सरसफाईयुक्त वडा घोषणा

Posted on: 30 Mar, 2018

चैत १६, सुर्खेत । लेकवेशी नगरपालिकाको वडा नम्वर ९ लाई सफा तथा स्वच्छ नमुना वडा घोषणा गरिएको छ ।पुर्ण सरसफाईका पाँच प्लस एक सूचकहरु पूरा गरेपछि वडालाई शुक्रबार पुर्ण सरसफाईयुक्त वडा घोषणा गरिएको हो ।

वडामा सुरक्षित चर्पी र पानीको प्रयोग एवं भण्डारण, साबुन पानीले हात धुने तथा सरसफाई गर्ने, सुरक्षित खाना खाने तथा भण्डारण गर्ने, घरआगन सरसफाई राख्ने र वातावरण सफा राख्ने गरि ६ वटा प्रतबद्धता वडाबासीले गरेका छन् । एक दिन मात्र सरसफाई गरेर रमिता नदेखाई व्यवहारमा परिवर्तन ल्याउन लेकवेशी नगरपालिकाका प्रमुख गगनसिं सुनारले वडाबासीलाई निर्देशन दिए । उनले स्थानीय सरकार आएपछि विभिन्न उपलब्धीमुलक कामहरु गर्ने क्रममा नगरपालिका रहेको जानकारी दिए । नगरपालिकाको वडा नम्वर १० लाई यस अघिनै पुर्ण सरसफाईयुक्त वडा घोषण गरिएको छ । तर बाँकी वडाहरुमा क्रमिक रुपमा यो अभियान संचालन गर्ने र बालविबाहमुक्त नगर घोषणा गर्ने योजनामा नगरपालिका रहेको सुनारले बताए । वडा नम्वर ९ का केही टोलहरु नमुना गाउँ घोषण भईसकेकाले सरसफाईमा सबैले जोड दिन उनले आग्रह गरे ।

व्यबहार परिवर्तन नभएसम्म सरसफाई हुन नसक्ने बताएकी उपप्रमुख शान्ती छन्तेलले सबैले सरसफाईमा ध्यान दिन आग्रह गरिन् । खानेपानी तथा स्वच्छता समन्वय समिति लेकवेशी नगरपालिका वडा ९ को आयोजना तथासुन्दर नेपाल संस्था, समाज जागरण केन्द्र (स्याक) नेपाल सुर्खेत र सरगम युवा क्लव चौरासेको समन्वयमा कार्यक्रम भएको हो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!