त्रिशूली जलविद्युत् गृहको मर्मत शुरु

Posted on: 04 Jan, 2019

पुस २०, बेत्रावती | नुवाकोटमा रहेको त्रिशूली जलविद्युत् केन्द्रको उत्पादन गृहमा बुधबार साँझ लागेको आगोले पुर्याएको क्षतिको बिहीबारदेखि मर्मत थालिएको छ । 

मर्मतको लागि जिल्लामा रहेका प्राविधिक र केन्द्रबाट आएका समेत गरी १८ जनाको टोली मर्मत तथा बन्द रहेको केन्द्र सञ्चालनमा खटिएको छ । उनीहरुलाई सहायकस्तरका कर्मचारीले पनि सहयोग पुर्याइरहेको केन्द्र प्रमुख तारादत्त भट्टले जानकारी दिनुभयो । 

उहाँका अनुसार उत्पादन गृहमा आगोले पुर्याएको क्षतिको पूर्ण रुपमा मर्मत गर्न करीब एक साता लाग्ने देखिएको छ । “प्राविधिकले काम शुरु गरिसकेकाले मर्मतलाई तीव्र बनाएका छौँ ।” भट्टले भन्नुभयो, “आगोले क्षति पुगेको ब्रेकरको मर्मत गरी बन्द रहेको केन्द्र सञ्चालनका लागि प्राविधिकको टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।” 

बुधबार साँझ लागेको आगलागीपछि २१ मेगावाट क्षमताको त्रिशूली जलविद्युत् केन्द्र र सोही केन्द्रको सहायक योेजनाको रुपमा रहेको १४ मेगावाट क्षमताको देवीघाट जलविद्युत् केन्द्रको हालको उत्पादन बन्द छ । त्रिशूली उत्पादन गृहबाट उत्पादन भएको विद्युत् प्रवाह हुने बसबारमा ताप उत्पन्न भएर लागेको आगोले ब्रेकर नं ६ मा रहेको ६ दशमलव ६ केभीको जेनेरेटर जलेर क्षति भएको थियो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!