श्रममन्त्रीको निर्वाचन क्षेत्रमा प्रधानमन्त्री रोजगार कार्यक्रम शुरु, १५० जनालाई रोजगारी

Posted on: 31 May, 2019

जेठ १७, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टको निर्वाचन क्षेत्रमा पर्ने  गुल्मीको धुर्कोट गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रमको शुभारम्भ भएको छ । प्रधानमन्त्री रोजगार कार्यक्रमको लागि केन्द्र सरकारले बजेट पठाएपछि गाउँपालिकाले आज एक कार्यक्रम गरेर युवाहरुलाई रोजगारी दिएको हो । 


विभिन्न क्षेत्र निर्धारण गरेर प्रधानमन्त्री रोजगार कार्यक्रमलाई अगाडी बढाएको धुर्कोट गाउँपालिकाका प्रमुख भुपाल पोखरेलले सझासबाललाई जानकारी दिए ।  गाउँपालिकाले आजबाट रोजगार कार्यक्रमको शुरुवात गरेको र आगामी २१ गतेबाट पूर्ण रुपमा काममा लगाइने उनले बताए । 


शिक्षण सस्थामा १३, स्वाथ्य सस्थामा ४, कृषि र पशुपालनमा १५ ,सिचाइकुलो मर्मतमा १५ जनालाई ३० दिनको रोजगारी दिन लागिएको पोखरेलले जानकारी दिए ।  त्यस्तै बिधुत मर्मतमा ७, खानेपानी मर्मतमा १५, सडक मर्मत मा ८१ गरि जम्मा १५० जनालाइ ३० दिनको रोजगारी प्रदान गर्न लागिएको उनले बताए । बेरोजगार सूचीमा सुचिकृत भएका युवाहरुलाई आगामी आर्थिक वर्षको सुरुवातबाट नै रोजगारी दिनको लागि तयारी गरिएको उनले बताए । 


सरकारले चालु आर्थिक वर्षबाट प्रधानमन्त्री रोजगार कार्यक्रम संचालन गर्नको लागि ३ अर्ब रकम छुट्याएको थियो । सोहि रकमबाट हरेक स्थानीय तहमा बेरोजगारहरुलाई न्युनतम १ सय दिनको रोजगारी भनिए पनि यस वर्ष ३० दिनको लागि रोजगारी दिन शुरु गरिएको हो । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!