अब जापान जान नेपालकै जहाज, सातामा १४ उडान भर्न पाउने

Posted on: 26 Dec, 2018

पुष ११, काठमाडौँ | जापानले नेपाल सहित ९ देशबाट कामदार लिने चर्चा चल्दै गर्दा अब २ महिनाभित्रै नेपाल-जापान सिधा हवाई सेवा सुरु हुने भएको छ | 

नेपाल वायु सेवा निगमको नेपाल एयरलाइन्सले अबको दुई महिना भित्रमा उडान सुरु गर्न लागेको हो | संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री रविन्द्र अधिकारीले आगामी दुई महिनामा नेपाली विमानले जापानको उडान भर्ने जानकारी दिएका हुन् | प्रतिनिधि सभा सार्वजनिक लेखा समीति मातहतको उप समितिको बैठकमा मंगलबार मन्त्री अधिकारीले यस बिषयमा जानकारी गराएका हुन् | उनले इयुको कालो सूची पनि छिट्टै हट्ने बताए | 

लामो समयको प्रयासपछि पुन: नेपाल–जापान सीधा हवाई सेवा सञ्चालनका लागि द्विपक्षीय सम्झौतामा हस्ताक्षर भएपछी नेपालले तयारी गरेको थियो । असारमा नेपाल-जापानबीच यस सम्बन्धमा सम्झौता भई हस्ताक्षर भएको थियो | 


यसअघि नेपाल–जापानबीच १९९३ मा सीधा हवाई उडान गर्ने सम्झौता भएको थियो । त्यस बेलाको सम्झौतामा सातामा ७ वटा जति उडान गरिएको थियो । तर अब भने सम्झौता अनुसार नेपाल-जापानबीच सातामा १४ वटा उडान हुनेछन् । यद्यपि टोकियोमा सबैभन्दा व्यस्त मानिने हानेदा विमानस्थलबाहेक नारिता विमानस्थल र अन्य विमानस्थलबाट हवाई सेवा सञ्चालन गरिने द्विपक्षीय सम्झौता पत्रमा उल्लेख छ ।

नेपाल-जापान सीधा हवाई सेवाले हाल जापानमा ८० हजारको हाराहारीमा रहेका नेपालीहरु र नेपाल घुम्म जाने जापानी पर्यटकहरुका साथै मंगलबार मात्र नेपालबाट कामदार लिने औपचारिक निर्णय लिएको अवस्थामा जापान जाने कामदारले प्रत्यक्ष लाभ लिनेछन् ।  सम्झौतामा सातामा १४ वटा उडान भर्न पाउने हुँदा आफैंमा ऐतिहासिक मानिएको छ  ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!