बन्दाबन्दीको सदुपयोगः बेनी बजार संरक्षण आयोजना सम्पन्न

Posted on: 30 May, 2020

जेठ १७, म्याग्दी | म्याग्दीको सदरमुकाम बेनी बजार संरक्षणका लागि बेनीमा सञ्चालित नदी नियन्त्रण योजना बन्दाबन्दीकै बीचमा सम्पन्न भएको छ । 

रुपाताल संरक्षण एकीकृत विकास परियोजनाले रु आठ करोड ७८ लाख लागतमा बेनीबजारस्थित कालीगण्डकी र म्याग्दी नदीको किनारमा ४३५ मिटर पक्की रिटेनिङ र आरसिसी पर्खाल निर्माण गरेको हो । उर्जा, सिँचाइ तथा जलस्रोत मन्त्रालयको जोखिमयुक्त जिल्ला सदरमुकाम बचाउ कार्यक्रमअन्तर्गत सो परियोजनाले बेनीमा दुई वटा ठेक्कामार्फत नदी नियन्त्रण कार्य सम्पन्न गरेको जनाएको छ । 

लकडाउनको अप्ठ्यारो परिस्थितिका बाबजुद पनि निर्धारित समयअगावै योजना सकिएको परियोजनाका इञ्जीनियर राजेन्द्रकुमार श्रेष्ठले बताउनुभयो । “कालीगण्डकीको बाँया किनार पर्वततर्फ २०० मिटर ग्याबियन पर्खाल लगाएका छौँ”, उहाँले भन्नुभयो, “बायाँ किनार म्याग्दीतर्फ आरसिसी र मेसिनरी वाल लगाउने कार्य बन्दाबन्दीकै बीचमा बर्खाअघि नै सकिएको छ ।”

रु तीन करोड ७० लाखमा ठेक्का लिएको नयाँबाटो कन्स्ट्रक्शनले मङ्गलाघाटस्थित म्याग्दी नदी किनारमा ८३ मिटर लम्बाइ भएको मेसिनरी पर्खाल बनाएको छ । यस्तै कालीपुलको तल्लो भागमा ४५ र माथिल्लो भागमा ५६.७५ मिटर पर्खाल लगाएको छ । मेसिनरी पर्खालको उचाइ आठ दशमलव पाँच मिटर छ । गत असारमा सम्झौता गरेको कम्पनीले एक महिनाअगावै काम सम्पन्न गरेको छ । 

विसं २०७५ भदौ २८ गते कालीगण्डकीमा आएको बाढीले निर्माणाधीन पर्खला बगाएपछि रुग्णमा परिणत भएको खड्का कृष्ण कन्स्ट्रक्शनसँगको ठेक्कामार्फत आरसिसी पर्खाल निर्माण पनि सकिएको छ । रु पाँच करोड आठ लाख ३२ हजारको लागतमा बाढीले बगाएको ९७ मिटर तथा बाँकी आरसिसी पर्खाल निर्माण पनि सकेको परियोजनाका अर्का इञ्जीनियर कृष्णबहादुर विश्वकर्माले बताउनुभयो । 

उहाँका अनुसार बेनी नगरपालिका कार्यालय अगाडि म्याग्दी नदी किनारमा १७३.५ मिटर, खुलामञ्च क्षेत्रमा ७०.५ र कालीगण्डकी किनारमा १४.४५ मिटर लामो छ मिटर अग्लो पर्खाल निर्माण भएको छ । कालीगण्डकीको बायाँ किनारमा पर्ने पर्वतको जलजला गाउपालिकाको बगरफाँट र वारीबेनीमा पनि रु एक करोड ५० लाखको लागतमा ६०० थान ग्याबियन पर्खाल निर्माण भएको छ ।

कालीगण्डकी र म्याग्दी नदीको दोभानमा पर्ने बेनी नगरपालिका–२ भसभसेको पहिरो र बगरफाँटको कोतखोला नियन्त्रणका लागि पनि रु ५०÷५० लाखको लागतमा ग्याबियन पर्खाल निर्माण शुरु भएको छ । बेनीबजार बर्खायाममा कालीगण्डकी र म्याग्दी नदीमा आउने बाढीको चपेटामा पर्दै आएको छ । नदी कटानका हिसाबले बेनी देशकै जोखिमयुक्त जिल्ला सदरमुकाम हो ।

नदी नियन्त्रण भएपछि सुरक्षित महसुस गरेको बेनीको मङ्गलाघाटका अमरबहादुर घिमिरेले बताउनुभयो । बन्दाबन्दीमा काम हुन नसकेर नदी नियन्त्रण योजना अलपत्र पर्ने र बर्खामा नदीले कटान गर्ने चिन्ताले पिरोलिएका बेनीवासीलाई अब राहत मिलेको छ । मङ्गलाघाटकै पुष्कलबहादुर जोशीले बाँकी ठाउँमा पनि पर्खाल निर्माणलाई निरन्तरता दिनुपर्ने बताउनुभयो । उपलब्ध मजदुरलाई सुरक्षा सतर्कता अपनाएर परिचालन तथा निर्माण सामग्रीको व्यवस्थापन गरेर नदी नियन्त्रण योजना निर्माण गरेको खड्का कृष्ण कन्स्ट्रक्शनका प्राविधिक निश्चल पौडेलले बताउनुभयो । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!