राष्ट्रिय वाणिज्य बैंकमा खाता खोल्दा नेपाल टेलिकमको सिम निःशुल्क पाइने

Posted on: 29 Nov, 2019

मंसिर १३, काठमाडौं | नेपाल टेलिकमले राष्ट्रिय वाणिज्य बैंकमा नयाँ खाता खोल्ने ग्राहकलाई जीएसएम प्रिपेड मोबाइल सिम निःशुल्क उपलब्ध गराउने भएको छ । नेपाल टेलिकम र राष्ट्रिय वाणिज्य बैंकबीच आज उक्त सेवासम्बन्धी सम्झौता भएको टेलिकमले विज्ञप्तिमार्फत जनाएको छ ।

सम्झौतापत्रमा टेलिकमको तर्फबाट प्रबन्ध निर्देशक डिल्लीराम अधिकारी र बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले हस्ताक्षर गरे । बैंकले मुलुकभरका २३८ वटै शाखाबाट नयाँ खाता खोल्ने ग्राहकलाई कम्पनीको सिम निःशुल्क उपलब्ध गराउने छ । सो सिममा रु ५० टक भ्यालुसमेत हुनेछ ।

सो अवसरमा टेलिकमका प्रबन्ध निर्देशक अधिकारीले मुलुकको सबभन्दा ठूलो दूरसञ्चार कम्पनी र सबैभन्दा बढी वित्तीय सञ्जाल भएको राष्ट्रिय वाणिज्य बैंकबीचको सहकार्यले दुवै संस्थाको व्यवसाय अभिवृद्धि हुनुका साथै कार्यक्षमतामा समेत बढोत्तरी हुने बताए । उनले दुई संस्थाको सहकार्यबाट डिजिटल अर्थतन्त्र निर्माणका लागि प्रभावकारी वातावरण बन्नुका साथै मुलुकभरका जनता वित्तीय पहुँचमा पुग्ने उल्लेख गरे ।

बैंकका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले दुई करोडभन्दा बढी ग्राहक सङ्ख्या भएको नेपाल टेलिकम र ३० लाख बढी सेवाग्राही भएको राष्ट्रिय वाणिज्य बैंकबीच भएको यो सम्झौताले आम सेवाग्राही वित्तीय र प्रविधिगतरुपले निकै लाभान्वित हुने बताए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!