आठ लेनको बाहिरी चक्रपथ बन्ने भयो ! हरेक किलोमिटरमा एक उपभोक्ता समिति बन्ने

Posted on: 17 Apr, 2018

वैशाख ४, काठमाडौं । सरकारले काठमाडौंमा ८ लेनको बाहिरी चक्रपथको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) स्वीकृत गरेसँगै आयोजना अघि बढाउने बाटो खुलेको छ ।

सूचना तथा सञ्चार राज्यमन्त्री गोकुल बास्कोटाले बाहिरी चक्रपथमा पर्ने सतुंगल क्षेत्रको ६.६ किलोमिटरको जग्गा एकीकरणका लागि उपत्यका विकास प्राधिकरणलाई जिम्मा दिएको छ । ७२ किलोमिटरको आयोजनामा ७२ वटा उपभोक्ता समिति बनाई सोहि समितिमार्फत् निर्माण गर्ने प्रारम्भिक योजना छ । 

अबको दुई वर्षभत्रै चक्रपथको ट्रयाक खोल्ने योजना छ । सरकारले । सम्बन्धित नगरपालिकाका मेयर अध्यक्ष रहने उपभोक्ता समितिलाई नै बजेट उपलब्ध गराएर काम गराउने योजना बनाइएको छ ।

योजना अनुसार पहिलो चरणमा चोभारदेखि भत्केको पाटी, मच्छेगाउँ, गाम्चा हुँदै सतुंगलसम्मको खण्डमा जग्गा एकीकरणका लागि प्राधिकरणले जिम्मा पाएको छ । चक्रपथ तत्काल बनाउने योजना अनुसार अब जग्गा एकीकरणको लागि जिल्ला प्रशासन कार्यालयले ३५ दिने सूचना प्रकाशित गर्नेछ । सडकमा पर्ने जग्गा अधिग्रहणपछि पहिलो खण्डमा सात हजार आठ सय रोपनी जग्गा सरकारको नाममा आउनेछ । जसमा करिब २५ सय रोपनी सडककै भागमा पर्नेछ भने बाँकी जमिनलाई सरकारले व्यवस्थित आवास क्षेत्रका रुपमा विकास गर्नेछ । बाँकी क्षेत्र स्थानीयवासीसँग ‘गिभ एन्ड टेक’ मोडेल अनुसार जग्गाधनीलाई नै फाइदा हुनेगरी प्रदान गरिने छ । 

मन्त्रालयका अनुसार चक्रपथको दायाँ-बायाँ २५०/२५० मिटर जग्गा एकीकरण हुन्छ तर सबै जग्गा सडकले लिंदैन ८ लेनको सडक बनेपछि सरकारले अहिले लिएको जग्गा व्यवस्थित बस्तीको रुपमा बिकास गरि विभिन्न पूर्वाधार बनाइदिनेछ र त्यसको प्रत्यक्ष लाभ जग्गा धनीले नै लिनेछन 

बाहिरी चक्रपथमार्फत चोभारबाट गम्चा, सतुंगल, नैकाप, पूरानो भञ्ज्याङ, सीतापाइला, गोंगबु, टोखागाउँ, चपली, चुनिखेल, गोकर्णेश्वर हुँदै थलीडाँछी जोडिने छन् । त्यस्तै दुवाकोट, सिर्जनानगर, दधिकोट, लुभु, विष्णुडोल, हरिसिद्धी, धापाखेल बुङ्मती हुँदै चोभारमा पनि यो जोडिनेछ । जसको लम्बाई ७२ किमिको हुनेछ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!