दुरसञ्चार सेवाको लाइसेन्स होल्ड गरेर काम रोक्न पाइँदैनःमन्त्री खतिवडा

Posted on: 03 Mar, 2020

फागुन २०, काठमाडौं | सञ्चार तथा सूचना प्रविधि मन्त्री डा.युवराज खतिवडाले दुरसञ्चार सेवाको लाइसेन्स होल्ड गरेर काम रोक्न नपाइने बताएका छन् | मंगलबार काठमाडौँमा आयोजित नेपाल दुरसञ्चार प्राधिकरणको २२ औं वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै उनले लाइसेन्स होल्ड गर्नेमाथि निर्मम ढंगले कानूनी अधिकार प्रयोग गरी अगाडि बढ्न प्राधिकरणलाई निर्देशन दिएका हुन् |

मन्त्री खतिवडाले सेवा प्रदान गर्छु भनेर लाइसेन्स लिने र कारबाही गर्न खोज्दा अदालत जाने प्रवृति राष्ट्रिय रोगको रुपमा देखा परेको पनि बताए | मन्त्री खतिवडाले दुरसञ्चारको फ्रिक्वेन्सी तोक लगाएर बाँडिने गरेको र कुनै बेला टेलिफोनको तोक लगाउन आफु मन्त्रीकोमा पुगेको स्मरण गर्दै त्यो युगको अन्त्य गर्नुपर्ने बताए |

उनले राज्यलाई फाइदा नहुनेगरी मुख हेरेर, दवाव हेरेर काम गरे नियामक निकायको भूमिकामा प्रश्न उठने समेत बताए । मन्त्री खतिवडाले अवको सेवा भ्वाइसमा भन्दा डेटामा बढी हुनुपर्ने बताए । क्रिप्टो करेन्सी, क्राउडसोर्सिङ, इकमर्सका क्षेत्रमा डेटा महत्वपूर्ण हुने भएकाले डेटाको सेवा वृद्धि गर्न र गुणस्तरिय बनाउन ध्यान दिन सुझाव दिए |

उनले प्राधिकरणको व्यवसायीक काममा मन्त्रालयले हस्तक्षेप नगर्ने तर मन्त्रालयप्रति प्राधिकरण जवाफदेही हुनुपर्ने बताएका छन् |जवाफेही बिनाको स्वायत्तता अराजकता हुने भन्दै त्यसमा सचेत भएर कम गर्न उनले निर्देशन समेत दिए |

यस बिषयमा तपाइको प्रतिक्रिया...!