हुम्लामा छब्बीस किलोमिटर ग्रामीण सडक निर्माण

Posted on: 17 Jan, 2019

माघ ३, हुम्ला | जिल्लाका सातवटै गाउँपालिकाले आर्थिक वर्ष २०७४-७५ मा २६ किमी ग्रामीण सडक निर्माण गरेका छन् । सडकलाई पहिलो प्राथमिकता दिँदै स्थानीय सरकारले उक्त आर्थिक वर्षमा वार्षिक योजना तय गरेरै सडकको निर्माण गरेका हुन् । सडक सञ्जाललाई गाउँपालिकाको विकासका लागि पहिलो प्राथमिकतामा राखेको सिमकोट गाउँपालिकाले गत वर्ष पाँच किमी निर्माण गरेर हाल सञ्चालनमा आएको प्रमुख प्रशासकीय अधिकृत अर्जुन दर्जीले बताउनुभयो । 

अहिले निर्माण भएको सडकमा हेलिकप्टरबाट ढुवानी गरिएका निजी गाडी सञ्चालनमा आएको अधिकृत दर्जीले बताउनुभयो । यसरी गत वर्ष निर्माण भएका सडकमा सिमकोट बुराउसे बरगाउँ खण्ड र सिमकोट डाँडाफया लिङ्करोड रहेको उहाँले जानकारी दिनुभयो । यो सँगै सिमकोट बजारमा पनि सडक चौडा गर्ने कार्य सम्पन्न भएको दर्जीले बताउनुभयो । 

यस आर्थिक वर्षमा सात किमी ग्रामीण सडक निर्माण गर्ने कार्यक्रम सिमकोट गाउँपालिकाले गरेको छ । गत आर्थिक वर्ष नाम्खा गाउँपालिकाले पनि सात किमी ग्रामीण सडक निर्माण गरेको प्रमुख प्रशासकीय अधिकृत बमबहादुर नेपालीले बताउनुभयो । यो वर्ष नाम्खा गाउँपालिकाले यस्ता ग्रामीण ‘लिङ्करोड’लाई प्राथमिकतामा राखेको अधिकृत नेपालीले बताउनुभयो । 

यस आर्थिक वर्षमा निर्माण भएका सडकमा गाउँपालिकाले आफ्नै सवारी गुडाउने लक्ष्य लिएअनुसार सवारी खरिद प्रक्रिया पनि अगाडि बढाएको नाम्खा गाउँपालिका अधिकृत नेपालीको भनाइ छ । गत आर्थिक वर्षमा सात किमी ग्रामीण सडक निर्माण गर्ने अर्काे गाउँपालिका खार्पुनाथ रहेको अध्यक्ष कर्ण रावलले बताउनुभयो । यसमा खार्पुदुर्पा हुँदै चङ्खेली र नल्नलेख सडक निर्माणकार्य भइरहेको अध्यक्ष रावले बताउनुभयो । 

जिल्लाकै दक्षिण क्षेत्रको ताँजाकोट गाउँपालिकाले पनि गत आर्थिक वर्षमा पाँच किलोमिटर सडक निर्माण गरेको प्रमुख प्रशासकीय अधिकृत विष्णुबहादुर शाहीले बताउनुभयो । जिल्लाका सात गाउँपालिकामध्ये तीन चङ्खेली, कर्सेगाड र अदानचुली गाउँपालिकाले गत वर्ष सडक निमार्णमा काम नगरेको भए पनि यो वर्ष विस्तृत परियोजना प्रतिवेदन तयार गरेर ग्रामीण सडक निर्माणकार्यलाई प्राथमिता दिने जनाएका छन् जसमा चङ्खेलीले सात, सर्केगाडले १४ किमी र अदानचुलीले पाँच किमी सकड निर्माणकार्य गर्ने भएका छन् । यस्तै अन्य चार गाउँपालिकाले केन्द्र र वडा कार्यालय जोड्ने सडक निर्माणका योजना तय गर्ने जनाएका छन् । 

पचास घरधुरीलाई कपडा 

जिल्लाको सर्केगाड गाउँपालिकाले स्थानीयवसीलाई न्यानो कपडा वितरण गरेको छ । गाउँपालिका अध्यक्ष कृष्ण रोकायाको पहलमा उक्त गाउँपालिकामा रहेका वृद्धवृद्धा र बालबालिकालाई चिसोबाट बच्न न्यानो कपडा वितरण गरिएको हो । 

मौसम परिवर्तन भएसँगै जिल्लामा चिसो अत्यधिक बढ्दै गएको छ । चिसोबाट बच्न सर्केगाड गाउँपालिकाले आफ्ना आठै वडाका ५० घरधुरीलाई न्यानो कपडा वितरण गरिएको गाउँपालिका सूचना अधिकारी कर्णजङ्ग शाहीले बताउनुभयो । चिसोबाट बच्न ज्याकेट, पाइन्ट, गुन्यू चोलो वितरण गरिएको हो । छायाँ नेपाल काठमाडाँै हिमालयन भिजन फाउण्डेशनको आर्थिक सहयोगमा न्यून आए भएकालाई बुधबार न्यानो कपडा वितरण गरिएको हो । 

न्यानो कपडा वितरण कार्यक्रममा गाउँपालिका अध्यक्ष कृष्ण रोकाया र वडापालिका अध्यक्ष कर्णजङ्ग शाहीको विशेष सहयोगमा वितरण गरिएको हो । रासस |


यस बिषयमा तपाइको प्रतिक्रिया...!