चितवनमा पूँजीगत खर्च ३८ प्रतिशत

Posted on: 30 Apr, 2018

वैशाख १७ चितवन | चालू आर्थिक वर्षको नौ महिनामा जिल्लामा पूँजीगत खर्च ३७.७४ प्रतिशतमात्रै भएको छ । गत आर्थिक वर्षको यसै अवधिको भन्दा १० प्रतिशत बढी भए पनि समयानुसार खर्च भने निकै कम हो । 

कोष तथा लेखा नियन्त्रण कार्यालयका सूचना अधिकारी भृगुराज खनालका अनुसार चालू आवको नौ महिनामा रु दुई अर्ब नौ करोड ३८ लाख २४ हजार खर्च भएको छ । गत आवको यसै अवधिमा रु एक अर्ब ५८ करोड १४ लाख ४३ हजार खर्च भएको थियो । 

यसवर्ष सबैभन्दा बढी नारायणगढ–मुग्लिन सडक आयोजनामा मात्रै रु ८५ करोड ५४ लाख ४२ हजार खर्च भएको छ । 

त्यसैगरी डिभिजन सडक कार्यालय भरतपुरका रु ४३ करोड ७८ लाख ६१ हजार, खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयको रु २२ करोड ६० लाख ४८ हजार र शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयको रु १५ करोड १० लाख नौ हजार खर्च भएको छ । 

अन्य कार्यालयको खर्च न्यून रहेको उहाँले बताउनुभयो । 

यसैगरी चालू आवको नौ महिनामा चालू खर्चतर्फ ६८.८५ प्रतिशत खर्च भएको छ । यस अवधिमा रु छ अर्ब ७५ करोड ९८ लाख ६४ हजार चालू खर्च भएको हो । गत आवको यसै अवधिमा ५१.६४ प्रतिशत चालू खर्च भएको थियो । 

यो अवधिमा रु चार अर्ब ९८ करोड ७५ लाख १२ हजार खर्च भएको थियो । 

स्थानीय तह गठनपछि केन्द्रीय योजनाबाहेकको खर्च स्थानीय तहबाट नै हुने भएकाले कोलेनिकामा यो बजेट आउँदैन । 

यस वर्ष पूँजीगत खर्चतर्फ कोलेनिकामार्फत हालसम्म रु पाँच अर्ब ५६ करोड ६६ लाख ५३ हजार निकासा भइसकेको छ । गत वर्ष रु पाँच अर्ब ७७ करोड ८४ लाख १२ हजार निकासा भएको थियो । पूँजीगत खर्च रकमान्तर भई अन्यत्रबाट पनि असारसम्म आउने हुँदा रकम बढ्न सक्ने कार्यालयले जनाएको छ । रासस


यस बिषयमा तपाइको प्रतिक्रिया...!