउँपालिकाका अध्यक्ष बिनोदराज तिमिल्सिनाले साझा सबाल अनलाइनलाई दिएको जानकारी अनुसार ज्वालामुखी गाउँपालिकाका मुख्य ४ सडकहरुले अनिवार्य १५ मिटर (सडक केन्द्रबाट ७.५/७.५ मिटर दायाँबायाँ) छाडेर मात्र संरचना बनाउनुपर्ने छ | यस अन्तर्गत ससाह-अमराई-रातमाटा सडक १५ मिटरको चौडा अनिवार्य हुनुपर्ने छ | त्यस्तै पाल्पा-ढोला-मैदी-पिपलटार सडक पनि १५ मिटर चौडा अनिवार्य गरिएको छ | चैनपुर अन्तर्गत हुलाकभन्ज्याङ-चैनपुर-बांगेरह (चैनपुरको बेसीसम्म) पनि अनिवार्य १५ मिटरको चौडा सडक हुनेछ भने खरीतर्फ सातभन्ज्याङ-खरी मैदान-धुसेनी हुँदै बुंकोटसम्मको सडक पनि १५ मिटरकै मापदण्डमा हुनुपर्नेछ | पालिकाले तोकिएको सडकहरुमा केन्द्रबाट ७.५/७.५ मिटर छाडेर मात्र घर बनाउन भन्दै बिभिन्न स्थानमा बोर्डनै टास्ने तयारी गरेको छ | 


गाउँपालिका अध्यक्ष तिमल्सिनाका अनुसार सडक किनारामा मापदण्ड मिचिएका  पुराना संरचनाको नियमन गर्ने र नयाँ आरसिसि घर बनाउनेहरुले नक्सा पास गर्नुपर्ने कार्यको थालनी समेत गरिएको छ | साथै नयाँ बन्ने घरहरु सडकको मापदण्ड बिपरित पास नगर्ने तिमल्सिनाले बताएका छन् | 

सूचना हेर्नुहोस 


यस बिषयमा तपाइको प्रतिक्रिया...!