पुनःनिर्माण प्राधिकरणको ध्यानाकर्षण

Posted on: 26 Apr, 2019

वैशाख १३, काठमाडौँ (रासस) | भूकम्पबाट क्षतिग्रस्त संरचनाको पुनःनिर्माणमा कार्यरत प्राविधिकले सामूहिक राजीनामा दिएको घटनाप्रति राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले ध्यानाकर्षण भएको जनाएको छ ।

प्राधिकरणले आज जारी गरेको विज्ञप्तिमा प्राविधिकले उठाएका अतिरिक्त सेवा सुविधालगायतका माग गत भदौदेखि लागू हुने गरी मन्त्रिपरिषद्को बैठकबाट निर्णय भइसकेको र त्यसबारे नेपाल इञ्जिनीयर्स एशोसियनका पदाधिकारीलाई जानकारी गराइसकेको उल्लेख छ । 

"सामूहिक राजीनामा दिएको घोषणाबाट पुनःनिर्माण र भूकम्पपीडित जनताको संवेदनशीलताप्रति प्राविधिकको नियतमाथि प्रश्न उठाएको छ”, विज्ञप्तिमा भनिएको छ । प्राधिकरणले तत्काल पुनःनिर्माणको कार्यमा जुट्न सबै प्राविधिकलाई निर्देशन पनि दिएको छ । 

सहप्रवक्ता मनोहर घिमिरेद्वारा हस्ताक्षरित विज्ञप्तिमा पुनःनिर्माणको अभियानमा अवरोध सिर्जना गर्ने मनसाय राखी अघि बढेको पाइए कडा कदम चाल्न प्राधिकरण बाध्य हुने उल्लेख छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!