तातापानी जोड्ने पुल निर्माण अन्तिम चरणमा

Posted on: 16 Apr, 2018

बैशाख ३, सुर्खेत । पश्चिम सुर्खेतको पञ्चपुरी नगरपालिकास्थित भेरी नदीमा पक्की पुल निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । ०७१ सालमा आएको बाढीले तातापानी जोड्ने एक मात्र झोलुङ्गे पुल बगाएपछि पक्की पुल निर्माणका लागि निर्माण शुरु गरिएको हो ।

तीन वर्षदेखी डुंगामा जोखिमपूर्ण यात्रा गर्दै आएका पञ्चपुरी नगरपालिका वडा नम्बर ११ र १२ का नागरिकहरुलाई पक्की पुल सम्पन्न भए आवत जावतमा सहज हुनेभएको छ ।  तत्कालीन सुर्खेत क्षेत्र नम्बर ३ का माननीय सूचना तथा संचार राज्य मन्त्री तप्तबहादुर बिष्टको पहलमा यस क्षेत्रमा पक्की पुल निर्माणको काम शुरु भएको थियो । पुल निर्माणको काम अन्तिम चरणमा रहेकाले बैशाख दोस्रो हप्तादेखी नै आवतजावत गर्न सकिने निर्माण कम्पनीले जनाएको छ ।

०७२ सालदेखी अनुक कन्ट्रक्सन प्रा.लि.ले निर्माण जिम्मा लिएको थियो । पुलको विच भागमा ढलान गरिएकाले वर्षात अगावै पक्की पुल सञ्चालनमा आउने अपेक्षा स्थानीयको छ । ३६ करोड लागतमा निर्माण भइरहेको पक्की पुलको लम्बाई लम्बाइ ३३५ मिटर छ । भेरी नदीमा पक्की पुल नहुँदा वडाका नागरिकलाई सेवा प्रवाह गर्न हुने असजहताको अन्तय हुने अपेक्षा पञ्चपुरी नगरपालिका वडा नम्बर १० का अध्यक्ष हरि प्रसाद ढकालले बताए । उनका अनुसार पक्की पुलको उद्घाटन भएसंगै सुत्केरी र अन्य बिरामीहरुलाई समयमै अस्पताल पुर्याउन सहज हुने बताए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!